दुरुपयोग बढेपछि सवारी पास बन्द

दुरुपयोग बढेपछि सवारी पास बन्द


■ विकास रौनियार, धादिङ

लकडाउनको बेला आवतजावत गर्नुपर्ने अत्यावश्यक सवारीसाधनलाई धादिङ प्रशासनले सवारी पास बन्द गरेको छ । सवारी पास दुरुपयोग हुन थालेपछि प्रशासनले बिहीबारदेखि बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमण रोक्नका लागि लकडाउन अवधिभर अत्यावश्यक कार्यका लागि सवारीसाधनलाई पास वितरण गर्दै आएको थियो । सवारी पासको दुरुपयोग बढेकोले बन्द गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

प्रजिअ तामााङका अनुसार अत्यावश्‍यक सेवालाई पास नचाहिने साथै अत्यावश्यक सेवा तथा सामग्रीको सहज आवागमन तथा पासको दुरुपयोग रोक्नको लागि नयाँ व्यवस्था गरिएको छ। एम्बुलेन्स, औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स, पत्रकार र कर्मचारी चढ्ने सवारीले पास लिनु नपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीले पनि निर्वाधरुपमा चल्न पाउने भएका छन्। तर, यस्ता सवारीमा यात्रु ओसार्न भने पाइने छैन ।

व्यक्तिगत समस्या, परिवार, बिरामी ,भेटघाट, काम विशेष जस्ता विषयलाई लिएर सवारी पास नपाउने उहाँल प्रष्ट्याउनुभयो।आकस्मिक मानवीय अवस्था, गम्भीर बिरामी अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितिमा नजिकको सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न उहाँले आग्रह गर्नुभएको छ ।