नेपालले खेल्ने नामिबिया सिरिज स्थगित

नेपालले खेल्ने नामिबिया सिरिज स्थगित


■ विक्रम गिरी, काठमाडौं

नेपालले नामिबियामा खेल्ने भनिएको एकदिवसीय सिरीज स्थगित भएको छ । कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग-2 अन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आगामी जुन ३० तारिखसम्मका लागि नामिबिया सिरिजलगायत सबै प्रतियोगिता स्थगित गरिएको जनाएको छ । आइसीसीले यसअघि नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सातौँ चरणको त्रिकोणात्मक सिरिज आगामी वैशाख ८ देखि १५ गतेसम्म गर्ने तालिका सार्वजनिक गरेको थियो । विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले उक्त सिरिज स्थगित गर्नुपरेको आइसीसीले बिहीबार (१३ चैत) प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।

यस्तै, आइसीसीले लिग दुईअन्तर्गतकै पपुपा न्यू गिनीमा हुने भनिएको नेपाल, पपुवा न्यू गिनी र युएईबीचको सिरिजसमेत स्थगित गरेको छ । आठौँ चरणको उक्त त्रिकोणात्क सिरिज आगामी जुन ९ देखि १६ तारिखसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । आइसीसीले यसअघि नै चैत १९ देखि २६ गेतसम्म हुने भनिएको लिग दुईअन्तर्गतको छैटौँ चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् (युएई) र स्कटल्याण्ड बीचको सिरिज रद्द गरिसकेको छ ।

कोरोना भाइरसका कारण युएईको दुबईस्थित आइसीसीको मुख्यालयसमेत अहिले बन्द छ । स्थगित भएको सिरिज आगामी सेप्टेम्बरमा गर्ने आइसीसीले जनाएको छ । आइसीसी विश्वकप लिग दुई सन् २०२२ सम्म सञ्चालन हुनेछ । लिग दुईमा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यू गिनी छन् । प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन् ।

लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् । नेपालले गत माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग दुईको पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो । उक्त सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकासितका दुवै खेल जितेको थियो ।

नेपालले हालसम्म खेलेका चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ । लिग दुईमा हालसम्म ओमान शीर्ष स्थानमा छ । ओमानले खेलेका १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अङ्क बटुलेको छ । लिगको दोस्रो स्थानमा अमेरिका रहेको छ । उसले १२ खेलमा छ मा जित तथा छ मा हारसँगै १२ अङ्क बनाएको छ । यस्तै स्कटल्याण्ड आठ खेलमा चारमा जित तथा तीनमा हारका तेस्रो स्थानमा छ । नामिबिया सात खेलमा चारमा जित तथा तीनमा हारका साथ चौथो स्थानमा छ । युएई सात खेलमा तीनमा जित तथा तीनमा हार ब्यहोर्दै लिगको पाँचौँ स्थानमा छ ।

नेपाल चार अङ्क बटुल्दै छैठौँ स्थानमा छ भने पपुवा न्यू गिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कबिहीन अवस्थामा छ । आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । आइसीसी लिग दुई सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।

टी ट्वान्टी विश्वकपको एसिया छनोट ‘बी’ स्थगित

यस्तै, आगामी जुन २६ देखि जुलाई २ ताारिखसम्म मलेसियामा हुने आइसीसी पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोट ‘बी’ प्रतियोगितासमेत अनिश्चितकालका लागि स्थगित गरिएको आइसीसीले जनाएको छ । उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डले खेल्ने तालिका तय गरिएको थियो ।

rss