नियम उल्लंघन गर्न खोज्नेलाई राजमार्गमै ‘भाटे-कारवाही’ !

नियम उल्लंघन गर्न खोज्नेलाई राजमार्गमै ‘भाटे-कारवाही’ !


■ विकास रौनियार, गजुरी (धादिङ)

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारद्वारा देशलाई लकडाउन गरिएको तेस्रो दिन आज (१३ चैत) पृथ्वी राजमार्गअन्तर्गत गजुरीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै जिल्ला ट्राफ़िक प्रहरी कार्यालय (गजुरी)का सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

यस क्रममा काठमाडौंतर्फ जाँदै गरेका सवारी साधनलाई रोक लगाइएको छ भने नियम उल्लंघन गर्ने सवारी साधनलाई करवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय का प्रमुख नेत्रप्रसाद भट्टले बताएका छन् ।

बिहानैदेखि पृथ्वी राजमार्ग गजुरीमा अत्याधिक संख्यामा सुरक्षाकर्मीको उपस्थिति रहेको छ । लकडाउनका कारण अधिकांश क्षेत्रमा मानिसहरु घरमै बसेकाले गजुरी बजार पनि सुनसान बनेको छ । तर, कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ ।

परिस्थितिको गम्भीरता महसुस नगरी आदेश उल्लंघन गर्न खोज्ने केहीलाई सुरक्षाकर्मीले ‘भाटे-कारवाही’ गरेका छन् । खेलाँची गरेर लकडाउन उलंघन गर्नेहरुलाई भाटा हान्दै नियन्त्रणमा लिनुपरेको गजुरी इलाका प्रहरी कार्यालयका डिसपी खगेन्द्र बहादुर खड़काले जानकारी दिए ।

औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारिक रुपमा सरकारबाट भएको आदेश नै ‘लकडाउन’ हो भन्दै व्यक्तिगत सुरक्षालाई ख्याल नगरी परिवार, समाज र देशलाई नै संक्रमणको जोखिममा पार्न खोज्नेलाई ‘भाटे-कारवाही’ले मात्र नपुग्ने सुरक्षा अधिकारीहरुको ठहर छ ।