विपत्तिमा सहयोगी बन्दै एनआरएनए पोर्चुगल

विपत्तिमा सहयोगी बन्दै एनआरएनए पोर्चुगल


■ छविलाल बगाले, पोर्चुगल

यतिबेला विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । यो सँगै विश्व समुदायमा त्रास बढेको छ । त्यसमा पनि यूरोपेली मुलुकहरु यसबाट बढि प्रभावित भएका छन् । कोरोनाकै संक्रमणका कारण यूरोप छिरेका धेरै नेपाली बेरोजगार छन् भने कतिपयको रोजीरोटी खोसिएको छ । यसैले पनि गैह्रआवासीय नेपाली संघ पोर्चुगलले आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्षित गरी राहत वितरण गरेको छ ।

संघले लिस्वनका ६२ नेपालीलाई आपतकालीन राहत वितरण गरिसकेको जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण काम नपाएका, भर्खर आएका र समस्यामा परेका अन्य नेपालीलाई राहत उपलब्ध गराएको हो ।

दुई दिनसम्म राहत वितरण गरेको एनआरएनले आइतबार (२९ मार्च) ४५ र सोमबार १७ जनालाई राहत उपलब्ध गराएको टास्क फोर्स समितिका संयोजक विक्रमजंग कुंवरले जानकारी दिए । संघले राहतस्वरुप चार केजी चामल, एक लिटर तेल, एक केजी दाल, नुन र पास्ता लगायतका अति आवश्यकीय खाद्यान्न वितरण गरेको थियो । समितिका उपसंयोजक दिनेश भण्डारीका अनुसार राहत वितरण जारी रहेकोले कसैले राहत लिन चाहेमा संघमा वा समितिका पदाधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

संघले लिस्वन बाहिरका क्षेत्रहरुमा पनि राहत वितरणको कार्यक्रम रहेको जनाएको छ । संघका कार्यसमिति सदस्य दीपक खत्रीले केही समय लिस्वनमा राहत वितरणको कार्य रोकेर लिस्वन बाहिर वितरण गर्न लागेको जानकारी दिएका छन् । यस्तै, महिला उपाध्यक्ष सीता श्रेष्ठका अनुसार अलेन्तेजु, अल्गाभ, जम्बोजिरा, काबलेइरियो, माल्भादो, सान्तोतोनियो, मिल्फन्तोष, अल्मोग्राव, साओःमिगेल जस्ता ठाउँहरुमा अप्रिल १ तारिखदेखि सहयोग राहत वितरण गर्ने कार्यक्रम छ ।