अन्ततः सर्ने नै भयो टोकियो ओलम्पिक २०२०

अन्ततः सर्ने नै भयो टोकियो ओलम्पिक २०२०


जापानले जसरी पनि आयोजना गर्ने भन्दै तयारी गरिरहेको र टोकियोमा हुन लागेको ओलम्पिक खेल अन्ततः केही समय पछाडि सर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचबीच मङ्गलबार (११ चैत) दिउँसो भएको भिडियो वार्तामा केही समय पछाडि ओलम्पिक खेल सार्ने विषयमा छलफल भएको थियो ।

आफ्नो देशमा हुन लागेको ओलम्पिकका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि विश्वभरि फैलँदै गएको कोरोना भाइरसका कारण ओलम्पिक खेलसमेत प्रभावित हुुने देखेपछि जापान तत्कालका लागि ओलम्पिक खेल स्थगन गर्ने पक्षमा देखिएको हो ।

जापानी प्रधानमन्त्री आवेले टोकियो ओलम्पिक खेल आयोजक समितिका प्रमुुख योशिरो मोरीसँग समेत सल्लाह गरी गत सोमबारको संसदीय समितिमा खेल पूर्ण रुपमा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि खेल केही समय पछाडि सार्नका लागि ओलम्पिक कमिटीलाई आग्रह गर्ने बताएका थिए ।

नयाँ मिति घोषणा गर्ने भन्नेमा नै वार्ता केन्द्रित भए पनि खेल कहिलेसम्म सार्ने भन्ने निश्चित नभएको जापानी समाचार एजेन्सी एनएचकेले जनाएको छ । खेल आयोजक राष्ट्र जापानले भने सकेसम्म ओलम्पिक खेललाई तोकिएको मितिमा नै पूरा गर्न चाहे पनि देशभित्र र बाहिरको वातावरण उपयुुक्त नदेखिएपछि अन्ततः खेल सार्न तयार भएको हो ।

चार महिना पछाडि शुरु हुन लागेको ओलम्पिक खेल एकपटक मिति सार्दा तीन अर्ब असी करोड डलर घाटा लाग्ने आयोजकले जनाएको छ । अहिलेसम्म जापानमा झण्डै एक हजार ८ सय सङ्क्रमित बिरामी रहेकाले यसलाई नियन्त्रण गर्न जापान सरकार केन्द्रित बनिरहेको बताइएको छ ।