‘कोरोनासंक्रमित युवतीसँगै कतारबाट आएको’ समाचारले गोरुसिङेवासी त्रासमा

‘कोरोनासंक्रमित युवतीसँगै कतारबाट आएको’ समाचारले गोरुसिङेवासी त्रासमा


■ एस. क्षेत्री, कपिलवस्तु

कतारबाट आएका एक युवकलाई कपिलवस्तुको गोरुसिङेस्थित क्वारेन्टाइनमा राखिएको छ । ती युवा कतारबाट नेपाल आउँदा फ्रान्सबाट आएकी कारोनासंक्रमित युवतीसँगै आएका भने होइनन् ।

केही सञ्चामाध्ययमहमा फ्रान्सबाट आएकी कोरोनासंक्रमित युवतीसँगै आएका युवा भनेर समाचार प्रकाशित भएपछि गोरुसिङे तथा आसपासका सर्वसाधारणहरु कारोना भाइरसको संक्रमण हुन सक्ने त्रासमा परेका छन् ।

इलाका प्रहरी कार्यालय गोरुसिङेका अनुसार कोरोना भाइरस संक्रमणको लक्षण देखिएकी युवतीभन्दा दुई दिनपछि मात्रै ती युवा नेपाल आएका हुन् । विभिन्न संचारमाध्ययमबाट ‘कोरोनासंक्रमति युवतीसँगै आएका युवा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ मा फेला परे’ भन्ने समाचारले समाजमा झन् त्रास उत्पन्न गरेको जिल्लाका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

क्वारेन्टाइनमा राखिएका युवाको अवस्था भने सामान्य रहेको छ । कोरोनासंक्रमित देश कतारबाट आएका कारण उनलाई केही दिनका लागि क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना भाइरसको संक्रमणको विषय अति संवेनदशील भएका कारण सूचना सम्प्रेषण तथा प्रकाशित गर्दा संयमित भई समाचारलाई विभिन्न स्रोतबाट पुष्टि गरेर मात्रै सम्प्रेषण तथा प्रकाशन गर्न नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषालले जिल्लाका सबै सञ्चारकर्मी तथा सञ्चारगृहहरुलाई आग्रह गरेका छन् ।