नेतृत्वलाई गाली र कारवाही गर्दै गरौँला, पहिले कोरोनालाई हराऔँ

नेतृत्वलाई गाली र कारवाही गर्दै गरौँला, पहिले कोरोनालाई हराऔँ


■ मोहनप्रसाद खतिवडा, टोकियो (जापान)

मृत्यु असहज र अपाच्य हुन्छ, शत्रुको पनि मृत्यु सुन्नु नपरोस् । संसारका कुनै पनि प्राणीले मृत्युलाई सहजै स्वीकार गर्दैनन् र स्वीकारेका पनि छैनन् । तर हाल नचाहँदा नचाहँदै पनि विश्व–परिवेशमा चीनको वुहानबाट भाइरल हुँदै प्राणघातक भाइरसको रुपमा विश्वभर फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको कारणले विश्व आतंकित पारिरहेको छ । विश्वका गरिव राष्ट्रहरू मात्र नभएर शक्तिसम्पन्न र धनी राष्ट्रमा पनि कोरोना भाइरस संक्रमणले आक्रान्त पारिरहेको छ ।

धर्मशास्त्रीय मान्यताले हेर्ने हो भने जब–जब पृथ्वीमा मानवहरू धर्म संस्कार, मानवता या सत्कर्म त्यागेर ब्यक्तिगत स्वार्थको निम्ति अपराध, कुसंस्कार जस्ता विकृतिमा संलग्न देखिन्छन्– पृथ्वीले सहन नसकी प्राकृतिक विपत्ति निम्त्याइदिन्छिन् अरे ! त्यहाँ न कुनै औषधीले काम गर्छ न त मानव संवेदनाले नै । शास्त्रहरूलाई दर्शनका रूपमा लिने हो भने आजभन्दा सदियौँअघि लेखिएका शास्त्रहरूका लेखनलाई दुरदृष्टिपूर्ण पनि मान्न सकिन्छ । यो वा त्यो नाममा प्रकृति र मानव जातिहरू विनाश भइरहेका छन् ।

आज विज्ञानले संसारमा यति धेरै चमत्कार गरिसक्दा पनि मानौँ कि पृथ्वीमा बसेर चन्द्रमाको यान टाल्ने यो युगमा हामी रहँदै गर्दा पनि यी र यस्ता कतिपय भाइरस संक्रमणहरू निर्मूल गर्न नसकेका कैयौँ उदाहरण नभएका पनि होइनन् हाम्रै समाजमा ।

संसारलाई नै त्रासदीमा पारिरहेको यो कोभिड–१९ हाल आफ्नो स्वास्थ्यप्रति सचेत वा चेतनास्तर उच्च रहेका नागरिकको देश मानिने जापानमा पनि फैलिरहेको छ । राज्यले उच्च सतर्कता अपनाउँदाअपनाउँदै पनि खतर्नाक भाइरस यसरी फैलिरहेको छ । तर, राज्यले सतर्कता अपनाउने अनि जनता पनि सचेत हुने हो र सतर्कता–नीति अवलम्बन गर्ने हो भने साँच्चै सोचेभन्दा थोरै मात्रामा क्षति हुने रहेछ भन्ने कुरा जापानलाई स्पष्ट रुपमा लिन सकिन्छ । चाइनासँग बोर्डर जोडिएकै कारण छिट्टै नै जापानमा प्रवेश गरेको यो भाइरसले अन्य देशको तुलनामा जापानमा न्यूनतम् क्षति गरेको मानिन्छ ।

रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेको भन्ने विश्वप्रशिद्ध भनाईलाई यतिबेला विश्वपरिवेशमा हेर्दा इटालीमा भएको ठूलो क्षतिलाई लिन सकिन्छ, जहाँ वृद्धवृद्धाको तुलनात्मक रुपमा संख्या बढि रहेको अनुमान रहेको छ । रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा छिट्टै नै यो रोगले सिथिल पार्ने विभिन्न अध्ययनहरूले देखाइरहेका छन् ।

