नेपाली ध्वजावाहक विमानबाट अष्ट्रेलिया पुगेका नेपालीले भने- ‘गर्वले छाती फुल्यो’

नेपाली ध्वजावाहक विमानबाट अष्ट्रेलिया पुगेका नेपालीले भने- ‘गर्वले छाती फुल्यो’


■ राजन घिमिरे

नेपाली उडानको इतिहासमै पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सको जहाजले अष्ट्रेलियाको जमिन टेकेको छ ।

कोरोना भाइरसको महामारीबीच नेपालमा ‘लकडाउन’मा परेका आफ्ना नागरिकहरूलाई अष्ट्रेलिया ल्याउन अष्ट्रेलियन सरकारले निर्वाह गरेको प्रभावकारी भूमिकाको यतिबेला सर्वत्र प्रशंसा गरिएको छ । तर, यसैक्रममा अष्ट्रेलियामा रहेका र नेपाल फर्कन चाहने नेपालीहरूलाई अष्ट्रेलिया पुगिसकेको उक्त नेपाल एअरलाइन्सको विमानमा ल्याउंन सकिएन भन्ने सवाल पनि उठेको छ ।

यस विषयमा किन सोचिएन ? कहाँ–कसको कमजोरी रह्यो ? सम्बन्धित निकायले किन पहल गरेन ? यस्ता प्रश्नसँगै सम्बन्धित सरोकारवाला पक्षहरूको आलोचना भैरहेको छ ।

अष्ट्रेलियाको ब्रिसबेन पुगेको नेपाल एअरलाइन्सको विमान ब्रिसबेनबाट अन्ततः रित्तै नेपाल फर्किएको छ । यसरी रित्तो विमान नेपाल फिर्ता भएपछि अष्ट्रेलियामा रहेका नेपाल फर्कन चाहने कतिपयले टीका–टिप्पणी गरेका छन्– ‘यस्तो कुरामा पनि ठूलै राजनीति हुँदोरहेछ । सम्बन्धित पक्षमा मानवियता देखिएन !’ यसरी गुनासो गर्नेहरूको सङ्केत नेपाली राजदूतावासतर्फ रहेको महसुस गर्न सकिन्थ्यो । दूतावासले समयम पहलकदमी लिएको भए नेपाल फर्कने प्लेनमार्फत स्वदेश पुग्न पाइने थियो भन्ने उनीहरूको मनोभावना रहेको छ ।

बुधबार (१ अप्रिल) साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उडेको विमान चार घण्टामा मलेसिया पुगेको थियो । उक्त विमानको क्र्यु मेम्बरहरूको नेतृत्व चर्चित नेपाली पाइलट विजय लामाले गरेका थिए । अर्थात्, विदेशी पाइलटहरूको पनि ‘बोस’को भूमिका निभाएका थिए क्याप्टेन विजयले ।

मलेसिया पुगेपछि फ्युल भर्नको लागि जहाज त्यहाँको एअरपोर्टमा १ घण्टा रोकिएको थियो । इन्धन भरेर मलेसियाबाट उडेको हवाइजहाजले त्यसपछि ८ घण्टा ३० मिनेटमा अष्ट्रेलियास्थित ब्रिसबेनको जमिन टेकेको थियो ।

करिव २६० यात्रु बोकेको उक्त जहाजमा नेपाली मूलका चालिस अष्ट्रेलियन र ३५ जना न्यूजल्याण्डका नागरिक थिए भने बाँकी सबै अष्ट्रेलियन नागरि सवार थिए ।

एकातिर कर्मभूमि अष्ट्रेलियामा रहेका आफ्ना परिवारसँग भेट्न नेपालीहरू ब्याकुल थिए भने अर्कोतर्फ जन्मभूमिको राष्ट्रिय ध्वजावाहक विमान चढेर अष्ट्रेलियामा पाइला टेक्न पाउंनुलाई उनीहरूले गौरवको क्षणका रूपमा लिएका थिए ।

‘जब नेपाली भाषा प्रयोग गरेर पाइलट विजय लामाले ‘तपाईंहरूलाई अष्ट्रेलियामा स्वागत छ’ भन्नुभयो त्यतिबेला गर्वले छाती नै फूलेर आयो’– यात्रुका रूपमा रहेका विनोद पौडेलले खुशी ब्यक्त गरे । उनी भन्दै थिए– ‘समस्याका कारण यसपटक नेपाली विमान चार्टर भयो, तर यसलाई अब अवसरको रूपमा लिएर नेपाली हवाइजहाजलाई अष्ट्रेलियामा निरन्तर उडाउन नेपाल सरकार र सम्बन्धित निकायले पहल गर्नुपर्छ’– उनले सुझाव दिए ।

नेपाली पाइलटको जिम्मेवारीमा जन्मभूमिदेखि कर्मभूमिसम्मको यात्रा जीवनमै अविष्मरणीय रहेको अनुभव बटुलेका छन् राज खनालले । यतिबेला ब्रिजबेनको एक होटलमा १४ दिने क्वारेन्टाइनमा रहेका खनाल क्वारेन्टाइन अवधि सकिएपछि ब्रिसबेनबाट सिड्नी जाने छन् । बिहीबार ब्रिसबेन झरेका सबैलाई अष्ट्रेलियन सरकारले १४ दिने क्वारेन्टाईनमा छुट्टाछुट्टै कोठामा राखेको बताइएको छ ।

आफ्नी धर्मपत्नीका साथ नेपालबाट अष्ट्रेलियाको ब्रिसबेन झरेका दीपक भट्टराई विमानको यात्राभर नेपाली भाषा र परिवेश सुन्न पाएर मन नै फुरूङ्ग भएको बताउँछन् । ‘धेरै अन्तर्राष्ट्रिय विमानबाट यात्रा गरियो, तर यसपटकको यात्रा ऐतिहासिक नै रह्यो । हामी पनि नेपालको उडान क्षेत्रको इतिहासको एउटा साक्षी बन्न पायौँ’– उनले भने ।

नेपालदेखि अष्ट्रेलियासम्मको यो उडानमा ‘हिरो’ बनेका थिए क्याप्टेन विजय लामा । उनको मिजासिलो ब्यवहार र उपस्थिति साँच्चै मनमा गढेको बताए ओमकृष्ण श्रेष्ठले । विजय लामा ब्रिसबेनमा झरेपछि अष्ट्रेलियन र नेपालीहरूले उनको मुक्तकण्ठले तारिफ गरेका थिए ।

‘यो हाम्रो कर्तब्य नै हो । मैले कर्तब्य निभाएको हुँ । यसमा तपाईंहरूले साथ दिनुभयो । मेरो लागि यो ठूलो कुरा हो’– विजय लामाले जवाफमा भनेका थिए ।

ब्रिसबेन एअरपोर्टमा विजय लामासँग सेल्फी खिच्नेहरूको भिड़ले साँच्चै विदेशी भूमिमा नेपाली राष्ट्रिय ध्वजावाहक हवाइजहाज, जहाजका पाइलट र अन्य सदस्यहरूको शान, मान र इज्जत उँचो बनाइरहेको प्रतीत हुन्थ्यो ।