सुदिन आओस् धर्तीमा

सुदिन आओस् धर्तीमा


■ बलराम सिलवाल

ब्रम्हाण्डमा झुलेको छ, पिण्ड निलो पृथिवी
सजीवबाट सजीवको, सृष्टि भो धेरै पछि
हिमाल पहाड तराई, अनौठो भूगोल कालान्तर
नदिनाला बहेका छन्, कलकल गर्दै निरन्तर ।

भुँइचालो डढेलो अनिष्ट, अनि अनावृष्टि
खण्डवृष्टि सुनामी, ज्वालामुखी अतिवृष्टि
सहँदै र पन्छाउँदै, बढ्यो मान्छे अघिल्तिर
सत्ययुगमा मर्त्यलोक, अतीव सुन्दर ।

दयालु धर्मात्मी मानवीय, प्राचीन मानव
सत्य अहिंसा सदाचार, तत्कालीन गौरव
सुखी मान्छे सुखी समाज, धरा धरोधर
पुज्थे सकल श्रद्धासहित, यथानाम लम्बोदर ।

समय फिट्दाफिट्दै, घोर कलिजुग
धर्म घट्दै पाप बढ्दै, हालत भो नाजुक
हाडछाला मासु रगत, विकारमय शरीर
जन्म जीवन जगत मृत्यु, अकाट्य नजिर ।

बसुधैव कुटुम्बकम्, एकादेशको कथा भो
अहम्ले मात्तिदा दैवले दनक दिनु भो
बहिरो हुन्छ कानो बन्छ, केश पाक्छ सेतै
आँगन हुन्छ परदेश, लौरी टेकी तातै ।

र्याल सिँगान खकारले, युक्त हुँदा सर्वदा
मोक्ष दिन सक्दिनँ भन्दै, रुन्छिन् सधै नर्मदा
पुसमा गुराँस फुल्छ, फागुनमा झरी
धरणी नास हुन्छिन् कि, मनुवाको मनपरी ।

पशु सरह हुन्छ मान्ठा, हाडनाता भन्दैन
धनको पछि दगुर्छ, भनेको मान्दैन
मनुवा बन्यो रोबट, रोबटिक चर्तिकला
अनिश्चित छ भविष्य, के गर्ला के खाला ?

अनाचारी भ्रष्टाचारी, दुराचारी साम्राज्य
छ दुनियाँ पापाचारी, छैन कसैलाई भय
समयचक्र घुम्छ, राम्रो नराम्रो सबै हुन्छ
बेलाको खेलामा, जिम्दार अजीगर्त बन्छ ।

चतुर्थास समय बाँकी, मान्छेको मती सुध्रोस्
हलाहल शूुन्य, अमृतधारा बहोस्
मृदुभाषा सुन्न पाऊँ, होस् सत्यको विजय
आओस् सुदिन धर्तीमा, समस्त प्राणीको जय जय ।

– दर्शन एकेडेमी (रा.न.पा.–६, भण्डारा, चितवन)