लकडाउन पालना गर्दै र गराउँदै कास्कीका युवा

लकडाउन पालना गर्दै र गराउँदै कास्कीका युवा


कोरोना भाइरसको संक्रमणका कारण विश्व नै तहसनहस भएको अवस्थामा सरकारले गरेको लकडाउनको पालना आफूले गर्ने र अरुलाई पनि गराउनेतर्फ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका युवाले सकृयता देखाएका छन् ।

लकडाउनको अधिकांशतः युवाले पूर्णतः पालना गरेका छन् नै आफ्ना गाउँबस्तीमा संक्रमण नभित्रियोस् भन्दै ठाउँ–ठाउँमा बाटो बन्द गरेर आवागमन रोक्नेतर्फ पनि यहाँका युवाहरू कृयाशील देखिएका छन् ।

शनिबार साविक भरतपोखरी गाविसको वडा नं ५ र ६ को सिमानामा पर्ने बरभोटेनीमा मूल सडकमै बाँस गाडेर स्थानीय युवाले आवागमन रोकेका थिए ।
सवारी साधन लिएर उक्त बाटो हुँदै तनहुको दुलैगौडा तथा स्याङ्जाका विभिन्न स्थानका साथै पोखराको छोरेपाटन निस्कने क्रम बढेको भन्दै आफूहरू आवागमन रोक्न बाध्य भएको स्थानीयले बताए ।

आइतबार (१६ चैत) बिहानै भरतपोखरीकै बाघमाराका युवाले पानी ट्याङ्कीमा बाँस तेसारेर बाटो अवरुद्ध गराएका थिए । लकडाउनको समयमा आवतजावत गर्ने क्रम बढेका कारण आफूहरु बाटोमा बार लगाउन बाध्य बनेको स्थानीय युवा खेमबहादुर नेपालीले बताए ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफू पनि जोगिनुपर्ने र अरुलाई पनि जोगाउनुपर्ने दायित्व भएको बताउने अर्का युवा सुनिल सुनारले लकडाउनको पूर्ण रूपमा पालना गर्न सबैलाई आग्रह गरे ।

लक डाउनका पछिल्ला दिन भरतपोखरीमा यसको पालना प्रभावकारी रुपमा हुँदै गएको छ ।