थप एक साता ‘लकडाउन’ लम्बिने

थप एक साता ‘लकडाउन’ लम्बिने


पहिलो एक साताको लकडाउनमा सर्वसाधारणको हिडडुँल र बाहिरी गतिविधि नरोकिएको र यसबीचमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति थपिएपछि सरकारले लकडाउन अवधि थप्ने निश्चित भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज (१६ चैत) बसेको बैठकले लकडाउनको अवधि थप एक साता बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले लकडाउनले मारमा परेका विपन्न वर्ग तथा दैनिक ज्याला मजदूरी गर्नेहरुलाई राहत प्याकेज घोषणा गर्ने निर्णय पनि लिने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विपन्न वर्गका लागि दिइने राहतको बारेमा पनि निर्णय लिँदैसरकारलाई सिफारिस गरेको बताइएको छ ।

सरकारले यसअघि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभर लकडाउनको घोषणा गरेको थियो । यो घोषणासँगै देशभर अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरिएको थियो । सरकारले समितिको सिफारिस अनुमोदन गरेपछि मुलुक पुनः चैत २५ गते लकडाउनमा जाने छ ।

यस्तै, सरकारले अन्तर्राष्ट्रिय उडाउमा लगाएको रोक पनि बढाएर नयाँ वर्ष २०७७ सालको वैशाख ३ गतेसम्मका लागि पुर्‍याउने बताइएको छ । यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

यसैबीच गृहमन्त्रालयले कोरोना भाइरसको आशंका गरिएका व्यक्ति क्वारेन्टाइनमा बस्न नमानेमा संक्रामक रोड नियन्त्रण ऐन २०२० अनुसार एक महिनादेखि ६ महिनासम्म जेल सजाय तोक्ने भएको छ ।