आँखै अगाडि मृत्यु मडारिएपछि…

■ देवप्रकाश त्रिपाठी



आफूविना संसार चल्दैन भन्ने भ्रममा बाँचिरहेको प्राणी हो मान्छे । कुनै तानाशाहले, हतियारले, संविधान, कानून र प्रकृति स्वयमले यसरी कुनै दिन सृष्टिलाई स्थिर बनाइदिन सक्छ भन्ने कल्पनासम्म मानिसबाट भइरहेको थिएन । वैज्ञानिकहरू आफूलाई हरेक प्रश्नको जवाफ ठान्थे, अमेरिका जस्तो मुलुक पृथ्वीका हरेक समस्याको समाधान आफैंलाई ठान्थ्यो, बुद्धिमानहरू प्रत्येक गाँठो फुकाउन सक्ने क्षमता आफूमा रहेको मान्थे, सायद बिल गेट्सहरू सबै वस्तु र विषयको प्राप्ति धनबाट हुन सक्ने ठान्थे । तर, यी सबैलाई कोरोना नाम दिइएको मामुली भाइरसले आफ्नो औकात देखाइदिएको छ । यतिबेला सिङ्गै जगत प्रलयको सामना गर्दैछ, ठप्प छ पृथ्वी, आफूविना पृथ्वी घुम्दैन भनी ठान्नेहरू स्तब्ध र निरीह बनेका छन्, ‘ईश्वर’ नभएको वैज्ञानिक मात्र समाधान भएको दाबी गर्नेहरूलाई दह्रिलो झापड मिलेको छ ।

मानव–जीवन एउटा प्रयोगशाला पनि हो । कति प्रयोग हामीले गरिरहेका हुन्छौँ र, ईश्वर या प्रकृतिले पनि हामीमाथि प्रयोग गरिरहेको हुन्छ । यस अर्थमा सिङ्गो पृथ्वीलाई एउटा प्रयोगशाला मान्न सकिन्छ ।

प्राचीन कालमा ओढार र वन–जंगलमा बस्ने गर्थ्यौं, त्यसपछि समूहमा झोपडी बनाएर बस्न थाल्यौँ । स्थिर बसोबास र खेतीपतीको शुरुआत भएपछि मानव सभ्यता अर्को चरणमा प्रवेश गर्‍योे, यसलाई जंगली जीवनबाट कृषियुगमा अवतरण भएको मानियो । कतिपय वैज्ञानिकले मानिसलाई वानरको विकसित रूप भनेका छन् भने अर्कै कुनै ग्रहबाट बसाइँ सरेर आएका प्राणीका रूपमा मानिसलाई बुझ्ने वैज्ञानिकहरू पनि छन् । भारतबाट प्रकाशित हुने विज्ञानकेन्द्रित पत्रिका ‘विज्ञान–प्रगति’मा सैँतिस वर्षअघि प्रकाशित एक वैज्ञानिकको विचारले धेरैलाई गम्भीरतापूर्वक सोच्न बाध्य तुल्याएको थियो । ती वैज्ञानिकले ‘मानिस अन्तरिक्षबाट पृथ्वीमा बसाइँ सरेर आएको र वानरबाट विकसित नभएको’ दाबी गरेका थिए । तर, त्यसपछि वैज्ञानिकहरूबाट धर्तीमा मानव आगमनको विषयलाई लिएर गम्भीर बहस–छलफल भएको या नयाँ विचार प्रस्तुत हुने गरेको पाइएको छैन । केही दशकयता अपरिचित यान पृथ्वीको आकाशमा देखापर्ने गरेको चर्चा चले पनि वैज्ञानिकहरूले त्यसबारेमा विस्तृत जानकारी पाएका छैनन् या त्यसलाई आमजानकारीको विषय बनाइएको छैन ।

