अमेरिकालगायत ७३ देशका नागरिकलाई जापान प्रवेशमा रोक !

अमेरिकालगायत ७३ देशका नागरिकलाई जापान प्रवेशमा रोक !


कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन् भन्ने उद्देश्यले जापान सरकारले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

थप ४९ देशबाट जापान भित्रिन प्रतिबन्ध लगाइएको जानकारी प्रधानमन्त्री सिन्जो आवेले दिएका हुन् । प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् । अत्यावश्यक बाहेकका भ्रमणहरू नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन् ।

राजधानी टोकियोमा बुधबार (१ अप्रिल) कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेका एपीले जनाएको छ । जापानमा मङ्गलबार पनि ७८ जना नयाँ बिरामी भेटिएका थिए ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार जापानमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या झन्डै तीन हजार पुगेको छ भने ७८ जनाको मृत्यु भएको छ ।