‘मस्तिष्कका रसायन खलबलिनबाट बचौँ’

‘मस्तिष्कका रसायन खलबलिनबाट बचौँ’


■ अजय गोर्खाली

विगत ४२ वर्षदेखि स्वास्थ्य क्षेत्रका अनुभवी डाक्टर हुन्– महेन्द्रराज न्यौपाने । पछिल्लो दुई दशकयता मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत छन् । बंगलादेशबाट एमबीबीएस, भारतको निम्हाल्सबाट साइकियाट्रीमा डीपीएम र भारतबाटै अल्कोहल एन्ड ड्रग यवुजमा पीजीटी गरेका उनले शुरुमा वीर हस्पिटलमा मेडिकल अफिसरको रूपमा सेवा सुरु गरेका हुन् । त्यसपछि स्याङ्जा अस्पताल, लमजुङ अस्पताल, त्रिशूली अस्पतालमा काम गरेर दुई वर्ष साइकियाट्री अध्ययनका लागि गएका थिए । तत्पश्चात् आएर लगनखेलको मेन्टल हस्पिटलमा काम गरे । वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञका रूपमा भरतपुर अस्पतालमा १६ वर्ष काम गरेर रिडायर्ड भएको अहिले तीन वर्ष भयो । अहिले भरतपुरको हेल्प नेपाल मानसिक अस्पताल र सगरमाथा मेडिकल हलमा उनी सेवारत छन् । प्रस्तुत छ डाक्टर न्यौपानेसँगको कुराकानीको सम्पादित अंश :

० मनोरोग कस्तो किसिमको रोग हो ?
– जसरी शरीरका विभिन्न अङ्गहरू जस्तै कलेजो, मिर्गौला, फियो, आन्द्रा अथवा पेटमा गडबडी भएर शारीरिक रोगहरू देखापर्दछ त्यस्तै मन र मस्तिष्कमा जब गडबडी हुन्छ, तब मानसिक रोग देखापर्दछ । मान्छेले आफ्नो मनलाई थाम्न सकेन भने पनि मनोरोग हुन जान्छ । मस्तिष्कमा गडबडी भयो भने मानिसको सोचाइ, आभास, व्यवहार, बोलीचाली, खानपिन, निद्रा इत्यादि बिग्रन सक्छ, त्यस्तो भयो भने हामी त्यसलाई मानसिक रोग भन्दछौँ । मस्तिष्कमा धेरै किसिमका रसायन हुन्छन्, ती रसायन घट्न पनि हुँदैन, बढ्न पनि हुँदैन, ब्यालेन्समा बस्नुपर्छ, त्यसो भएन भने मानसिक समस्या देखिन थाल्छ । कोही मान्छेलाई साह्रै चिन्ता अथवा तनाव धेरै भयो भने मनलाई सन्तुलनमा राख्न सक्दैन, जसले गर्दा मस्तिष्कका रसायनहरू खलबलिन सक्छ । वंशमा कसैलाई मानिसक रोग छ भने पनि अर्काेमा जान सक्छ । लागूपदार्थ, मादकपदार्थको दुर्व्यसनले पनि मस्तिष्कमा गडबडी भएर मानसिक रोग उत्पन्न हुन जान्छ ।