राष्ट्रपतिको जिम्मेवारीमा रहँदा बाराक ओबामाले अपरिचित प्राणी र तिनको गतिविधिमाथि अमेरिकाले अनुसन्धान गरिरहेको बताएका थिए । त्यसलगत्तै चर्चित बेलायती वैज्ञानिक स्टेफन हकिङ्सले अपरिचित प्राणीलाई नजिस्काउन सुझाव दिँदै तिनले चाहे पृथ्वीलाई ध्वस्त बनाउन सक्ने चेतावनी दिएका थिए । यसरी वैज्ञानिक स्टेफनले चेतावनी दिएको केही समयपछि माया सभ्यताको केन्द्रबिन्दु मानिएको दक्षिण अमेरिकी मुलुक मेक्सिकोआसपासका खास क्षेत्रमा उत्खनन गर्दा अपरिचित प्राणीको शरीरसँग मिल्दोजुल्दो अस्थिपञ्जरहरू फेलापरेको समाचार सार्वजनिक भएको थियो । मानवको उत्पत्ति जसरी जहाँ भएको भए पनि हजारौँ वर्षदेखि पृथ्वीमा मानिसको शासन कायम छ र, मानिस पृथ्वीका हरेक प्राणी, वनस्पति तथा अन्य वस्तुहरू आफ्नो उपभोगका निम्ति भएको ठान्दछ ।

सिङ्गै पृथ्वी आफ्नो उपभोगका लागि ठान्ने र कदाचित पृथ्वी ध्वस्त भइहालेछ भने पनि कुनै न कुनै तरिकाले आफूचाहिँ बाँच्ने मानसिकता पनि मानिसमा रहेको पाइन्छ ।

सनातनी मान्यताअनुसार पृथ्वीमा चौरासी लाख प्रकारका प्राणीहरू बस्छन् र मानिसबाहेकका हरेक प्राणी जन्मजात प्रत्ययले निर्धारण गरेको सीमाभित्र पूरै जीवन गुजार्ने गर्दछन् । यस्ता जीवजन्तु तथा पन्छीहरूको दायरा सीमित छ, तिनको क्रियाकलाप निश्चित छ, आहारविहार र व्यवहार पनि निर्धारित छन् । माछा पानीमा मात्र बाँच्छ सक्छन् र तिनको आहारा सीमित छ, तर पानीमै उपलब्ध हुन्छ । स्याल, सिंह र बाघ जस्ता हिंस्रक प्राणीको पनि उपभोग सीमित छ, हरिण र जिराफ जस्ता जनावर निर्धारित जीवन–पद्धतिको सीमामा छन् । बाघ, सिंह र स्याललगायतका कैयन प्राणीले घाँसपातलाई आफ्नो आहार ठान्दैन अनि हात्ती, गैंडा तथा मृगलगायतका जीवले कदापि मासु ग्रहण गर्दैन । यी प्राणीहरू भोकै मर्छन्, प्रकृतिनिर्धारित खाद्य वस्तुबाहेक अन्य कुनै पनि पदार्थलाई खानाको रुपमा स्विकार गर्दैनन् । तर मानिसहरू जमिनमाथि भेटिने मात्र होइन जमिन र पानीमुनिका वस्तुसमेतको उपभोग आफ्नो लागि भएको ठान्छन् । वनस्पति, पशुपन्छी, जलचर र जनावरदेखि हरेक वस्तुको भक्षण मानिसबाट हुने गर्छ । खानका निम्ति प्रयोग नहुने जीव या वस्तुलाई मनोरञ्जनका लागि र आफ्नो सेवा–सुविधाका निम्ति उपयोग गर्ने काम मानिसबाट हुन्छ । यसरी सिङ्गै पृथ्वी आफ्नो उपभोगका लागि ठान्ने र कदाचित पृथ्वी ध्वस्त भइहालेछ भने पनि कुनै न कुनै तरिकाले आफूचाहिँ बाँच्ने मानसिकता पनि मानिसमा रहेको पाइन्छ ।

