मदिरा सेवनका क्रममा भएको झगडामा सिड्नीमा नेपाली युवाको मृत्यु

मदिरा सेवनका क्रममा भएको झगडामा सिड्नीमा नेपाली युवाको मृत्यु


■ राजन घिमिरे

सिड्नीनिवासी नेपाली युवा अमित कार्कीको एक झडपमा मृत्यु भएको छ । गत साता अष्ट्रेलियाको सिड्नीस्थित नेपालीहरूको बाक्लो बस्ती रहेको हर्सभिभलमा रहेको एक बारमा नेपाली युवाहरूबीच भएको झगडामा कार्कीले ज्यान गुमाउंनु परेको हो ।

स्थानीय समयअनुसार २१ मार्चको विहान ३ बजे दुई समूहबीच मदिरा पिउने क्रममा नै भनाभन र कुटाकुट भएको प्रहरीले जनाएको छ ।

प्राप्त जानकारीअनुसार बारमा भएको झगडा बारबाट बाहिर निस्किँदासमेत साम्य भएन र सो क्रममा भएको आपसी झडपमा परेर कार्की घाइते भएका थिए । गम्भीर घाइते कार्कीलाई सोही राति सेन्ट जर्ज अस्पतालमा भर्ना गरिएको थियो ।

बारमा तीन–तीन जनाको समूहबीच कुटाकुट भएपछि उनीहरूलाई त्यहाँबाट बाहिर निकालिएको थियो । प्रहरीका अनुसार तिनीहरूमध्ये दुई व्यक्ति घटनास्थलबाट भाग्दै गर्दा केही पर लडेका थिए ।

यस घटनामा अन्य चार जना नेपालीलाई पनि पक्राउ गरिएको छ । कार्कीको मृत्यु भएपछि यो घटनाले गम्भीर मोड लिएको छ । उनीहरूबीच के विषयमा विवाद भएको थियो र किन ती दुई युवालाई बारबाट बाहिर निस्किसकेपछि पनि किन लखेटिएको थियो भन्ने विषय अनुसन्धानपछि मात्रै भन्न सकिने न्यूसाउथवेल्स प्रहरीले जनाएको छ ।

एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले घटना दुःखद भएको भन्दै अष्ट्रेलियामा बस्ने नेपाली युवाहरू सिर्जनात्मक कार्यमा लाग्न सुझाव दिएका छन् । प्रवासमा नेपाली–नेपाली फुट्ने होइन, जुट्नुपर्ने समय आएको गुरुङको धारणा छ ।