० यो रोग कति प्रकारका हुन्छन् ?
– मुख्य गरी दुई प्रकारको हुन्छ । तर, यसका शाखाहरू त धेरै छन्, झन्डै तीन सयजति । तर, यसको भागचाहिँ मुख्य दुई किसिमको हुन्छ । एउटा कडाखाले, अर्काे सामान्यखाले । कडाखाले भन्नाले वास्तविक संसारबाट सम्बन्ध टुटेको हुन्छ, यो थोरै मानिसलाई हुन्छ । तर, सामान्यचाहिँ बिनाकारण छटपटी हुने, टाउको दुख्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, झ्यालढोका लगाएको बन्द कोठामा डराउने, एउटै कुरा बारम्बार मनमा आइरहने, एउटै कुरा बारम्बार गरिरहने जस्तै बारम्बार हात धोइरहने, एउटै कुरालाई बारम्बार चेकिङ गर्ने, हिस्टोरिया इत्यादिचाहिँ सामान्यखाले हो र यस्तो धेरै मान्छेलाई हुन्छ । सामान्य र कडाखाले दुवैलाई निको पार्न सकिन्छ । कडाखालेलाई चाहिँ लामो समय औषधि खानुपर्ने हुन सक्छ भने सामान्यलाई केही महिना, केही वर्ष औषधि खाएपछि निको हुन्छ ।

० मनोरोगका लक्षण के–कस्ता हुन्छन् ?
– मनोरोगका लक्षण कडाखालको बेग्लै, सामान्य खालको बेग्लै हुन्छन् । सिजोफ्रेनिया प्यारानोवाइड (कडा खालको) छ भने दुई जना मान्छे कुरा गरिरहेका छन् भने उसले आफ्नै कुरा काट्यो भन्छ । उसले सप्पै मेरोविरुद्धमा छन् भन्ठान्छ । खानेकुरामा कसैले विष हालिदियो कि भन्छ । आफ्नो श्रीमान् वा श्रीमती अरूसँग लाग्यो कि भन्ने शङ्कालु सोचाइ हुन्छ । त्यस्तै, मेनिया छ भनेदेखि नचाहिने किसिमको धेरै खुसी हुन्छ अथवा म आफू ठूलो मान्छे हुँ, म जे पनि गर्न सक्छु भन्छ । पैसा धेरै खर्च गर्न कोसिस गर्छ, कपडा पनि राम्रो राम्रो लाएर हिँड्छ, गाडी पनि स्पिडमा चलाउँछ । डिप्रेसन छ भनेचाहिँ यसको ठीक उल्टो हुन्छ । डिप्रेसन कडाखालको पनि हुन्छ, सामान्यखालको पनि हुन्छ । मेनिया र डिप्रेसन दुईवटै हुन सक्छ एउटा व्यक्तिलाई, त्यतिबेला कडाखाले हुन्छ । माइल्ड र मोडरेटचाहिँ सामान्य खालको भयो, तर सिबियरमा पुग्यो भनेचाहिँ डिप्रेसन पनि कडाखालको हुन्छ । मानसिक रोगमा छारेरोग पनि पर्छ ।

० नेपालमा मानसिक रोगको अवस्था के छ, प्रायःमा कस्तो समस्या देखिएको छ ?
– दिनप्रतिदिन बढ्दो छ । महिलामा डिप्रेसन, एन्जाइटी बढी छ भने पुरुषमा सिजोफ्रेनिया, मेनिया बढी छ । लागूऔषध खानेमा पनि केटा मान्छे नै बढी छन् । कुल जनसङ्ख्याको झन्डै ३० प्रतिशतमा मानसिक रोग भएको पाइन्छ ।

० समयमै डाक्टरलाई देखाएर नियमित औषधि सेवन गर्नाले मनोरोगबाट पूर्ण रूपमा पार पाउन सकिन्छ त ?
– पूर्ण रूपमा नभए पनि ८०–९० प्रतिशतचाहिँ पार पाउन सकिन्छ । यो अवस्था हेरेर हुन्छ । कडाखालेमा अलि लामो समय औषधि खानुपर्ने हुन सक्छ । कडाखाले पनि कुनै कुनै त पूरै निको हुन्छ । सामान्यखालको त निको भइहाल्छ । तैपनि शतप्रतिशतचाहिँ नभनौँ, शारीरिक रोग होस् या मानसिक रोग जुन पनि ८० देखि ९० प्रतिशत त निको हुन्छ भन्न सकिन्छ नि ।

