छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु तीस घाइते

छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु तीस घाइते


■ विकास रौनियार

लकडाउनको अवस्थामा मंगलबार (१८ चैत) रामेछापमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य तीस यात्रु घाइते भएका छन् ।

रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको हो । बा १४ च ९४९८ पिकअप बोलेरो भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गर्दा दुर्घटना भएको हो । जिप सडकदेखि करिव सय मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।

उक्त दुर्घटनामा घाइते भएकामध्ये दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपीलाल पहारी र सोही गाउँपालिका–२ की २५ वर्षीया संगीता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

उता नवलपरासी जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६६ प ४६८३ नम्बरको स्कुटर विनयी त्रिवेणी गाउँपालिका–१ को वन कार्यालय नजिकै दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँचीको ठाडा गाउँपालिका–३ घर भएका ३८ वर्षीय पदमबहादुर केसीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार मोटरसाइकल दुर्घटनामा गम्भीर भएका केसीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । स्कुटरको पछाडि बस्ने गुल्मीको रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय नेत्रबहादुर थापा क्षेत्रीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । स्कुटरको गति तीव्र भएका कारण अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।