‘दिल्लीमा नयाँ सङ्क्रमण भेटिएन’ : केजरीवालको ट्वीट

‘दिल्लीमा नयाँ सङ्क्रमण भेटिएन’ : केजरीवालको ट्वीट


भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा (२४ मार्च) कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताएका छन् । मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा भनेका छन्, ‘विगत २४ घण्टामा दिल्लीमा कोभिड–१९ को नयाँ सङ्क्रमण भेटिएको छैन भने पाँच जना सङ्क्रमित बिरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुशी भैहाल्ने अवस्था भने होइन ।’

‘अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।’

दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा गत आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा (जनता कर्फ्यू) को संज्ञा दिएको छ । अन्य राज्यमा पनि स्थानीय निर्देशनमा सङ्क्रमण नियन्त्रणका लागि भिन्न–भिन्न अभ्यासहरू भएका छन् ।

भारतमा मङ्गलबारसम्म लगभग पाँच सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भैसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एएनआईका अनुसार भारतमा मङ्गलबारसम्म सङ्क्रमित १० जनाको मृत्यु भइसकेको छ ।