आशावादी अमेरिकन : विश्वको ध्यान अमेरिकातिर

आशावादी अमेरिकन : विश्वको ध्यान अमेरिकातिर


■ अनिलभक्त खरेल

विश्वमा प्रत्येक वर्ष सानातिना नयाँ रोगहरू नितरन्तर देखापरे पनि कोरोना जस्तो महामारी चाहिँ हरेक सय वर्षको अन्तरालमा आउने गरेको इतिहासबाट प्रष्ट हुन्छ । पहिला अन्य नामधारी महामारीले विश्वलाई दुःख दियो, अहिले कोरोना नामधारीले सास्ती दिँदैछ, फरक यत्ति हो । यस्ता महामारी निरन्तर चलिरहेका छन् र चल्नेछन् ।

रोग आएपछि ढिलो–चाँडो त्यसको रोकथाम भैरहेका छन् र हुन्छन् पनि । विज्ञहरू यसमा निरन्तर लागेका थिए र लागिरहेकै छन्– मानव अस्तित्व जोगाउन । नयाँ रोग सँगसँगै नयाँ–नयाँ दबाइ खोज्ने काम पनि निरन्तर चलिरहेका छन् । यदि पृथ्वीबाट मानव जाति लोप हुने बेला भइनसकेकै हो भने यसको दबाई यथासक्य चाँडै पत्ता लाग्नेछ । हामीहरू दबाई आउने आशामा बाँचौँ ।

जसरी हामी भोलिको सुनौलो संसारका लागि भनेर आज दुःख गरिरहेका छौँ, दुःखपछि सुख आउने आशामा बाँचिरहेका छौँ, हो त्यसरी नै बाँचौँ रोग लागे पनि त्यसको दबाई पाइने आशामा । रातपछि दिन आउनेको प्रतिक्षामा बाँचौँ । हिम्मत नहारौँ, हिम्मत हारियो भने हामीमा रोगसँग लड्ने क्षमता नै बाँकी रहँदैन उल्टै रोगले नै सधैंको लागि लडाउँछ । हो, यस लोकमा जन्मेपछि सबैले एकदिन मर्नैपर्छ तर एकदिन मरिने नै हो भन्दै आजैबाट खुट्टा तन्काउने हो भने यो सारा संसार कसरी चल्छ ?

गाडी दुर्घटना भएर मरिन्छ, हवाइजहाज दुर्घटना भएर मरिन्छ, पानीजहाज दुर्घटना भएर मरिन्छ भनेर सबै घरभित्र चुकुल लगाएर बसे भने यो संसार कसरी चल्छ ? हो, गाडी चलाउँदा सचेतना अपनाउने आफ्नो कारण कम दुर्घटनाको सम्भावना रहन्छ, तर अर्कोले आएर सिधै दुर्घटना गराए के पो नै गर्न सकिन्छ र ? त्यस्तै हो कोरोनारूपी महामारी पनि । कि खाने मुख सिलाएर बस्नु पर्‍योे । सचेतना नअपनाउने हो भने घरभित्र लुकेर मात्र समाधान हुन्न । मिति पुगेकै हो भने जहाँ लुके पनि केही लाग्दैन ।

यदि लुकेर बसेर बाँचिने हो भने राजा परीक्षित सर्पले डसेर मर्नुपर्ने थिएन । ७ दिनभित्र सर्पले डसेर मर्ने श्राप पाएका राजा परीक्षित दरबारमा सात घेरा पहरेदार राखेर सर्प आउने सबै मार्ग बन्द गरेर बस्दा पनि एउटा फलको दानाभित्र सर्प लुकेर बसी राजाले त्यो फल खान खोज्दा मर्नु परेको हाम्रो हिन्दु धर्मशास्त्रमा पढ्न पाइन्छ । त्यसै भनिएको हैन, हुने हार दैव नटार भन्निछ । डराएर समस्या समाधान हुँदैन ।

कोरोना जस्ता यस्ता महामारीले हरेक सय वर्षमा विश्वका मानवजातिलाई तर्साइरहेको छ । सन् १७२० मा सारा विश्वमा प्लेग फैलिएको थियो । सो रोग फैलिएको १ महिनामा नै ५० हजार र अरु ५० हजार २ वर्षका अवधिमा मारिए । आजभन्दा ३ सय वर्ष अगाडि झण्डै १ लाख मर्नु चानचुने कुरा होइन । सो महामारीले युरोपलाई नै बढी असर गरेको थियो ।

त्यस्तै, सन् १८२० मा कलेरा महामारीको रुपमा देखा पर्‍योे । उक्त महामारीका कारण पनि १ लाख मानिस मारिएका थिए । यस महामारीले एसियाली मुलुकलाई बढी असर पारेको थियो । सय वर्ष अगाडि अर्थात् सन् १९२० मा स्पेनिस फ्लुका कारण विश्वमा ५ करोड मानिस मारिएको बताइन्छ । सो रोग नियन्त्रण गर्न २ वर्ष लागेको थियो । अहिले चीनबाट सुरु भएको कारोना भाइरसले आजका दिनसम्म विश्वका १९५ राष्टका ५ लाख भन्दा बढी संक्रमित भैसकेका र २२ हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ । शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै ७० हजारभन्दा बढी संक्रमति र झण्डै ११ सयको हाराहारीमा मानिसको मृत्यु भैसकेको छ । झण्डै ३५ हजार जति संक्रमित र ४ सयको हाराहारीमा मृत्यु न्युयोर्कमा मात्रै भैसकेको छ ।

अमेरिकाभरि अहिले दिनको तीन सयको हाराहारीमा मानिसले मृत्युवरण गरिरहेका छन् । भर्खरै अमेरिकी सरकारले २ खर्ब डलरको राहतको प्याकेज पनि ल्याएको हुनाले अबको २ सातापछि अमेरिकामा मर्नेको गति कम हुने आँकलन गरिँदो छ । संक्रमितको तुलनामा मर्नेको संख्या कम हुने आशामा अमेरिकी जनता आश्वस्त छन्, सरकारको पछिल्लो राहत प्याकेजका कारण ।

कोरोना भाइरस नियन्त्रण राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि चुनौती र अवसरको रूपमा देखापरेको छ । यदि मृत्युदर कम गराएर रोकथाम गर्न सफल भए भने अमेरिकामा मात्र हैन कि विश्वमा डोनाल्ड ट्रम्प हाई–हाई हुनेछन् । विश्वको ध्यान अहिले अमेरिकातिर छ । अस्तु ।

(भर्जिनिया, अमेरिका)