० सामान्य मनोरोग कति समयजति औषधि खाएर निको हुन्छ ?
– कति समयदेखि रोगले सतायो, त्यो हेरेर हुन्छ । लामो समयदेखि सताएको हो भने लामै समय औषधि खानुपर्ने हुन सक्छ । थोरै समय छ भने पनि निको भएको ६ महिनादेखि एक वर्षसम्म औषधि खानुपर्छ । भनौँ न, सामान्य मनोरोगीले लगभग डेढ–दुई वर्षजति औषधि खानुपर्ने हुन्छ ।

० निको भएपछि बल्झिने सम्भावना कत्तिको हुन्छ ?
– बल्झिने सम्भावना कतिबेला हुन्छ भने डाक्टरले बोलाएको बेलामा नजाने, डाक्टरले भनेअनुसार औषधि नखाने, खानेकुराहरू नबार्ने तथा लागूपदार्थ, मादकपदार्थ सेवन गर्ने, निद्रा बिगार्ने हो भने बल्झिन सक्छ । र, तनाव बढी लियो भने पनि बल्झिने सम्भावना हुन्छ ।

मनोरोगका लक्षण कडाखालको बेग्लै, सामान्य खालको बेग्लै हुन्छन् । सिजोफ्रेनिया प्यारानोवाइड (कडा खालको) छ भने दुई जना मान्छे कुरा गरिरहेका छन् भने उसले आफ्नै कुरा काट्यो भन्छ । उसले सप्पै मेरोविरुद्धमा छन् भन्ठान्छ । खानेकुरामा कसैले विष हालिदियो कि भन्छ । आफ्नो श्रीमान् वा श्रीमती अरूसँग लाग्यो कि भन्ने शङ्कालु सोचाइ हुन्छ । त्यस्तै, मेनिया छ भनेदेखि नचाहिने किसिमको धेरै खुसी हुन्छ अथवा म आफू ठूलो मान्छे हुँ, म जे पनि गर्न सक्छु भन्छ । पैसा धेरै खर्च गर्न कोसिस गर्छ, कपडा पनि राम्रो राम्रो लाएर हिँड्छ, गाडी पनि स्पिडमा चलाउँछ । डिप्रेसन छ भनेचाहिँ यसको ठीक उल्टो हुन्छ ।

० साइकियाट्रिकको औषधिको लत बस्छ र जीवनभर औषधि खानुपर्ने हुन सक्छ भन्ने समाजमा एकखाले सोचाइ वा बुझाइ छ मानिसहरूको, वास्तविकता के हो ?
– त्यस्तो लत त बस्दैन, यो गलत बुझाइ हो । बेन्जोडाइजेपाम भन्ने औषधिहरू हुन्छ, त्यसको चाहिँ लत बस्छ, तर हामी त्यो धेरै दिन दिँदैनौँ, एक–दुई हप्ता दिन्छौँ, त्यसपछि बन्द गरिदिन्छौँ । त्यो औषधि आफैँ खायो भने लत बस्छ । अरू कुनै औषधिले लत बस्दैन । यस्तो दबाइ पनि आएको छ अहिले कि निद्रा लागेन भने खाने, निद्रा लागिसकेपछि नखाए पनि हुने ।

