पोर्चुगलमा ‘क्वारेन्टाइन’ बस्ने नेपालीको संख्यामा बृद्धि

पोर्चुगलमा ‘क्वारेन्टाइन’ बस्ने नेपालीको संख्यामा बृद्धि


  • छविलाल बगाले, यूरोप

विश्वभर फैलिएको कोरोना भाइरसको आशंकामा पोर्चुगलमा २० नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । उनिहरुलाई संक्रमणको आशंकामा स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेको हो ।

यसअघि फारोस्थित एक कृषि कम्पनीमा कार्यरत तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको थियो भने बिहीबार मात्रै ओदिमेरास्थित कृषि फार्ममम कार्यरत १७ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । १७ नेपालीलाई साओ तेतोनियो विद्यालयको खेल प्यभिलियनमा निर्माण गरिएको क्वारेन्टाइन शिविरमा राखिएको छ भने अन्य २ जना भारतिय नागरिकलाई ‘सेल्फ क्वारेन्टाइन’ मा राखिएको बुझिएको छ ।

एउटै कम्पनीमा काम गर्ने अन्दाजी ४६ बर्षिय एक भारतीय नागरिकमा कोरोनाको संक्रमण देखिएको बताइएको छ । संगै बस्ने भारतीय नागरिक संक्रमित भएपछि नेपालीहरु भागेको र स्थानीय प्रशासनले आशंकामा सबैलाई क्वारेन्टाइनमा राखिएको बुझिएको छ ।

अवज्ञा गर्ने आप्रवासी, जनही ६ हजार युरो जरिवाना

पोर्चुगल सरकारले क्वारेन्टाइनको अवज्ञा गर्ने जो कसैलाई पनि नछाड्ने बताउँदै गर्दा ४ जना आप्रवासीलाई जरिवाना तोकेको छ । सरकारले उनिहरुलाई जनही ६ हजार यूरो जरिवाना गरेको हो ।

उनिहरुले क्वारेन्टाइनको अवज्ञा गर्दै भागेका थिए । अवज्ञा गर्नेहरुमा १९ देखि ४६ बर्ष उमेरका रहेको स्थानीय प्रहरीले जनाएको छ । राज्यले गरेको आपतकालिन घोषणाको अवज्ञा गरेको भन्दै पीएसपी प्रहरीले उनिहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । अदालतले पनि पक्राउ परेका ४ जनामध्ये २ जना रोजगारदातालाई जनही ६ हजार युरो र बाँकी २ जना श्रमिकलाई जनही एकहजार ८ सय युरो जरीवाना तोकेको छ । जरिवानामा पर्ने २ जना रोजगारदाता रहेका छन् भने अन्य २ जना श्रमिक भएको बताइएको छ ।

मृत्यु हुनेको संख्या थपिँदै

वल्र्डसओमिटरका अनुसार पोर्चुगलको स्थानीय समय १ बजेर १५ मिनेट जाँदासम्म ७६ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको संक्रमणका कारण बिहीबार ६० जनाले ज्यान गुमाएकोमा अर्को २४ घन्टाभित्र थप १६ जनाको ज्यान गएको हो । अहिलेसम्म पोर्चुगलमा कोरोनाको संक्रमित हुनेको संख्या ४ हजार २ सय ६८ पुगेको छ । सरकारले यसअघि अप्रिल २ तारिखसम्म आपतकालिन समय घोषणा गरेपनि संक्रमण बढ्दै गएकाले आगामी अप्रिल १६ तारिखसम्मका आपतकालिन समय थप गरिएको अधिकारीहरुले जनाएका छन् । पोर्चुगलमा एक नेपाली संक्रमणकै कारण उपचारका क्रममा छन् ।