कोभिड-१९ : दक्षिण अमेरिकामा नेपालीलाई समस्या पर्न सक्छ !

कोभिड-१९ : दक्षिण अमेरिकामा नेपालीलाई समस्या पर्न सक्छ !


■ सरोज अर्याल, चिली

कोरोनाको महामारीपछि विश्वले नयाँ कुरा सिक्ने छ । हतियार र टेक्नोलोजी जति थुपारे पनि, जति आर्थिक उन्नति गरे पनि आखिर कोरोनाले महाशक्ति भन्नेहरूका मुटु हल्लाइदियो । अझै हल्लाउने नै छ । युरोपलाई त आर्थिक रूपले लगभग तहसनहस नै बनाइदियो । युरोप अब आर्थिक रुपले उठ्न दशकौँ लाग्छ ।

चीन एक्लै कोरोना भाइरसको महामारीसँग जुधिरहँदा पश्चिमा देशहरूले सहयोग त कता हो कता सामान्य सहानुभूतिसम्म दिएनन् । चीन र चिनियाँ जनतालाई बदनाम र संसारभर अपमानित गर्न मेडियाबाजी गरे । चीन र चीनियाँ अर्थतन्त्र कतिसम्म टाट पटिन्छ भनी गणितीय ब्यायमिटर लगाएर सञ्चारमाध्यमभर नाप्नतिर मात्र लागे ती ।

आज फ्रान्स र इटालीजस्ता विकसित देशले जनतालाई चीनको सहयोगबिना उपचार त परको कुरा मास्कसम्म उपलब्ध गराउन सकेका छैनन् । इटालीले त ८० वर्षभन्दा माथिका नागरिकको सघन उपचार नगर्ने अमानवीय घोषणा नै गरिसक्यो । फ्रान्समा मास्कको भयावह स्थितिले चीनको सहयोगबिना केही हुनेवाला नरहेको प्रतीत हुँदैछ ।

अमेरिका जस्तो देशले सर्वसाधारण जनतालाई आजको दिनसम्म सर्वसुलभ ढङ्गले मास्स र सामान्य सेनिटाइजरसम्म उपलब्ध गराउन सकेको छैन । वालमार्टलगायतका व्यापारिक स्थलहरूमा भिटामिन ‘सी’का क्याप्सुलसमेत छैनन् । यो अवस्थाले ‘कागजी महाशक्ति’ले मात्र केह ीगर्न नसक्ने रहेछ भन्ने प्रमाणित गर्दैछ ।

कोरोनाले युरोप र अमेरिकामा ल्याउने आर्थिक संकट, सर्वसाधारण जनताले गुमाउने जागिर र यसले समस्त विश्व अर्थतन्त्रमा हान्ने धक्का त्यति चानेचुने हुने छैन अब । नेपालभित्र त कोरोनाको महामारी नै फैलियो भने पनि नेपालले बेसार–पानी खाएर जति सहज ढंड्गले लड्छ, यूरोप–अमेरिका जस्ता विकसित देशका जनताको हालत के भइरहेको छ ?– विश्वले देखिरहेको छ अहिले ।

नेपालमा त भोकमरी नै लागे पनि तीन हप्तामा त तोरीको साग उम्रन्छ, लगाएको १२० दिनमा त धान पाकेर पनि ढिकीमा कुट्न मिल्छ । नेपालको सबैभन्दा ठूलो मेरुदण्ड र हतियार भनेकै यही हो । कोरोनासँग चेतनाले लड्ने हो । आफूसँग भएका साधन–स्रोत, ज्ञान र आत्मबलले लड्ने हो ।

सङ्क्रमणले गाँज्यो भने हामी नेपालीको त हालत कस्तो होला सम्झिँदै कहाल लाग्नु स्वभाविक नै हो । हामी गरिव देशका नागरिक र यता न नेपाली राजदूतावासको सहयोग मिल्ने न अन्य कुनै राहत ! काम गर्ने ठाउँहरू पनि प्रायः बन्द भएको छ । चिलीका सबै स्थानमा करिव तीन सयको हाराहारीमा नेपाली बस्दै आएका छन् । सम्बन्धित निकायबाट यहाँ बस्ने नेपालीहरूप्रति खास चासो दिइएको छैन । अन्य बेला त चासो राख्न नभ्याउने सरकारले यस विपदको घडीमा केही भयो भने के ध्यान देला ? वास्तवमै चिली बस्ने हामी नेपालीहरूको हालत के होला ?

यहाँ बस्ने नेपालीहरूको साथमा छ भनौँ भने केवल उनै भगवान् शिव मात्रै हो । बसभाडा, खाना र नियमित औषधि खानेले १–२ महिना त धान्लान्, २–४ महिना यस्तै अवस्था लम्बियो भने ‘फुड स्टाम’ले मात्र कति धान्ला ?

जागिर त अब धेरैको गुम्ने अवस्था छ । कोही सोध्छन् नेपालमा कोरोनाको महामारी भयो भने नेपालले के गर्छ अरे ? कोही नेपालमा कोरोना नफैलिएर चिन्तामा छन् । जबकि, नेपालमा फैलिहाले पनि केही लछारपाटो लगाउँदैन भन्ने यस्तालाई कसले बुझाइदिने ? किनकि, नेपालीले दश वर्षको ‘जनयुद्ध’, विनासकारी भूकम्प, अवान्छनीय नाकाबन्दी सबै पचाइसकेका छन् । संकटसँग कसरी जुध्नु या बच्नुपर्छ भन्नेमा नेपाली अभ्यस्त भएका छन् ।

वास्तवमा नेपालमा त भोकमरी नै लागे पनि तीन हप्तामा त तोरीको साग उम्रन्छ, लगाएको १२० दिनमा त धान पाकेर पनि ढिकीमा कुट्न मिल्छ । नेपालको सबैभन्दा ठूलो मेरुदण्ड र हतियार भनेकै यही हो । कोरोनासँग चेतनाले लड्ने हो । आफूसँग भएका साधन–स्रोत, ज्ञान र आत्मबलले लड्ने हो । प्रविधि र बमले कोरोनासँग लडेर हुन्थ्यो भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो एक हप्तामा के–के गरिसक्थे होलान् ?

तसर्थ, अमेरिकाजस्तो पूर्णतः पुँजीवादी सिस्टम वा उत्तर कोरिया जस्तो पूर्णतः साम्यवादी सिस्टम धेरै कहालिलाग्दो छ । अमेरिकामा पुँजीवादले पनि सीमित प्रतिशतलाई मात्र धनी र सपन्न बनायो, बाँकी ७५ प्रतिशतको अवस्था खराव नै छ । तसर्थ, आगामी दिनमा विश्वमा मिश्रित अर्थव्यवस्थाको टड्कारो बहस हुन सक्छ । भोलिका दिनमा बाध्य भएर विश्वले त्यो बाटो अपनाउने नै छ भन्नेमा विश्वस्त हुन सकिन्छ ।