सरकार र जनतासँग नेता शाहीको अपिल

सरकार र जनतासँग नेता शाहीको अपिल


नेपाली काङ्ग्रेसका नेता एवम् कर्णाली प्रदेशका सांसद तथा विपक्षी दलका नेता जीवनबहादुर शाहीले विश्वभरि नै महामारीको रूप लिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि आत्मसंयमताका साथ सावधानी र सचेतना अपनाउन सबैमा अनुरोध गर्नुभएको छ ।

हाल कर्णाली प्रदेशमा त्यस्तो कुनै खतरा नदेखिए पनि सम्भावित जोखिमको नियन्त्रणका लागि हामी सबैले पूर्वतयारी गर्नु अति आवश्यक रहेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहेका शाहीले सिङ्गो मानव जगत कोरोना भाइरससँग जुधिरहँदा कर्णाली प्रदेश सरकारले प्रकोप रोकथामका लागि गरेका समिति बनाउने, क्वारेन्टाइन निर्माण गर्ने, प्रतिकार्यमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, प्रदेशका नाकामा हेल्थ डेस्क राख्ने जस्ता कार्यको सह्राहना गर्नुभएको छ ।

तथापि, समिति बनाएर वा यति मात्र प्रयासले महामारीको रुप लिएको कोरोना भाइरसबाट जोगिन सक्ने आधारहरू नदेखिने उहाँको ठहर छ । नेता शाहीले भन्नुभएको छ– ‘यस विषम परस्थितिमा कारोना भाइरसको रोकथाम तथा बिरामीहरूको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको स्वास्थ्य–सुरक्षामा ध्यान दिइ राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित तवरले प्रभावकारी परचिालन गर्न, औषधीलगायत स्वास्थ्य सुविधा लागि संघीय सरकार तथा कार्यान्वयका लागि स्थानीय तहसँग समन्वय गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउँदछु ।’

कर्णाली प्रदेश सबैभन्दा बढी दैनिक ज्यालाजदुरी गरी जीवनयापन गर्ने वासिन्दाहरूको बाहुल्य भएको प्रदेश हो भन्दै नेता शाहीले देश लकडाउनको अवस्थामा रहँदा सबैभन्दा बढी मार यी वर्गले भोगिरहनु परेको उल्लेख गर्नुभएको छ । शाहीद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विपन्न तथा दैनिक ज्यालामजदुरीमा निर्भर कर्णाली प्रदेशका वासिन्दाको दैनिक उपभोग्य वस्तुमाथि सहज र सर्वसुलभ पहुँच एवं उपलब्धता तथा यस्ता समुदाय, वर्गको जीवननिर्वाह, स्वास्थ्यसेवाका लागि विशेष आर्थिक प्याकेज घोषणा गरी जिम्मेवारीपूर्वक सरकार अघि बढोस् ।’

कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा भएसँगै भारतका विभिन्न स्थान र राजधानी काठमाडौंलगायतका स्थानहरूबाट घर जाने क्रममा नेपालगंज, सुर्खेतलगायतका स्थानमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका प्रदेशभित्रका कयौँ विद्यार्थी तथा नागरिकहरूकोे प्रारम्भिक स्वास्थ्यजाँच, सुरक्षा र उद्धार गर्न सरकारसँग विज्ञप्तिमार्फत् माग गरिएको छ ।

यो अवस्था एकअर्काप्रति हिलो छयाप्ने नभई सबै एकजुट भइ महामारीका विरुद्ध लड्ने समय भएको भन्दै उहाँले सरकारले बोल्ने कम र काम बढि गर्ने संस्कारको विकास गर्नुपर्ने औंल्याउनुभएको छ । साथै, कोरनाविरुद्धको लडाईं सबै मिलेर लड्नुपर्ने भएकाले सजगता अपनाउनका लागि जनतासँग पनि नेता शाहीले अपिल गर्नुभएको छ ।