सबै प्रकारका जलचर, पशुपन्छी पृथ्वीको सबै स्थानमा पाइन्न, तर मानिस अन्टार्कटिका बाहेक सर्वत्र भेटिन्छन् । रुप–रङ्गको विशिष्टतामा विविधता भए पनि पृथ्वीभरी जहाँसुकै भेटिने प्राणी भनेकै मानिस हुन् । जतासुकै पाइने र पृथ्वीका हरेक जीवजन्तु र वस्तुको भोग गर्न सदैव इच्छुक रहने मानिसलाई भौतिक उन्नति र विज्ञानको विकासले सुविधाभोगी मात्र नभइ अहङ्कारी समेत बनाएको छ । मानिसमध्येमा कतिपय दुःखी, पीडित, अज्ञानी, उपेक्षित र अपमानित पनि छन्, तर समग्रमा मानिस सुविधाभोगी, आत्मकेन्द्रित, अहङ्कारी, दम्भी र विशिष्ट चेतनाका प्राणी हुन् । धन, विद्या र पदको उचाइ प्राप्त गर्ने अधिकांश व्यक्तिहरू त आफूलाई मानिस हौँ भन्न पनि अप्ठ्यारो मान्न खोज्छन् र साधारण मानिसलाई दोस्रो या तेस्रो दर्जाका ठान्छन् । यस्ता मानिसलाई तह लगाउन कसैले पनि सकिरहेको थिएन, यसपटक ‘जाबो’ भाइरसले सबै मानिसलाई आफ्नो औकात देखाइदिएको छ । मानिसले विज्ञान र भौतिकताको जतिसुकै विकास गरेको भए पनि एउटा भाइरस सक्रिय हुँदा सबैलाई त्राहिमाम र भागाभाग तुल्याइदिएको छ । उड्न हवाइजहाज, गुड्न राल्स रोयस कार, ग्रह भेदन गर्न रकेट यान, तैरनका निम्ति भीमकाय पानीजहाज, ध्वंस गर्न रासायनिक एवम् जैविक हतियार र विनासका निम्ति महाशक्तिशाली वम, सूचना तथा सञ्चार निम्ति टेलिफोन, टेलिभिजन र रेडियो जस्ता उपकरण बनाउन सक्नुलाई विज्ञानको चमत्कार ठानेर हैसिएका हामीलाई कोरोना भाइरसले पूरै थला पारिदिएको छ । हामीले खासै केही उन्नति–प्रगति नै गरेका रहेनछौँ भनेजस्तो स्थिति उत्पन्न गराइदिएको छ ।

सनातनी धर्म, संस्कृति, परम्परा र त्यसका मौलिक मूल्य–मान्यताहरू जस्ताको त्यस्तै पालना गरियो भने समय–समयमा आतङ्क बनेर प्रस्तुत हुन सक्ने भाइरसहरू स्वतः पराजित हुने स्थिति बन्दोरहेछ भन्ने पनि अहिले बुझिएको छ । त्यसैगरी सनातनीहरूको मृत्यु संस्कार पनि वैज्ञानिक सिद्ध भएको छ । सनातनी धर्म, संस्कृति र परम्परा सही भएको सञ्चार गर्न सयौँ वर्षदेखि हज्जारौँ गुरुहरूले गर्दै आएको लाख प्रयासभन्दा कोरोनाको एक झापड उपयोगी बनेको छ ।

तर मानव सभ्यताको इतिहासमा यसप्रकारको सङ्कट पहिलोपटक पैदा भएको ठान्नु गलत हुन सक्छ । हाम्रो सनातन धर्म, संस्कृति, संस्कार र परम्पराको जग खोतल्न सक्यौँ भने कुन आधारमा हाम्रो जीवन–पद्धति विकास गरिएको रहेछ भन्ने बोध हुन सक्छ ।

हाम्रा पुर्खाले हात मिलाउन नजानेर ‘नमस्ते’ भन्ने गरेका होइनन्, थिएनन् । हात मिलाउँदा उत्पन्न हुने जोखिमबारे ज्ञान भएर नै ‘नमस्कार’लाई अभिवादनको पद्धति बनाइएको रहेछ भन्ने सङ्केत स्वाइन फ्लु, सार्स, मर्स र इबोला आदिले दिएकै थिए, कोरोनाले ‘नमस्कार’ बाहेक अभिवादनका सबै परम्परा गलत प्रमाणित गरिदिएको छ । गाई किन पाल्ने, गाइको गोबर र गहुँतलाई घर लिपपोत र औषधीय प्रयोजनमा किन ल्याउने, आँगनीको छेउमा तुलसी र सार्वजनिक स्थलहरूमा बर–पिपलका रुख किन लगाउने भन्ने जस्ता प्रश्नहरूको जवाफ पनि समय–समयमा प्राप्त हुने गरेकै हो, कोरोनाले थप पुष्टि गरिदिएको छ । घरमा भान्सा र सुत्ने स्थानलाई केन्द्र मान्ने, हिंसा नगर्ने र शाकाहारी भोजन गर्ने, भान्सामा गाइको गोबरले दिनमा दुई पटक पोत्ने, भोजन गर्नुअघि पूजा गरेर शङ्ख–घण्ट बजाउने (शङ्ख र घण्टको आवाजले जिवाणु र विषाणु नष्ट गर्ने वैज्ञानिक पुष्टि भइसकेको छ), खाना खानुअघि नुहाउने र कपडा बदल्ने तथा जहाँसुकै पुगेर आए पनि घर प्रवेश गर्नुअघि हात–गोडा अनिवार्य रुपले धुनुपर्ने परम्परा किन बसाइएको रहेछ भन्ने पुष्टि पनि कोरोनाले नै गरिदिएको छ ।

