‘लकडाउन’मा तस्करी हुँदै गरेका दश गोरु ट्रकमै च्यापिएपछि…

‘लकडाउन’मा तस्करी हुँदै गरेका दश गोरु ट्रकमै च्यापिएपछि…


■ एस क्षेत्री, कपिलवस्तु

विजयनगर कपिलवस्तुको शिवराज नगरपालिकाबाट दश वटा मृत अवस्थाका गोरुसहित एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिकाको वडा नं. १ बनकसबासाबाट मृत गोरु लोड भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

ना ४ ख २९८४ नम्बरको ट्रकमा एउटा गोरु जिउँदो र १० वटा मरेको फेला परेको प्रहरीले जनाएको छ । भेटनरीले चैत्र १३ गते चलानी गरेको र पशु क्वारेन्टाइनले छाप लगाएको रसिदसँगै रहेको जनाइएको छ । सरकारले लकडाउन गरेको अवस्थामा लैजान नसकेर र ट्रकमा गोरु ओभरलोड भएको कारण च्यापिएर दश वटा गोरु मरेको हुन सक्ने इलाका प्रहरी कार्यालय गणेशपुरको भनाई छ ।

बताइएअनुसार विजयनगर गाउँपालिकाको वडा नं. ४ बरगदवामा भन्ने ठाउँमा जिउँदोलाई झारी मरेको गोरुलाई गाड्ने क्रममा स्थानीयले देखेपछि लखेटेका थिए ।

तस्करले ट्रक लिएर सुन्दरीडाँडा, तुरुन्तपुरु, शिवपुर हुँदै भागेको ट्रकलाई बनकसवासाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । यता स्थानीयवासीलाई सम्पर्क गर्दा प्रहरी चौकी जगदीशपुरको मिलोमतोमा तस्करले मरेको गोरुलाई गाड्न लागेको आरोप लगाएका छन् । जगदीपुरबाटै जेसीवी ल्याई गाड्न लागेको र स्थानीयले गाड्न नदिएपछि विवाद उत्पन्न भएको थियो । विवादपछि ट्रक लिएर भागेको स्थानीयको दाबी छ ।

विगत केही महिनादेखि यो ठाउँलाई ओसारपोसारको केन्द्र बनाएको स्थानीयका अनुसार खुल्न आएको छ । यता इलाका प्रहरी कार्यालय गणेशपुरलाई सम्पर्क गर्दा प्रहरीको केही संग्लता नरहेको र थाहा पाउने वित्तिकै घटनास्थलमै पुगी नियन्त्रणमा लिएर कारवाहीका लागि पशुसम्बन्धी कसूरअन्तर्गत मुद्धा चलाइने गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो । बाराको निजगढ बस्ने चालक कमल मगरले ती गोरु दाङको तुल्सीपुरबाट हेटौँडा लैजान लागेको बताएका छन् ।