० मनोरोगबाट बच्न तथा यसको रोकथामका लागि के गर्नुपर्ला ?
– सबैभन्दा पहिले त मनोरोग भनेको के हो त्यो बुझ्नुपर्‍यो । यसबारे मानिसहरूमा सचेतना जगाउनु आवश्यक छ । स्कुल, कलेज, पुलिस, आर्मीलगायत सबैखाले समाजमा यससम्बन्धी जनचेतना बढायो भने मानिसलाई मानसिक रोग पनि हुन्छ भन्ने थाहा हुन्छ । प्रायले के गर्छन् भने यो रोग लुकाएर राख्छन् । सामाजिक अन्धविश्वासले गर्दा भूतप्रेत, बोक्सी लागेको भनेर बरु धामीझाँक्री कहाँ जान्छन्, अस्पताल आउँदैनन् । शारीरिक रोगजस्तै मानसिक रोगको पनि शङ्का हुनासाथ स्वास्थ्य संस्थामा जानुपर्‍यो । सरकारले तल्लोस्तरका स्वास्थ्यकर्मीहरूलाई मानसिक रोगसम्बन्धी तालिम दियो भने हेल्थपोस्ट, प्राथमिक स्वास्थ्यचौकीहरूमा पनि मानिसले मानसिक रोगको उपचार पाउन सक्छन् । रोग बढेर धेरै पुरानो हुन पाउँदैन । सामान्य मनोरोगको पनि समयमै उपचार भएन भने कडाखालको हुन सक्छ । त्यसैले सरकारले अग्रता लिएर हेल्थपोस्ट, प्राथमिक स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई यससम्बन्धी तालिम दिने र विद्यार्थीको पाठ्यक्रममा पनि राखिदियो भने राम्रो हुन्छ ।

० डिप्रेसनका बिरामीको मुड तलमाथि भइरहन्छ नि, किन त्यस्तो भएको ?
– डिप्रेसनको मात्र होइन, मानसिक रोगका बिरामीहरूको मुड तल–माथि हुने गर्छ । बायोपोलार एफेक्टिभ डिसअर्डर भन्ने मान्छेको एउटा मुड हो, त्यो मुडचाहिँ कहिले अप हुन्छ, कहिले डाउन हुन्छ, त्यो एउटा रोगको लक्षण हो । मेनिया छ भने उसको मुड एकदम बढेको हुन्छ । डिप्रेसनमा नचाहिने किसिमले घटेको हुन्छ । मस्तिष्कको न्युरो केमिकलको ब्यालेन्स नमिल्दा कहिले मुड अप हुने कहिले डाउन हुने भएको हो । घरपरिवारका मान्छेको सहयोग र मायाममताले बिरामीको मुड राम्रो बन्न सघाउँछ । औषधिले पनि ब्यालेन्स मिलाउँदै लगेपछि त्यो सामान्य अवस्थामा आउँछ ।

० मानसिक रोग लागिसकेपछि औषधि खाए पनि पहिलेजस्तो राम्ररी काम गर्न सक्दैनन् वा काम गर्ने क्षमतामा ह्रास आउँछ हो ?
– एकदम थोरै मात्रामा त्यो हो । तर, धेरै प्रतिशतमा हेर्ने हो भनेदेखि मानसिक रोगीहरूले औषधि खाएर पहिलेजस्तै नै काम गर्न सक्छन् ।

० मनोरोग निको पार्न औषधिका साथै मोटिभेसन र आफ्नो जीवनशैलीको पनि महत्वपूर्ण भूमिका हुन्छ भनिन्छ, के–कस्ता कुराहरू बिरामीले अपनाउँदा राम्रो हुन्छ ?
– पहिलो त औषधि डाक्टरले भनेअनुसार नियमित खाने, डाक्टरले बोलाएको बेलामा जाने गर्नुपर्‍यो । दोस्रो कुरा घरको मान्छेले यो मानसिक बिरामी हो भनेर अर्कै किसिमले नहेर्ने, अरूलाई जस्तै सामान्य व्यवहार गर्ने, बरु उसप्रति अझ बढी सहानुभूति देखाउने गर्नुपर्छ । घरपरिवार र समाजले उसप्रति प्रेरणादायी व्यवहार गर्नुपर्छ । मनोरोगका बिरामीले त्यससम्बन्धी लेख तथा पुस्तकहरू पढ्दा पनि रोकथाममा मद्दत पुग्छ । बेलुका चाँडै सुत्ने, बिहान चाँडै उठ्ने गर्नुपर्छ । दैनिक व्यायाम गर्ने र खेलकुदमा भाग लिने गर्दा पनि राम्रो हुन्छ ।