समग्र संख्यात्मक रूपमा हेर्ने हो भने जापानमा पनि युवाको अनुपातमा जेष्ठ नागरिक वा वृद्धवृद्धा नै बढि रहेका छन् । तर, समाज र आफ्नो शारीरिक तन्दुरुस्ती र स्वास्थ्यप्रति अति नै संवेदनशील हुने यहाँका मानिसहरु सधैं रोगप्रति सचेत रहन्छन् नै । राज्यले लागु गरेको नीति नियम अक्षरशः पालना गर्ने यहाँका नागरिकको चेतनास्तर भएको हुँदा यो भाइरसले सोचेको जति क्षति गर्न सकेको छैन । स्वास्थ्य–चेतनालाई हेर्ने हो भने यस्तो संक्रमणकालमा मात्र नभएर पङ्क्तिकार विगत लामो समयदेखि जापानमा रहँदै गर्दा देखे–बुझेअनुसार सार्वजनिक स्थानमा हिँडडुल गर्दा, यात्रामा निस्कँदा या भीडभाडमा आफ्नो कारणले अरुहरूलाई असहज स्थिति नहोस् भनी सदाबहार माक्स प्रयोग गर्ने गर्दछन् यिनीहरू ।

संसार विकासको चरम चुचुरोमा पुगिसकेको यस शताब्दीमा पनि नेपालमा भने कतिपय मानिस अन्धविश्वास र त्रास जगाउँदै धर्मपरिवर्तन गर्न उक्साउने हर्कतमा उत्रिएका हालै सामाजिक संजालमा भाइरल भएको भिडियोलाई लिन सकिन्छ । नेपालको संविधानले सम्पूर्ण धर्मलाई समान रुपमा लिइरहेको बेला धर्मको नाममा हुने यस्ता कुरीति र कुसंस्कारलाई समाजमा लाद्न खोज्नु कत्तिको न्यायसंगत छ यी सारा कुरामा राज्यको निगरानी हुनै पर्दछ ।

हाल विश्वमा फैलिरहेको यस्तो महामारीमा राज्य सरकार र नागरिकहरूले एकअर्कालाई दोष थोपरेर आफू पन्छिनु अतिसार अन्याय हुन जान्छ । राज्यले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी देश र जनताका खातिर जुनसुकै कदम चाल्न पनि पछि हट्नु हुन्न । देश रहे राज्य रहन्छ, नेतृत्व सफल भए जनता खुशी रहन्छन् नै । नेतृत्वको सक्षमता त्यसबेला चिनिने छ जतिबेला नागरिकलाई संकटको घडीमा सुरक्षार्थ जुनसुकै कदम चाल्न पनि तयार रहन्छ । अन्यथा निरोको बाँसुरीको कथासँग मेल खानेछ ।

यो संकटको घडीमा हामी जहाँ छौँ, जे छौँ त्यहीँबाट राज्यलाई सहयोग गरौँ अनि आत्मसुरक्षाको लागि आफू पनि सचेत बनौँ । यो बेला राज्य र नेतृत्वलाई गाली गर्ने समय होइन । सकारात्मक सन्देशहरू फैलाऔँ, भ्रामक समाचार फैंलाउनेलाई समाजमा बहिष्कार गरौँ । यतिबेला कुन पार्टी कुन पक्ष कुन नेता नसोचौँ, हामी सबै नेपाली हौँ भन्ने सत्य नबिर्सऔँ । हामी निरोगी र सफल रहे नेतृत्वलाई खबरदारी, गाली र कारवाही पछि गर्दै गरौँला, आजलाई राज्यको होस्टेमा हैंसे गरौँ । संसारका कुनै पनि देश नेतृत्वको सक्षमताले मात्रै होइन जनताको चेतनास्तरले पनि अनेकौँ अप्ठ्यारासँग सहजै जुझेर सफल भएका उदाहरण अनगिन्ती छन् । जय देश ।