चिताको दाउरा र कात्रोमा पनि ‘कमिसन’ खाने हामी अजम्बरी !

चिताको दाउरा र कात्रोमा पनि ‘कमिसन’ खाने हामी अजम्बरी !


■ आरपी पाठक

भूकम्प, आगजनी, बाढी–पहिरो, भोकमरीलगायतका प्रकृतिक आतङ्क भू–लोकको पर्यायवाची नै हो । यस मर्त्यलोकमा जन्म हुनुको अर्थ मृत्युु पनि अवश्यम्भावी छ भन्ने नै हो । अर्थात्, जन्मदै जीवले मृत्यु साथमा लिएर आएकै हुन्छ । अध्यात्मले यसको चिन्तन हजारौँ वर्षअगाडि नै गरिसकेको छ ।

हाम्रा अनगिन्ती शास्त्रहरूले सर्वप्रथम यसकै व्याख्या गरेको छ । यसैलाई आधार मानेर मनुष्यलाई नैतिक पाठ सिकाएको पनि छ । त्यसैले आध्यात्म वा हिन्दु बौद्धशास्त्र आफैमा एउटा जीवनपद्धति पनि हो । त्यसैकारणले होला यसलाई सनातन धर्म भनियो ।

अनन्त कालदेखि चलिआएको अविच्छिन्न परम्परा जसले आज मनुष्यलाई साँच्चिकै मानव बन्न प्रेरित गरेको छ । तर केही शताब्दी अगाडिदेखि मात्र होला, एकपछि अर्काे हुँदै नयाँ–नयाँ धर्मका नाममा विकशित भएका अनुयायीहरूको भौतिकताप्रतिको मोह श्रृजना गराउने पद्धतिको विकासले ती पुरातन सनातनीहरूलाई नजानिँदो किसिमले लखेटिरहेका छन् ।

उसो त हाम्रो सनातनी पद्धतिमा भौतिक मोह कम र आध्यात्मिकता बढि भएका कारण भौतिक सुखसयलमा आशक्ति राख्नेहरूलाई यसले खासै आकर्षण गर्न सक्दैन । ज्ञान कर्म र भक्तिको त्रिवेणी रसस्वादन गराउने शास्त्रले जीवन र जगतका हरेक चरणहरूलाई उत्तिकै महत्व दिने भएका कारण कमजोर अस्पष्ट पाटो मन नपराउनेहरूका लागि यो सनातन पद्धति निरश भएकै हो ।

उर्लंदो भौतिक संसारको मोहतालमा डुबुल्की मार्ने चाहनाको विकास सँगसँगै आधुनिक मानव आफ्ना सबै चिज बिर्सिएर, अझै भनौँ भने शास्वत सत्य सावित भएको मृत्युलाई नै बिर्सिएर आफ्नै श्मसानगमनका बेला ओढाइने कात्रो, आफैलाई जलाउने चिताको दाउरा र सन्ततिको चित्त र शरिीरक शुद्धताका लागि अपनाइएको रीति ‘किरिया खर्च’मा समेत कमिसन खाएर आगामी सात पुस्तासम्मका लागि जोगाड गर्न उद्यत् भएको घटनाले सिङ्गो मानव सभ्यतालाई नै कलुसित तुल्याएको छ ।

यो नेपालभूमि, अझै भनौं सिङ्गो आर्यावर्तवासीहरू मृत्युपछिको आत्मिक जीवनमा समेत शान्ति चाहन्छन् । तर, आफ्नो त्यस्तो अलौकिक पद्धतिको बेवास्ता गरेर पूर्णरुपेण अति भौतिक र लौकिक पद्धतिलाई विनाशर्त स्विकार्दै आफ्ना समस्त नैतिक विचार भावना र व्यवहारलाई तिलाञ्जली दिएर हरेक मानवीय संकटका अवसरलाई कमाउने धन्दाका रूपमा परिणत गर्दै अतिभौतिकवादमा चुर्लुम्म डुबेको देख्दा आज मानवता निरीह भएर रोइरहेको छ ।

हामी मानव भएर सुख–दुःखमा एकसाथ हुनुको सट्टा भौतिक सुखका लागि विभाजित भएका छौँ । अझै केही दशक अगाडिबाट हामी आफूलाई समग्र मानव र नेपाली जनसमुदाय भन्दा पनि विभिन्न राजनीतिक वाद र प्रतिवादमा विभक्त हुनुलाई आफ्नो बडप्पन ठान्न थालेका छौँ । कुनै पनि मानवीय कर्मका लागि मद्दत माग्न लाग्यौँ भने त्यसभन्दा अगाडि हामीले अपनाएको वाद वा सिद्धान्तको बारेमा जान्न र चिनाउन पर्ने हुन्छ । त्यसपछि सहयोग दिन उचित हुने–नहुने बारेमा छानवीन गरिन्छ र उचित ठहरेमा मात्र सहयोगको वातावरण निर्माण हुन्छ । यसको मतलव कि त दल वा पार्टीको हुनु पऱ्यो कि त नगद तिरेर किन्न सक्ने हुनु पऱ्यो । अन्यथा नेपालमा योग्यता–क्षमता र आवश्यकताका आधारमा नागरिकले सहयोग र सुविधा पाउँदैनन् ।

