‘लकडाउन’ प्रभाव : सुनसान कपिलवस्तु

‘लकडाउन’ प्रभाव : सुनसान कपिलवस्तु


■ एस. क्षेत्री, कपिलवस्तु

लकडाउनको तेस्रो दिन आज (१३ चैत) पनि कपिलवस्तुसहित देशभरका शहर सुनसान छन् । कपिलवस्तुको तौलिहवा, जितपुर चार नम्बर, गोरुसिङे, महाराजगंज, चन्द्रौटा, पकडी, बहादुरगंज मर्यादपुर, कृष्णनगरलगायतका स्थान सुनसान रहेको छ ।

सरकारको निर्देशनको पूर्ण पालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् ।

सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ ।

लकडाउनका कारण कपिलवस्तु सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । उनीहरु पसलमा जाँदा पनि मास्क लगाएर गएको देखिन्छ ।

लकडाउनलाई कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । उनीहरुले आफ्नो सुरक्षाका लागि मास्क लगाएका छन् । कतिपय स्थानमा सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गर्दै आएका छन् ।

लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

शहरी क्षेत्रमा मात्र नभई गाउँका बासिन्दाले पनि लकडाउनमा साथ दिएका छन् । गाउँका मानिसहरु आफ्नो घर आँगमै सीमित छन् ।