हिजोसम्मका पुस्ताले छोडिदिएको सुन्दर पृथ्वीलाई हामी कुरुप बनाउँदै थियौँ, अर्को पुस्ताका लागि भोग्नका निम्ति केही बाँकी नराखेर पृथ्वी दोहन गर्दै थियौँ हामी । गर्भमा भएका तेल निकाल्यौँ, खनिज निकाल्यौँ, सतहमा रहेका नदी र ताल सखाप पार्‍यौँ, हरियाली र अन्य प्राणीको जीवन नष्ट तुल्यायौँ, हावा दुषित तुल्यायौँ, माटोको जीवनमा क्षति पुर्‍यायौँ, तर हामी विनास यात्रामा रोकिएनौँ । पृथ्वी भत्काउन र हावापानी दुषित तुल्याउन खटिरह्यौँ, आमाको शरीर लुछेर आफूलाई समृद्ध तुल्याउने तुच्छ कार्यमा हामी जुटिरह्यौँ, आज त्यसैको परिणाम हामीलाई प्राप्त भएको छ, यसनिम्ति कोरोनालाई धन्यवाद नभनेर के भन्ने ?

धन, विद्या र पदको उचाइ प्राप्त गर्ने अधिकांश व्यक्तिहरू त आफूलाई मानिस हौँ भन्न पनि अप्ठ्यारो मान्न खोज्छन् र साधारण मानिसलाई दोस्रो या तेस्रो दर्जाका ठान्छन् ।

सनातनी धर्म, संस्कृति, परम्परा र त्यसका मौलिक मूल्य–मान्यताहरू जस्ताको त्यस्तै पालना गरियो भने समय–समयमा आतङ्क बनेर प्रस्तुत हुन सक्ने भाइरसहरू स्वतः पराजित हुने स्थिति बन्दोरहेछ भन्ने पनि अहिले बुझिएको छ । त्यसैगरी सनातनीहरूको मृत्यु संस्कार पनि वैज्ञानिक सिद्ध भएको छ । सनातनी धर्म, संस्कृति र परम्परा सही भएको सञ्चार गर्न सयौँ वर्षदेखि हज्जारौँ गुरुहरूले गर्दै आएको लाख प्रयासभन्दा कोरोनाको एक झापड उपयोगी बनेको छ । सिङ्गै विश्वले सनातन धर्म, संस्कृति, परम्परा र संस्कारलाई राम्रोसँग पछ्याएको भए अहिले यसप्रकारको नियति भोग्नु नपर्ने हुन सक्थ्यो । तर हजारौँ, लाखौँ मानिसको ज्यान गुमेपछि पनि सनातनी सभ्यताका विकल्पमा खडा गरिएका वाद–विचारहरूले पुनः टाउको उठाउन सक्छन् । तथापि, एकपटक भए पनि सनातन धर्म–संस्कृति, परम्परा र संस्कार सही भएको महसूस गराएकोमा गहिरो दुःखका बीच कोरोनालाई धन्यवाद दिनु उचित हुनेछ । मानिसमा उत्पन्न अहङ्कार, दम्भ र विभेदको अर्थ नरहेको आत्मबोध गराउन पनि कोरोनाले नै योगदान दिएको छ । यसनिम्ति पनि कोरोनालाई धन्यवाद ! तर कोरोनाले पुर्‍याएको क्षति र दिएको दुःख मानव सभ्यताको इतिहासले कहिल्यै भुल्न सक्ने छैन ।

यसपटक कोरोनाबाट मुक्ति पाउन सकियो भने संसारको आगामी यात्रा बदलिने छ, नियम–कानून र संविधानहरू फेरिने छन्, मानिसको समग्र जीवनशैली र सोचमा परिवर्तन आउनेछ र त्यो सनातनी धर्म, संस्कृति तथा परम्पराअनुकुल हुने विश्वास गर्न सकिन्छ । त्यसैले कोरोना आक्रमणमा परेर दिवङ्गत हुन पुगेका आत्माको चीरशान्ति कामनासहित दुःखी परिवारमा समवेदना प्रकट गर्दै हामी मान्छेलाई आफ्नो वास्तविक धरातल देखाइदिएको कोरोनालाई फेरि पनि धन्यवाद ।

प्रतिक्रिया