जग्गासम्बन्धी विवादमा सेनाका जवान र नेकपाका जिल्ला नेता घाइते

जग्गासम्बन्धी विवादमा सेनाका जवान र नेकपाका जिल्ला नेता घाइते


■ आरके श्रीवास्तव, रौतहट

रौतहटको देवाही गोनाही नगरपालिकास्थित टिकुलियामा जग्गाको विषयलाई लिएर भएको विवादम दुईपक्षीय झडपमा परेर आधा दर्जन मानिस घाइते भएको छन् ।

देवाही गोनाही नगरपालिका ५ टिकुलियामा शुक्रबार (२१ चैत) बिहान जग्गामा बाटो निकाल्ने विषयमा स्थानीय राम एकवाल मुखिया र प्रमोद दुबे पक्षबीच विवाद भएको थियो ।

विवादमा भनाभन हुँदै शुरु भएको झडपमा राम एकवाल मुखिया, सोनालाल मुखिया, प्रदीप मुखिया, कृष्ण मुखिया र दोस्रो पक्षका प्रमोद दुबे र मनोज दुबे घाइते भएका हुन् ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका राम एकवाल मुखिया, सोनालाल मुखिया र प्रदीप मुखियालाई गरुडामा प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्स वीरगञ्ज पठाइएको देवाही गोनाही इलाका प्रहरी प्रमुख ईन्सपेक्टर मेदनी साहले बताए ।अन्य तीन जना घाइतेको प्रहरीको निगरानीमा गरुडास्थित निजि अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरु अधिकांशको टाउकोमा घाउ देखिएकाले झडपमा धारिलो हतियार प्रयोग भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । झडपमा घाइतेमध्ये प्रमोद दुबे नेपाली सेनाका बहालवाला जवान हुन् भने राम एकवाल सहनी नेकपाका जिल्ला सदस्य हुन् । तर प्रहरीले घटनास्थलबाट कुनै किसिमको हतियार बरामद गरेको छैन ।

घटनामा संलग्न दुवै पक्षका मानिस घाइते भई उपचाररत रहेकाले कोही पक्राउ नभएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

देवाही गोनाही नगर उपप्रमुख परनिया देवी पटेलले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीको माग गरेकी छिन् ।

यसैबीच नेकपा प्रदेश २ का सदस्य तथा संघीय सांसद प्रभु साहले कोरोना भाइरसको कारण निम्तिएको महाविपत्तिको घडीमा आफनो घरमा नबसी सुनियोजित तरिकाले पार्टी कार्यकर्ता रामएकवाल सहनी लगायतमाथि संघातिक हमला भएको भनी भत्सर्ना गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारवाहीको माग उनले गरेका छन् ।