टोकियो ओलम्पिक अर्को वर्ष, नाम ‘टोकियो ओलम्पिक-२०२०’ नै रहने

टोकियो ओलम्पिक अर्को वर्ष, नाम ‘टोकियो ओलम्पिक-२०२०’ नै रहने


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

टोकियो ओलम्पिक–२०२० एक वर्ष पछाडि धकेलिने भएको छ । कोरोना भाइरस महामारीका कारण अन्यौलमा पर्दै आएको ओलम्पिक अब यो वर्ष नहुने भएको हो ।

जापानी प्रधानमन्त्री शिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस ब्याचबीच गत मंगलबार ओलम्पिक अर्को वर्ष गर्ने बारे सहमति जुटेको हो । सहमतिपछि पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री आबेले यो वर्षको जुलाई २४ बाट टोकियोमा हुने भनिएको ओलम्पिक तथा प्यारा ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको र जसअनुसार अर्को वर्षको गृष्ममा गरिने सहमति भएको जानकारी दिए ।

चार वर्षको एकचोटि हुने यो अन्तर्राष्ट्रिय खेलकुद महामेलाको १ सय २४ वर्ष लामो इतिहासमा ओलम्पिक खेल निर्धारित मितिबाट पछाडि धकेलिएको यो पहिलो पटक हो ।

प्रधानमन्त्री आबे र अध्यक्ष ब्याचबीच भिडियो कन्फेरेन्समार्फत ओलम्पिक पछाडी सार्ने टुंगोमा पुगेका हुन् । भिडियो कन्फेरेन्समा टोकियो ओलम्पिक – २०२० आयोजक कमिटीका अध्यक्ष योशिरो मोरी, टोकियो गभर्नर युरिको कोइके, जापान ओलम्पिक मन्त्री सेइको हाशिमोतो लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा टोकियो गभर्नर कोइकेले ओलम्पिकको नाम अझै पनि टोकियो ओलम्पिक–२०२० नै रहने जानकारी दिइन् ।

कोरोना महामारीको कारण देखाउँदै क्यानेडियन ओलम्पिक कमिटीले साबिकै बमोजिमको तिथिमितिमा ओलम्पिक भएमा क्यानडाले भाग नलिने यसअघि नै घोषणा गरिसकेको थियो ।

कोरोना महामारीका कारण विश्वभरिबाट हालसम्म ३ लाख ८० हजारभन्दा बढि संक्रमित भइसकेका छन् भने १६ हजार जनाको ज्यान गइसकेको छ ।