दुई महिनापछिको ‘लकडाउन’पछि खुल्यो वुहान

दुई महिनापछिको ‘लकडाउन’पछि खुल्यो वुहान


चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको वुहान शहरमा मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै वुहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।

स्थानीय सरकारले हुबे प्रान्तको राजधानी वहानसहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु सोमबार (३० मार्च) देखि खुला गरेको छ । तैपनि शहरमा विगतको तुलनामा ग्राहकको संख्या भने नगण्य नै देखिएको छ । सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका देखिन्छन् । उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिने एपीले जनाएको छ ।

विश्वभरका सरकारहरुले ट्राभल र अरु नियन्त्रणका उपायहरु अबलम्बन गरिरहेकै बखत चीन सरकारले वुहान र अरु क्षेत्रमा लगाइएका प्रतिबन्धहरु हटाएको छ । कोरोनाभाइरसलाई परास्त गरेको घोषणासँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन आफ्नो अर्थतन्त्रलाई जीवन्त तुल्याउने प्रयत्नमा जुटेको छ ।

हुबे प्रान्तको वुहान शहरमा यात्रामाथिको प्रतिबन्ध हटाइएको चीनकै अन्तिम शहर पनि हो । स्थानीयवासीलाई हुबेका अरु ठाउँमा यात्रा गर्न दिइएको भए पनि प्रान्त छाड्न दिइएको थिएन । हुबेका वुहान बाहेकका अन्य ठाउँका बासिन्दामाथिको प्रतिबन्ध गत मार्च २३ मै हटाइएको थियो । उहानका बासिन्दामाथिका यात्रा प्रतिबन्धहरु आगामी अप्रिल ८ बाट हटाइनेछ ।

वुहानको एउटा वन्यजन्तु बजारबाट मानिसमा कोरोनाभाइरस संक्रमण भएको केही अनुसन्धाताहरुले बताएका छन् । गत डिसेम्बरमै उहानमा कोरोनाभाइरस फैलिएको अनुमान गरिए पनि जनवरी १९ मा चीनमा नयाँवर्षका कार्यक्रमहरु आयोजना गर्न थालिए, र स्वभावत, ठूलो जनसमूह सामूहिक कार्यक्रममा भाग लिन थाले ।

वुहानका स्थानीय नेताहरुले जनवरी २२ मा अर्को एउटा ठूलो सांगीतिक कार्यक्रम आयोजना गरेका थिए जसमा सहभागी संगीतकर्मी र कलाकारहरुले कार्यक्रमकै बीचमा नराम्रोसँग खोक्नु परेको थियो । यतिबेलासम्म सरकारलाई भाइरसको संक्रमण खतरानाक मोडमा पुगेको थाहै थिएन । अर्को बिहान, स्थानीयवासीले एउटा समाचार सुन्नु परेको थियो, उहान शहरलाई बाँकी विश्वबाट अलग गरिएको छ ।

प्रहरीले राष्ट्रिय राजमार्गका प्रवेशद्वारहरुमा ताला लगाएका थिए । ट्रकहरुलाई मात्र शहरका लागि आवश्यक सामग्री ल्याउन अनुमति दिइएको थियो । बस र सबवे सेवा बन्द गरिएको थियो ।

रेस्टुराँ, पसलहरु, सिनेमा र अरु व्यवसायहरु बन्द गरिए, सडकहरु सुनसान भए । मानिसहरुलाई घरभित्रै बस्न आदेश दिइयो । यी प्रतिबन्धहरु उहान नजिकका अरु शहरमा पनि लागू गरिए र योक्रम झण्डै ८० करोड मानिससम्म बिस्तार गरियो, अर्थात् चीनको झण्डै आधाभन्दा बढी जनसंख्या लकडाउनमा गए ।

