पलायन हुनबाट खेलाडी जोगाउन सुकमानको सक्रियता

पलायन हुनबाट खेलाडी जोगाउन सुकमानको सक्रियता


कमजोर आर्थिक स्थितिका कुङ्फु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङ्फुका पूर्वखेलाडी तथा प्रशिक्षक सुकमान लामाको सक्रियतामा रुपेशलाई दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

जर्मनीका नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिची मुन्वर्गको सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरिदिएका हुन् । भास र डेनियल आरोहणका लागि समय समयमा नेपाल आउने गर्छन् ।

सो घर निर्माण गर्न करिव ६ लाख रुपैयाँ लागेको बताइएको छ ।

मुख्य सहयोगकर्ता मुन्वर्ग नेपालस्थित ट्राभल फर सोल र होप फर नेपाल नामक सामाजिक संस्थामा आबद्ध छन् । सुकमानले रुपेशको कमजोर आर्थिक स्थितिबारे जानकारी गराएपछि मुन्वर्गले घर बनाइदिने चासो देखाएका थिए । मुन्वर्गकै अनुरोधमा भास र डेनियल पनि रुपेशलाई सहयोग गर्न अगाडि बढेका हुन् ।

१८ वर्षीय रुपेश उदयीमान कुङ्फु खेलाडी हुन् । एघार वर्षको उमेरमै रुपेश कुङफुमा होमिएका थिए । गत फागुन अन्तिम साता बूढानीलकण्ठमा भएको प्रथम राष्ट्रव्यापी अन्तरविद्यालय कुङ्फु प्रतियोगितामा रुपेशले आफ्नो स्पर्धामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडीको ट्रफी चुमेका थिए । फुटबलमा पनि रुची राख्ने रुपेश आफ्नो टोलीका गोलरक्षक हुन् ।

यद्यपि आर्थिक स्थिति कमजोर हुँदा प्रतिभाशाली रुपेशलाई खेलकुदबाट टाढा पुर्याउन सक्थ्यो । सोही डरले सुकमानले रुपेशलाई सहयोग गर्ने पहल गरेका हुन् । सुकमानले रुपेशका लागि घर मात्र बनाइ दिएनन्, विगत ७–८ वर्षदेखि उनको परिवारलाई रासनपानीको पनि व्यवस्था गर्दै आएका छन् ।

रुपेश हाल बुढानीलकण्ठस्थित श्री बूढानीलकण्ठ माविमा कक्षा १० मा अध्ययनरत छन् । उनी एसईई परीक्षा दिने तयारीमा छन् । रुपेशको सम्पूर्ण शैक्षिक खर्च पनि सुकमानले नै जोहो गर्दै आएका छन् ।

सुकमानले रुपेशका लागि यी व्यवस्थामा पनि मुन्वर्ग र भासको साथ रहेको बताउछन् । यि दुवै जर्मनी नागरिक र सुकमानले मिलेर अन्य १४ जनाको पनि शैक्षिक खर्च व्यहोर्दै आएका छन् । त्यसमध्ये हाल ९ जना बाल विकास तथा चार जना श्री बूढानीलकण्ठमा अध्ययनरत छन् ।

रुपेश एक महिनाको हुँदा उनको आमाको निधन भएको थियो । त्यसपछि उनको लालनपालन ७६ वर्षीय हजुरबा केशरबहादुर खतिवडा र ६५ वर्षीया हजुरआमा जानुकाले गर्दै आएका थिए । अत्यन्तै कमजोर आर्थिक स्थितिका रुपेशका हजुरबा र हजुरआमाको मुख्य पेशा गाइपालन हो ।

गाइपालनबाट उनीहरु दैनिक ५–६ माना दुध बिक्री गर्छन् । सो आम्दानीबाट गुजारा चलाउन हम्मेहम्मे नै थियो । स्कुलको शुल्क तिर्न पनि रुपेशको परिवारलाई कठिन भइरहेको थियो । आफ्नै प्रशिक्षणमा हुर्किरहेका चेलाको यस्तो दयनिय अवस्थाको ज्ञात भएपछि सुकमानले सक्दो सहयोग गर्ने अठोट गरेका हुन् ।

बूढानीलकण्ठस्थित वडा ३ मा रहेको रुपेशकै परिवारको तीन आना जग्गामा सुकमानले नयाँ घर निर्माण गरिदिएका छन् । सोही जग्गामा जीर्ण अवस्थाको पुरानो घर अहिले पनि छ । यद्यपि २०७२ को भुकम्पपछि सो पुरानो घरमा बस्न मिल्ने स्थिति छैन ।

सुकमानले पुरानो घरलाई जीर्णोद्धार गरिदिनुका साथै शौचालय र किचन पनि चाँडै बनाइदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सुकमानका अनुसार नयाँ घर तला थप्न मिल्ने गरी बनाइएकोले माथिल्लो तलामा थप दुई कोठा बनाइदिने पहल पनि भइरहेको छ ।

सुकमानले घरको साँचो हस्तान्तरण गर्नुअघि रुपेशका हजुरबा र हजुरआमालाई खादा लगाइदिए । त्यसपछि साँचो हस्तान्तरण गर्दै भने– ‘मेरो चेलाका लागि सकेसम्मको सहयोग गर्न पाएकोमा म खुशी छु । अब यो घर तपाईंहरुको हो । धेरै चिन्ता गर्नु पर्दैन । नाती (रुपेश) पनि हुर्किसकेको छ । खाइनखाई नातिका लागि धेरै गर्नुभयो अब तपाईंहरुलाई नातिले हेर्ने दिन आउँदै छ ।’

सुकमानको सो गुणपछि रुपेशकी हजुरआमाले आँसु थाम्न सकिनन् । रुपेशकी हजुरआमाले आँशु झार्दै भनिन्– ‘उहाँ सर (सुकमान) ले रुपेशका लागि त धेरै गर्नुभएको छ । नातिको खेल, शिक्षालगायतमा सरको ठूलो योगदान छ । पुरानो घर कति खेर भत्किने हो भनेर सधै चिन्ता भइरहन्थ्यो । नयाँ घर बनाइदिएर हामीलाई ढुक्कसंग बस्ने वातावरण बनाइ दिनुभयो । उहाँलाई धन्यवाद । उहाँ त हाम्राका लागि भगवानसरह नै हो ।’