आफ्नै वरिपरि घुमिरहेको मृत्युलाई मान्छे मनन गर्न सक्दैन, गर्न चाहँदैन । उल्टै हज्जारौँ वर्षको आयु लिएर आएको जीवभन्दा आफूलाई अजर र उच्च ठान्दछ । मृत्युपश्चात घाटमा मलामीसिवाय अरु कोही हुँदैन भन्ने ख्याल राख्दैन । आफ्ना कर्मले सोही मलामी र आफन्तसमेत गुमाइसकेको भेउ नपाउने मनुवा आफ्नै कात्रो, चिता र किरियाखर्चसम्मको कमिसन खाने चक्करमा घुमिरहेको देखिन्छ ।

चाहे भूकम्प गएको बेला होस् चाहे बाढी लागेको वा अन्य महामारी, कुनै पनि संकटका बेला सानोतिनो सहयोग पाउनका लागि समेत दलका कार्यकर्ता वा शक्तिशालीका आफन्त हुनुपर्छ । अन्यथा यहाँ कि त आफै जसोतसो बाँच्न सक्नुपर्छ नभए मृत्युवरण गर्ने शिवाय अन्य उपाय छैन । आफ्नै खर्चले उपचार गराउन पनि सरकारी अस्पतालमा बेड पाउनका लागि समेत नेताको सिफारिस चाहिने, केटाकेटीलाई चाहेको स्कुल–कलेज भर्ना गराउनका लागिसमेत नेताकै सोर्सफोर्स चाहिने, घरखेत बेचेर सन्तान पढायो जागिरका लागि कार्यकर्ता नै हुनुपर्ने, कि त रकम बुझाएर जागिर खुवाउनु पर्ने ! नत्र भने विदेशीको गुलामी गर्न ऋण काढेर विदेश पठाउनुपर्ने । अब भन्नुहोस् देशले कुन गति लिँदैछ ?

हामी हरेक मानवीय सङ्कटलाई धन आर्जन गर्ने अवसर ठान्न थालेका छौँ । हामी हाम्रो पद र मर्यादा भन्दा अनुचित आम्दानीलाई श्रेष्ठ ठान्दैछौँ । हामी मानवीय संवेदनालाई नगदमा भजाएर संवेदनहीनता प्रस्तुत गर्दैछौँ । राजनीति विशुद्ध समाजसेवासिवाय केही होइन तर त्यही हाम्रा लागि व्यवसाय भएका छन् । राष्ट्रसेवामा लागेका कर्मचारी आफूलाई सेवक होइन हाकिम ठान्छन् । जसको जौ खानु उसैको जुङा मुढ्नु भने जस्तै जनताका पसिनामा कर्मचारी र राजनीतिकर्मीले रजाईं गरिरहेका छन् । उल्टै नागरिकलाई रैती भन्दा माथि नठान्ने तिनको प्रवृत्ति छ । चाहे सत्ताधारी हुन् या त प्रतिपक्षी कसैमा संवेदनशीलता देखिँदैन ।

कुकुरको पुच्छर बाह्र वर्ष बाँसको ढुङ्ग्रोमा हालेर झिक्नुहोस् फेरि आफ्नै रुप धारण गर्छ । आजका प्रतिपक्ष हिजोका सत्ताधारी थिए । त्यसबखत पनि यस्तै थियो । देशलाई बाजेको विर्ता ठान्ने जनतालाई चाकर भन्दा माथि तिनले पनि राखेका होइनन् । यस्तै व्यावहारबाट वाक्क भएका जनताले परिवर्तन रोजे, व्यवस्था फेरियो । तैपनि हाम्रो देश–समाजमा भएका विकृतिलाई संहिताकृत गर्ने हो भने एउटा होइन दर्जनौँ वेदव्यासको आवश्यकता पर्ने अवस्था छ ।

आफ्नै वरिपरि घुमिरहेको मृत्युलाई मान्छे मनन गर्न सक्दैन, गर्न चाहँदैन । उल्टै हज्जारौँ वर्षको आयु लिएर आएको जीवभन्दा आफूलाई अजर र उच्च ठान्दछ । मृत्युपश्चात घाटमा मलामीसिवाय अरु कोही हुँदैन भन्ने ख्याल राख्दैन । आफ्ना कर्मले सोही मलामी र आफन्तसमेत गुमाइसकेको भेउ नपाउने मनुवा आफ्नै कात्रो, चिता र किरियाखर्चसम्मको कमिसन खाने चक्करमा घुमिरहेको देखिन्छ । यस्ता अधमहरूलाई धिक्कार भन्ने शब्दशिवाय बाँकी अरु केही रहेन । अब मेरो देश कि त पशुपतिनाथले बचाउला कि त अर्कै अकल्पनीय हुने–हुनाम्य कुर्नु हाम्रो नियति हुनेछ । जय होस् !!