अस्पतालमा नमूना छोडी होटल फर्केर बसेका थिए ‘तेस्रा सङ्क्रमित’

अस्पतालमा नमूना छोडी होटल फर्केर बसेका थिए ‘तेस्रा सङ्क्रमित’


चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको सन्दर्भको चर्चा चुलिँदै गर्दा यतिबेला तेस्रा पात्रबारे आममानसमा चासो बढ्न पुगेको छ । मंगलबार (११ चैत) राति प्राप्त कोरोना परीक्षण रिपोर्टमा थप एकजनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सार्वजनिक गरेलगत्तैदेखि नेपालमा कोरोना भाइरस भित्र्याउने तेस्रो व्यक्तिका बारे जिज्ञासा र त्रास बढ्न पुगेको हो ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका तेस्रो व्यक्ति धादिङ जिल्लाका भएको बुझिएको छ, जो यही चैत ६ गते दुबईबाट काठमाडौं आएका थिए । दुबईबाट काठमाडौं आएको ७ दिनपछि मात्रै कोरोना संक्रमणको पुष्टि भएपछि यसबीचको अवधिमा ती युवा को–कतिसँग सम्पर्कमा रहे, उनी कति सचेत थिए र सेल्फ क्वारेन्टाइन अवलम्बनमा कति सतर्कता अपनाए या अपनाएनन्, यतिबेला यी प्रश्न संगीन रुपमा खडा भएका छन् । किनकि, उनको सम्पर्कमा रहेका व्यक्तिहरु निश्चय नै जोखिममा परेका छन् ।

प्राप्त जानकारीअनुसारदुबईबाट फर्केर काठमाडौंको कुनै (खुलासा नगरिएको) होटलमा बसेका ती युवा ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि गत सोमबार (१० चैत) परीक्षणका लागि टेकुस्थित शुक्रराज सरुवा रोग अस्पताल पुगेका थिए। अस्पतालमा परीक्षण गराई नमूना छोडेर उनी पुनः आफू बसेकै होटल फर्किएका थिए ।

कोरोना परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएलगत्तै उनलाई टेकु अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।

यस घटनाले अब अस्पतालमा परीक्षण गराउन गएका व्यक्तिलाई नमूनाको रिपोर्ट नआउन्जेल अस्पतालकै क्वारेन्टाइनमा राख्नुपर्ने पाठ सिकाएको छ ।