उहानमा बिरामीको उपचार, भाइरसको प्रकृति र यसको नियन्त्रणका लागि व्यापक प्रयास एवं अध्ययन गरिए । एक हजारभन्दा बढी शैया रहेका दुई वटा अस्थायी अस्पतालहरु रातारात बनाइए र अर्को एउटा स्थानीय प्रदर्शन केन्द्रमा स्थापना गरियो । सयौं सैनिक सेवाका चिकित्सक र नर्सहरुलाई उहान खटाइयो । उनीहरुका साथमा धेरै टन अत्यावश्यकीय चिकित्सा सामग्री पनि पठाइयो ।

राष्ट्रपति सी चिनफिङले मार्च १० तारिखमा पहिलो पटक उहानको भ्रमण गर्नु भयो । उहाँले भाइरस नियन्त्रणका लागि भइरहेका प्रयास एवं बिरामीको उपचारमा केन्द्र सरकार पूर्ण रुपमा जनताको साथमा रहेको स्थानीयबासीलाई विश्वस्त बनाउने प्रयास गर्नु भयो । अर्को दिन, सरकारले हुबेमाथिको प्रतिबन्धहरु बिस्तारै खुकुलो बनाउन थाले, कतिपय कलकारखाना र अत्यावश्यक ठानिएका अरु व्यवसाय खुला गर्न थालियो ।

सोमबार चुहे हान्जी मलमा करिब ७५ प्रतिशत पसलहरु खुलेका छन् तर उनीहरुले मानिसको प्रवेशलाई सीमित गरेका छन् अर्थात् एक पटकमा निश्चित संख्यामा मात्र मानिसलाई यस मलभित्र प्रवेश दिइएको छ । पसलेहरुले हात धुन स्यानिटाइजर्सको व्यवस्था गरेका छन् भने मानिसमा ज्वरो त छैन भनेर जाँच्ने गरिएको छ । बस र सबवे शनिबारदेखि पुनः खुलेका छन् भने रेलवे चालू भएको छ । हजारौं मानिसले यी रेल र बसबाट यात्रा गर्न थालिसकेका छन् ।

वुहानमा कोरोनाभाइरसका कारण दुई हजार ५४७ जनाको ज्यान गएको थियो । चीनमा आइतबारसम्म मृत्यु भएका ३ हजार १८६ जनामध्ये करिब ८० प्रतिशत वुहानकै नागरिक थिए । चीनभर ८१ हजार ४७० जनामा कोरोनाभाइरसको संक्रमण भएको देखिएको थियो ।

स्थानीय चिनियाँ अधिकारीहरुलाई उद्योग, व्यवसायहरु खुला गर्न एवं पूर्ववत रुपमै संचालनमा ल्याउने व्यवस्था गर्न आदेश दिइएको छ । सँगै काममा फर्कने मानिसमा कुनै संक्रमण देखिए तत्काल उपचार समेतका अरु कार्यहरु गर्न भनिएको छ ।

यसैसाता, वुहान भ्रमण गर्ने प्रत्येक व्यक्तिलाई शहरमा आउनु पर्ने कारण र कस्तो तरिकाबाट आइपुगेको हो भन्ने जानकारी गराउन भनिएको छ । होटलमा बसेका व्यक्तिमा ज्वरो भए नभएको भन्दै दिनमा कम्तीमा दुई पटक जाँच्ने व्यवस्था गरिएको छ । उनीहरुले स्मार्टफोनमा उपलब्ध एपमा आफूलाई जोड्न भनिएको छ ताकि यात्रा सहित निज व्यक्तिको स्वास्थ्य अवस्था र यात्रा बारे नियमित अनुगमन गर्न सकियोस् ।

अधिकारीहरुले पाँच वटा होटललाई उहान भ्रमण गर्नेहरुलाई क्वारेन्टाइनमा राख्नका लागि छुट्याएका छन् । यी होटलमा विदेशी नागरिक समेतलाई राखिने छ । होटलका कर्मचारीले होटलमा बस्नेहरु र उनीहरुका सामानलाई डिसइन्फेक्ट गर्नुपर्नेछ ।

बसमा यात्रा गर्न चाहने प्रत्येक यात्रुले रातो भेस्ट लगाएका स्वयंसेवीलाई स्मार्टफोनको स्वास्थ्य कोड देखाउनु पर्नेछ ।