कोरोनाका बिरामी हेर्नेको लागि भरतपुर अस्पतालद्वारा थप २५ लाखको बीमा

कोरोनाका बिरामी हेर्नेको लागि भरतपुर अस्पतालद्वारा थप २५ लाखको बीमा


कोरोना भाइरसको आशङ्का गरिएका बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि भरतपुर अस्पतालले थप २५ लाखको बीमा गरिदिने भएको छ । उनीहरुले नेपाल सरकारले तोकेभन्दा २५ प्रतिशत थप प्रोत्साहन भत्तासमेत पाउने भएका छन् ।

केन्द्रीय अस्पताल बनेपछि विकास समिति गठनसँगै बिहीबार (२० चैत) बसेको पहिलो बैठकले सरकारले कर्मचारीलाई २५ लाखको बीमा गरिदिएकामा अर्को २५ लाखको बीमा थप गर्ने निर्णय गरेको हो । सरकारले कोरोनाको आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारमा संलग्न हुनेलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने यसअघि नै घोषणा गरिसकेको छ ।

विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार उपचारमा संलग्नलाई आवश्यक व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराउने र क्वारेन्टाइनमा बस्नुपर्नेका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना नियन्त्रणका लागि भरतपुर अस्पतालको नेतृत्वमा दुई वटा मेडिकल कलेज र निजी अस्पताललाई समेत समावेश गरी कोरोनाको सङ्क्रमणको आशङ्का र सङ्क्रमित भएकालाई उपचारको आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय गरेको छ ।

त्यस्तै मुलुक बन्दको यस अवस्थामा कोरोनाको आशङ्का गरिएका बिरामीलाई चिकित्सकको परामर्शमा अस्पतालले एम्बुलेन्स घरमा नै पठाएर उनीहरुलाई अस्पताल ल्याउने निर्णय भएको अधिकारीले जानकारी दिएका छन् । सोका लागि अस्पताल परिसरमा तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । बैठकले भरतपुर महानगरपालिकाले सञ्चालन गरेको कोरोना विशेष (अस्थायी) अस्पतालका लागि सम्पूर्ण प्राविधिक सहयोग भरतपुर अस्पतालले उपलब्ध गराउने निर्णय गरेको छ ।

सो अस्पताललाई भरतपुर अस्पतालसँग के कसरी समायोजन गर्ने भन्ने विषयमा योजना तयार गर्न अस्पताल विकास समितिका सदस्य एवं महानगरपालिका प्रमुख रेनु दाहाललाई जिम्मा दिइएको छ । अस्पतालले अपाङ्गताको रातो र निलो परिचयपत्र भएका बिरामीलाई बहिरङ्ग सेवा पूरै निःशुल्क गर्ने र पहेलो परिचयपत्र भएकालाई ५० प्रतिशत छुट दिने निर्णय गरिएको अधिकारीले बताए ।

सो अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीको समय तीन महिना थप गरी अर्को बैठकमा दीर्घकालीन उपायको खोजी गर्ने निर्णय बैठकले गरेको छ । बुधबार अध्यक्षको पदभार ग्रहण गरेका अधिकारी सोही अस्पतालमा कार्यरत छन् । उनले आफू अध्यक्ष भएसम्मका लागि बेतलबी बिदाको माग गरेकोमा बैठकले सोको स्वीकृति दिएको राससले जनाएको छ ।