धादिङमा किटनाशक औषधि छर्किन शुरु

धादिङमा किटनाशक औषधि छर्किन शुरु


■ विकास रौनियार, धादिङ

कोरोना भाइस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उपत्यकाबाहिरका जिल्लामा पनि किटनाशक औषधि छर्किन सुरु गरिएको छ। यस क्रममा धादिङका विभिन्न स्थानमा पनि किटनाशक छर्किने कार्य गरिएको छ ।

सरकारले स्थानीय तहलाई निर्देशन दिएअनुसार धादिङ गजुरीका एक जना समाजसेवी गोविन्द लामिछानेले आफ्नो टोलको सुरक्षाको जिम्मा एक्लै लिएका छन् भने देशलाई महामारीबाट बचाउन हरेक नागरिकले आ आफ्नो तर्फबाट सक्दो कर्तव्य निर्वाह गर्नुपर्ने भन्दै टोलका ठाउँ ठाउँमा किटनाशक औषधि छर्न सुरु गरेका छन् ।

यसअघि धादिङको निलकण्ठ नगरपालिकाले पनि नगरभित्रका विभिन्न भीडभाड हुने ठाउँमा औषधि छर्किन सुरु गरेको थियो । कीटनाशक औषधि छर्कने क्रममा शनिबार धादिङबेशीको साँघुटार, पुच्छारबजार, बसपार्क, मुलचोक हुँदै सिरानबजारको बजारआसपासमा र अधिकरण क्षेत्र तथा क्वारेन्टाइन क्षेत्रमा केन्द्रित गरी औषधि छर्किएको थियो ।

बाक्लो बस्ती भएको क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल हुने र अस्पताल क्षेत्रलाई समेत प्राथमिकतामा राखेर औषधि छर्किएको निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले बताए ।