कपिलवस्तुमा प्रविधि-सुविधायुक्त क्वारेन्टाइन

कपिलवस्तुमा प्रविधि-सुविधायुक्त क्वारेन्टाइन


■ श्याम क्षेत्री, कपिलवस्तु

देशमा मात्र नभएर विश्व नै अहिले कोभिड–१९ अर्थात् कोरोनाको कहरमा रुमल्लिरहेको छ। कोरोनासङ्क्रमित देशहरु कसरी हुन्छ, चाँडैभन्दा चाँडै यो महामारीबाट उम्कने प्रयासमा लागिपरेका छन् । नेपालमा लकडाउन चलिरहँदा मानिसहरु घरमै सुरक्षित बसेर विभिन्न सामाजिक सञ्जालमार्फत अरुलाई पनि सजग गराई सुरक्षित रहन आग्रह गरिरहेका छन् ।

नेपालमा हालसम्म पाँच जना सङ्क्रमित भएकोमा एकजना निको भइसकेको तथ्याङ्क सार्वजनिक भएको छ भने अन्य चार जनाको पनि अवस्था सामान्य रहेको जनाइएको छ। छिमेकी मुलुक भारतबाट लकडाउनको समयमा पनि कुनै न कुनै तरिकाले नेपाल भित्रिने क्रम जारी नै छ। खुला सीमानाका कारण स्थानीय प्रशासनलाई पनि भारतबाट नेपाल भित्रिनेलाइ पुर्ण रुपमा रोक्नको लागि चुनौती नै खडा भएको छ भने नेपालमा भन्दा भारतमा कोरोनाको कहर बढि भएकोले पनि रोजगारीको सिलसिलामा भारत गएकाहरु घर फर्कन खोजिरहेका छन् ।

भारतबाट नेपाल भित्रिसकेका कतिपय क्वारेण्टाइनमा राखिएका मानिस सुविधासम्पन्न नभएको, जेलम बसेजस्तो भएको भन्दै क्वारेण्टाइनबाट भागेको समाचार समेत बाहिरिएका थिए ।

यसैबीच कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित श्री रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा प्रविधियुक्त क्यारेण्टाइन बनाइएको छ। १५ शैय्याको उक्त क्यारेण्टाइन कपिलवस्तु नगरपालिका-१ ले तयार पारेको हो ।

सो वार्डका अध्यक्ष सुदिप पौडेलले बिरामीलाई क्यारेण्टाइनमा चाहिने निजी प्रयोगका सामग्री, खानासहित इन्टरनेटको ब्यवस्था गरेको बताउँदै क्यारेण्टाइनमा बस्दा आफ्नो घरको जस्तो वातावरण वाईफाईले सृजना गराइदिने र बिरामीको मनोबल पनि उच्च गराउन समेत मद्दत मिल्ने पौडेल बताए । बिरामीको चापलाई हेरेर क्यारेण्टाइनको शैया आवश्यकताअनुसार बढाउँदै लैजाने बताइएको छ। स्थानीय बुद्धिजीवीहरु वार्ड नम्बर १ ले गरेको यो कार्य उदाहरणीय रहेको बताउँछन् । हाल कपिलवस्तुमा ८ आइसोलेशनसहित ३१९ क्वारेन्टाइन बेड रहेको छ।