कोरोना प्रभाव : सिड्नीमा खस्कँदै नेपालीका ब्यापार

कोरोना प्रभाव : सिड्नीमा खस्कँदै नेपालीका ब्यापार


■ राजन घिमिरे

कोभिड–१९ को सङ्क्रमणबाट यतिबेला अष्ट्रेलिया पनि अछुतो रहेको छैन । विशेष गरेर अष्ट्रेलियाको हस्पिटालिटी र ट्राभल्स ऐजेन्सी क्षेत्र कोरोना भाइरसको बढ्ता मारमा परेको देखिन्छ । यस व्यवसायमा नेपालीहरूको लगानी र उपस्थिति पनि बाक्लै छ । सिड्नीमा रही यी व्यवसायमा लगानी गरेका र लागिपरेका नेपालीहरूको अवस्था अहिले उराठलाग्दो बन्न पुगेको छ ।

लामो समयदेखि ट्राभल्स ऐजेन्सी सञ्चालन गर्दै आएका एभरेष्ट ट्राभल्स एण्ड टुर्सका इरसाद अहमद आफ्नो पेशा सबैभन्दा बढी मारमा परेको बताउँछन् । सिड्नीनिवासी इरसाद भन्छन्– ‘हाम्रो काम नै हवाइजहाजको टिकट बेच्ने हो । हवाइजहाज उड्नबाटै बञ्चित भएपछि पेशा धरापमा नपर्ने त कुरै भएन !’ आफ्नो अवस्था सुध्रन अब धेरै समय लाग्ने दुःखेसो गर्छन् उनी ।

विशेष गरेर सिड्नीमा नेपालीहरूले सञ्चालन गरेको फङ्सन सेन्टर र हस्पिटालिटी ब्यावसाय मारमा परेको देखिन्छ । सिड्नीको रगडेलमा रहेको इन्द्रेणी र झरना फङ्सन सेन्टरका सञ्चालक लक्ष्मण सापकोटा कार्यक्रम नै नभएपछि आफ्नो सेन्टर बन्द हुन पुगेको बताउँछन् ।

‘यो दुई फङ्सन सेन्टर र सिड्नीको कोग्रामा रहेगो क्याफेको लागि मैले महिनामा ५० हजार अष्ट्रेलियन डलर खन्याउनु पर्छ । अब त्यो रकमको म्यानेज गर्न गाह्रो छ । फङ्सन नचल्दा कर्मचारी र सञ्चालकसबै मारमा परेका छौँ’– लक्ष्मणले भने ।

नेपालीहरूको भिड हुने सिड्नीको रगडेलस्थित ‘असनबजार ग्रोसरी’लाई पनि अमित श्रेष्ठले जेनतेन चलाइरहेका छन् । पसलमा ग्राहक आउन हिच्किचाउन थालेपछि अमितले नेपालीहरूका लागि होम डेलिभरीको पनि ब्यवस्था गरेका छन् । सप्लायर्सहरूले सामान ल्याउन नमानेपछि अमितले आफै सप्लायर्ससम्म पुगेर पसलको लागि सामान ल्याउने गरेका छन् । ‘हामीले सकेसम्म पसलमा आएकाहरूलाई हात खाली पठाएका छैनौँ’, उनले भने । अमितको यो साथ–सहयोगको यतिबेला सिड्नीमा रहेका नेपालीहरूले प्रशंसा गरेका छन् ।

अष्ट्रेलियन उत्पादनहरूको मूल्य नबढेता पनि बाहिरबाट आउने चामल, दाल र तेललगायतका सामानको भाउ बढेकोमा अमित पनि चिन्तित छन् । उनी भन्छन्– ‘दुई हप्तामै भाउ डबल बढेको छ । यो मारमा हामी सबै परेका छौँ ।’

यता रगडेलमा नै रहेको सनराइज ग्रोसरी एण्ड मिट पसलका सुरज पनि नेपालीहरूलाई सेवा दिन लागिपरेका छन् । ‘सामान सकेसम्म पुऱ्याउने सोच र योजनामा छौँ । हामी सहमतिका साथ बाँचुँड गरेर अगाडि बढ्नुपर्छ’– सुरजले भने । आफ्ना पसलमा आएका नेपालीहरूको आवश्यकता पूरा गर्नेतर्फ आफूहरू दत्तचित्त भएर लागेको उल्लेख गर्दै उनले सकभर सामानको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

रगडेलस्थित रविबाबु कार्कीको ‘मम मी’ क्याफे पनि बन्द छ यतिबेला । नेपाली चिया, मम र चाउमिनका लागि चर्चा कमाएको मम मी क्याफे विदेशीहरूका निम्ति पनि आकर्षणको स्थल थियो । ‘कोरनाका कारण अहिले हामी बन्द अवस्थामा छौँ । सरकारले रेष्टुरेन्ट र क्याफेबाट टेक वे मात्र बेच्न मिल्ने नियम बनाएपछि हामीबाट यो सम्भव भएन र बन्द गऱ्यौँ’– रविले जानकारी दिए ।

उनका अनुसार ‘टेक वे’ माग्नेहरूले पनि स्वास्थ्यका कारण माग नगर्ने भएपछि बन्द गरिएको हो । ‘ टेक वे तयार पार्न कर्मचारी राख्दा उनीहरुको खर्च पनि उठ्न गाह्रो हुने र सामानको भाउ पनि बढेकोले क्याफे सञ्चालन गर्न सक्ने अवस्थामा हामी रहेनौं । अहिले क्याफेको भाडा तिर्न बाध्य छौँ । ब्यापार सून्य छ’, रविले थपे ।

नेपाली टिपिकल खानाको लागि सिड्नीको रगडेलमा नाम कमाएको शुभकामना रेष्टुरेन्ट पनि यतिबेला बन्द छ । ग्राहकहरु आउन कम हुन थालेपछि यसका सञ्चालक रूद्र पहाडीले शुभकामनालाई बन्द गरेका हुन् । ‘यहाँ काम गर्ने कर्मचारीहरू पनि नेपाली नै हुन् । यतिबेला उनिहरूको रोजगारी पनि खोसिएको छ । हामी सबैको सल्लाह र सहमतिमा रेष्टुरेन्ट बन्द गरेका हौँ’, रुद्रले भने– ‘अबस्था चाँडै सुध्रने आशामा छौँ, हेरौँ के हुन्छ ।’

यतिबेला सिड्नीमा नेपालीहरूले सञ्चालन गरिरहेको कफी ड्रब, मम हाउस, मुग्लान, लाल्टिन, एभरेष्ट सेकुवा, एडिज किचन, हिसिला खाजा घर र डि क्याफे जस्ता रेष्टुरेन्ट र क्याफेहरूको अवस्था पनि सुखद छैन । कसैले कर्मचारी घटाएका छन् भने कसैले टेक वेलाई प्राथमिकता दिएका छन् । विशेष गरेर नेपाली र विदेशीहरूको राम्रै जमघट हुने यी क्याफे र रेस्टुरेन्टहरूले जेनतेन आफ्नो यात्रा अगाडि बढाइरहेका छन् । भनिन्छ नि, मर्नुभन्दा बौलाउनु निको !