बेलायती प्रधानमन्त्री कार्यालयमै ‘आइसोलेसन’मा बस्ने

बेलायती प्रधानमन्त्री कार्यालयमै ‘आइसोलेसन’मा बस्ने


बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

प्रधानमन्त्री जोनसनले आफूलाई कोरोना भाइरसका हल्का लक्षणहरू देखिएकोले आफू आफ्नै कार्यालयमा एक्लिएर बस्ने निर्णय लिएका प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले जनाएको छ ।

डाउनिङ स्ट्रीटद्वारा जारी एक वक्तव्यमा भनिएको छ, ‘इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उहाँको जाँच गरिएको र परीक्षणबाट कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।’

प्रधानमन्त्रीलाई सङ्क्रमण पुष्टि भए पनि विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोभिड–१९ विरूद्धको सङ्घर्षलाई जोनसनले नै नेतृत्व दिने सो वक्तव्यमा जनाइएको छ ।

जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै ’एकसाथ भाइरसलाई परास्त गर्ने’ बताएका छन् । उनकोे जाँच डाउनिङ स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका एएफपीले जनाएको छ ।

त्यस्तै, स्वास्थ्यमन्त्री ह्यानककलाई पनि सङ्क्रमण भएको पुष्टि भएको बेलायती अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनले पनि आफ्नै किसिमले एकान्तमा बस्ने र उपचार गराउने बताइएको छ ।

बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ भने ५७८ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् ।