भोका बालबालिकाको नाममा जोलीको सहयोग

भोका बालबालिकाको नाममा जोलीको सहयोग


■ विकास रौनियार

यतिबेला विश्वका दुई सय देश कोरोना भाइरसको चपेटामा परेका छन् । संक्रमित हरेक देशका सरकार यस महामारीबाट आफ्नो देशका जनतालाई धेरै क्षति नहोस् भन्ने तयारीमा जुटिरहेका छन् ।

यस क्रममा हरेक देशलाई त्यहाँका सेलिब्रेटीहरूले पनि साथ दिँदै छन् । जसमध्ये चर्चित हलिउड अभिनेत्री एन्जिलिना जोलीको नाम पनि अगाडि आएको छ । उनले गरिब बालबालिकाको सहयोगार्थ एक एनजिओमार्फत् एक मिलियन डलर अर्थात् १२ करोड ११ लाख २४ हजार रकम सहयोग गरेकी छन् ।

अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार जोलीले ‘नो किड हङ्ग्री’ नामक संस्थालाई उक्त सहयोग प्रदान गरेकी हुन्, जसले स्कुलमा दिइने पोषणयुक्त खानेकुरामा निर्भर रहेका बालबालिकाका लागि काम गरिरहेको छ ।

भारी रकम सहयोग प्रदान गर्दै जोलीले भनेकी छन्, “यो रकम स्कुलमा खुवाइने पोषणयुक्त भोजनमा मात्रै निर्भर रहेका बालबालिकाको पोषणयुक्त भोजनमा नै खर्च गरियोस् ।”

एन्जिलिनाका साथै रिहाना, शन मेन्डिज, रायन रेनल्ड्स र ब्लेक लाइभलीजस्ता चर्चित हलिउड कलाकारहरूले पनि महामारीको मारमा परेकाहरूको स्वास्थ्यका लागि सहयोग गरेका छन् ।