धादिङका एसपी भन्छन्- ‘चालक र पैदलयात्री सारै ज्याद्रा भए, हामी आजित भइसक्यौँ’

धादिङका एसपी भन्छन्- ‘चालक र पैदलयात्री सारै ज्याद्रा भए, हामी आजित भइसक्यौँ’


■ विकास रौनियार, धादिङ

पृथ्वी राजमार्गमा लकडाउन उल्लंघन गर्ने सात सय सवारीसाधनलाई एक साताबीच प्रहरीले नियन्त्रणमा लिएको छ । बिनापासका सवारी साधनहरुले नियम उल्लंघन गर्ने, रोकेर सम्झाउँदा पनि अटेर गर्ने क्रम बढेकोले चेकजाँचका क्रममा तिनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

एस्पी रेग्मीका अनुसार लकडाउनको पहिलो चरण (सात दिन) अवधिमा सरकारको आदेश उल्लंघन गर्ने ७ सय भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ । ‘चालक र पैदलयात्री सारै ज्याद्रा भए, हामी आजित भइसक्यौँ’– एस्पी रेग्मीको भनाई छ ।

‘अत्यावश्यक सेवाबाहेकका सवारी साधन र मानिसको आवतजावतमा रोक लगाउन लकडाउन गरिएको हो, तर अनावश्यक रुपमा सडकमा निस्किनेलाई नियन्त्रणमा लिन बाध्य भयौँ’, उनले भने– ‘यो अवस्थामा सबै अनुशासित भएर घरमै बस्नुपर्ने हो, अटेरी गर्ने प्रवृत्ति यस्तो संवेदनशील अवस्थामा पनि कायम रहनु दुर्भाग्यपूर्ण छ ।’

जिल्ला ट्राफिक प्रहरी गजुरीका प्रमुख नेत्रप्रसाद भट्टले पनि लकडाउन उल्लंघन गर्ने क्रम नरोकिएकोमा चिन्ता प्रकट गरे । नियन्त्रणमा लिइएकाहरुलाई कोरोना भाइरससम्बन्धी जानकारी दिएर छाड्ने गरिएको उनले बताए ।