नीलकण्ठ नगरपालिकामा वनको भवन बन्यो ‘क्वारेन्टाइन’

नीलकण्ठ नगरपालिकामा वनको भवन बन्यो ‘क्वारेन्टाइन’


■ विकास रौनियार, धादिङ

नीलकण्ठ नगरपालिकामा कोरोना भाइरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाईन स्थल व्यवस्थापन गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा डिभिजन वन कार्यालयको नवनिर्मित भवनमा नीलकण्ठ नगरपालिका, जिल्ला प्रशाशन कार्यालय, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको अगुवाईमा कोरोना भाइरस संक्रमण रोक्न क्वारेन्टाइन स्थापना गरिएको हो ।

विशेषगरी भारतबाट सीमा नाका हुँदै नेपाल आउने सर्वसाधारणहरुलाई कोरोनाको सामान्य लक्षण देखिए निगरानीमा राख्नका लागि क्वारेन्टाइन स्थापना गरिएको नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिष्णु रिजालले बताए ।

क्वारेन्टाइन स्थापना गरिएको पहिलो दिन नै भारतबाट आएका ९ जनालाई क्वारेन्टाइन स्थलमा राखिएको नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रिजालले जानकारी दिए । भारतबाट नेपाल आइपुगेका नीलकण्ठ ६ भोर्लेका ९ जनाको धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात क्वारेन्टाइनमा राखिएको र एक जनाको भने खुट्टा भाँचिएकाले काठमाडौ. रिफर गरिएको उनले बताए ।

उनीहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखिने बताइएको छ । क्वारेन्टाइनमा राखिएका ९ जनालाई खानाको व्यवस्था भने नीलकण्ठ नगरपालिकाले गर्ने रिजालको भनाई छ ।

भारतबाट नेपालतर्फ आउने जोकोहीलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखिने बताइएको छ । क्वारेन्टाइन कक्षमा तत्कालको लागि ३५ जना राख्न मिल्ने गरी तयारी अवस्थामा राखिएका छन् । सम्भावित कोरोना भाइरसको संक्रमणको सामना गर्नको लागि सरकारको निर्देशन र स्थानीय प्रशासनको पहलमा आवश्यक समन्वय गरेर पूर्व तयारीको काम गरिरहेको रिजालको भनाई छ । आवश्यक परे धादिङबेशीमा रहेको होटलहरुलाई समेत क्वारेन्टाइन तुल्याइने र जिल्ला अस्पताल धादिङमा आइसोलेसन र क्वारेन्टाइन, मेडिकल टिम आवश्यकताअनुसार राख्ने गरी कार्य अघि बढाइएको छ । स्वास्थ्यकर्मीको निगरानीमा दुई सातासम्म क्वारेन्टाइनमा राखेपछि सामान्य अवस्था देखिएमा मात्रै घर फर्काइने रिजालले जानकारी दिए ।