ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण, अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु

ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण, अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु


संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गराइएको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोना भाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिएका हुन् । ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तीव परीक्षण प्रविधि प्रयोग गरिएको कोन्लेले बताए ।

राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि फिजिसियन कोन्लेलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

कोरोना भाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको बताएका छन् । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।

ज्ञातव्य छ, संयुक्तराज्य अमेरिका अहिले कोरोनाभाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।