आउनुहोस्, एकान्तवासमा जीवन खोजौँ !

आउनुहोस्, एकान्तवासमा जीवन खोजौँ !


■ प्रा.डा. युवराज सङ्ग्रैला

इतिहास भन्छ– रोमन साम्राज्यका निरो नाम गरेका तानाशाही सम्राट आफ्नै शहर आगोले जलेको थाहा पाएर पनि बिन्दास भएर बाँसुरी बजाइरहेका थिए रे !

आज पूरै इटाली तहसनहस भैरहेको रमिता हेरेर कतै अदृश्य महाशक्ति भनौँ या प्रकृति भनौँ… मुसु–मुसु हाँस्दै काल–घण्टा अर्थात् ‘डेथ–बेल’ बजाइरहेको त छैन ?!

महामारीको आगोमा सर्लक्कै लपेटिएर लाखौँ मानिसहरू छट्पटाइरहेको बेला आफू भने स्वर्गका राजा इन्द्रले झैं मेनका र अप्सराहरूको नाच हेर्दै अजम्बरी अमृतपान गरिरहेको त छैन ?

भो छाडीदिउँ यी अनुमानका कुरा ! बरु गरौँ आजको तितो यथार्थका कुरा । अनि त्यही तितोभित्रका उज्याला कुरा ।

सबै–सबै त एकान्तबासमा गएका छन्, नजरबन्दमा परेका छन् । आउनुस् तपाईं–हामी पनि एकान्तवासमा जीवन खोजौँ !

बाहिर जान नपाएर के भो’त ? आफ्नो अन्तर्मनभित्र छिरौँ, अनि आफैंभित्र आफु हुनुको अर्थ खोजौं ।

बन्द कोठाको सुनसानभित्र ‘ॐ कार’को ध्वनि खोजौँ, ‘सत्यम् शिवम् सुन्दरम्’को अन्तर्निहीत मर्म खोजौं ।

जिन्दगीको लगातारको दौडमा रेल गाडी कुदेजस्तै भागाभाग गर्दागर्दै बाँच्ने कला नै बिर्स्यौँहोला हामीले ।

आउनुस्, सत्य–शास्वत वाणी खोजौं, आफुभित्रको प्राणी खोजौं, अन्धकार रातपछिको बिहानी खोजौं, हामीभित्रको ‘म’ अनि ‘म’भित्रको ‘हामी’ खोजौं ।