‘आचरणमा सुधार नै कोरोनाविरुद्धको युद्ध जित्ने आधार’ : एसएसपी दाहाल

‘आचरणमा सुधार नै कोरोनाविरुद्धको युद्ध जित्ने आधार’ : एसएसपी दाहाल


■ विकास रौनियार

कोरोना भाइरसले विश्वभर आफ़्नो प्रभाव फैलाइरहेको वर्तमान परिवेशमा बागमती प्रदेश प्रहरी कार्यालय (हेटौँडा)ले मातहतका अन्य कार्यालयहरुको अनुगमन, निर्देशन तथा कोभिड १९ सँग सम्बन्धित सामाग्रीहरुको वितरणका साथै सवारीसाधनरु एवम् कार्यालयको हाताभित्र समेत किटाणुहरु नष्ट गर्ने उद्देश्यले डिसइन्फेक्सन (Disinfection) गर्ने कार्य आरम्भ गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले उक्त कार्यको आरम्भ आफ्नै कार्यालय परिसरबाट गर्नुभएको हो ।

डिसइन्फेक्सन कार्य शुरु गर्दै एसएसपी दाहालले ठुल्ठूला कुरा गरेर भन्दा पनि यतिबेला कोरोना भाइरसबाट हुन सक्ने संक्रमण रोक्न या फैलिन नदिन हामीले सामान्य आचरण–व्यवहारमा सुधार ल्याउन सके कोरोनाविरुद्धको महायुद्धमा विजय हासिल गर्न सकिने धारणा राख्नुभयो ।

ुयतिबेला संसारभर एकैसाथ शुन्यता छाएको छ, चराचर सम्पूर्ण जीवजन्तुहरुको दिनचर्या चलिरहँदा एउटा मानव प्रजातिको मात्र जीवनयापन एकप्रकारले रोकिन पुगेको छु भन्दै एसएसपी दाहालले विश्वले विज्ञान र प्रविधिका क्षेत्रमा गरेको विकास र आविष्कारलाई समेत कोरोना भाइरसले चुनौती दिइरहेको सन्दर्भमा आफूहरुले लामो समय लगाएर हासिल गरेको तालिम तथा कार्यअनुभव समेतलाई कोरोना भाइरसले थप निष्प्रभावी बनाइदिएको अभिव्यक्ति दिनुभयो ।

कर्तव्य पालनाको सिलसिलामा धेरै मानिससँग सम्पर्क हुन सक्ने उल्लेख गर्दै उहाँले साबुन, पन्जालगायतका सामाग्रीको सहायताले सुरक्षित रही तमाम नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीको बचाउको लागि आफ्नो कार्यक्षेत्रमा सुरक्षा सावधानी अपनाएर खट्न मातहतका प्रहरीकर्मीहरुलाई निर्देशित दिनुभयो ।

साथै, सरकारले घोषणा गरेको लकडाउनको राम्रोसँग पालना गर्न, घरबाहिर जानैपर्ने काममा बाहेक ननिस्कन, हात मिलाउने तथा अंकमाल नगरी टाढैबाट नमस्कार गर्न, सामाजिक दूरी कायम गर्न, बारम्बार साबुनपानी वा स्यानिटाइजरले हात सफा गर्न, सरसफाईमा विशेष ध्यान दिन, खोक्दा र हाछ्युँ गर्दा नाकमुख छोपेर मात्र गर्न, नाक, मुख र आँखामा हात लैलानुअगाडि हात सफा भए–नभएको एकिन गर्न र हातमा घडि, चुरा, डोरो आदि बाँधेको भए पनि अहिलेलाई त्यो प्रयोग नगर्ने जस्ता सामान्य कुराहरुमा विशेष ध्यान दिनसमेत प्रहरी कर्मचारीलगायत सर्वसाधरणहरुमा नि. प्रदेशप्रमुख प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दाहालले अनुरोध गर्नुभयो ।

यस किसिमका कार्यक्रमले प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरु समेत सुरक्षित रहन मद्दत पुग्ने तथा कार्यसम्पादनमा पनि प्रभावकारिता आउने बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।