क्वारेन्टाइनका नेपालीलाई एनआरएनए पोर्चुगलको सहयोग, गर्भवती पनि ‘सेल्फ क्वारेन्टाइन’मा

क्वारेन्टाइनका नेपालीलाई एनआरएनए पोर्चुगलको सहयोग, गर्भवती पनि ‘सेल्फ क्वारेन्टाइन’मा


  • छविलाल बगाले, यूरोप

पोर्चुगलको फारोस्थित सातो आन्तोनिउ विद्यालय । विद्यालयको बाहिर र भित्र स्थानीय प्रहरीको बाक्लो उपस्थिती । झट्ट हेर्दा विद्यालयमा कुनै परीक्षा वा ठूलै सभा समारोह भएजस्तो लाग्ने । विद्यालयको बाहिरी हाताभित्रको अवस्था पनि लगभग सुनासान जस्तै । कारण थियो विश्वभर फैलिएको कोरोनाको संक्रमणबाट जोगाउने तयारीका साथ सुरु गरिएको क्वारेन्टाइन । त्यही क्वारेन्टाइनमा तीन नेपालीसहित ५७ जना छन् ।

विद्यालयभित्रको अवस्था पनि उस्तै थियो । टाढा टाढा बसेर मुखमा मास्क लगाएर पहरा दिएका प्रहरी र रेडक्रसको चहलपहलले पनि क्वारेन्टाइनमा बस्नेहरु एक्लो नभएको आभाष गर्छन् । लिस्वनबाट एनआरएनए र अवैतनिक बाणिज्य दूतावासका प्रतिनिधीसँगै हामी त्यहाँ पुग्दा मलिन उनिहरुको मुहारमा एकाएक हर्ष भरियो । उनिहरुले उज्यालो अनुहार बनाउँदै भने, ‘यहाँहरुलाई धन्यवाद ।’

एनआरएनए पोर्चुगलका कोषाध्यक्ष एवं सहयोग समन्वय समितिका संयोजक बिक्रमजंग कुंवरको संयोजकत्वमा गएको टोलीले नेपालीका लागि केही खाद्यान्न, लत्ता कपडा र अन्य सामाग्री पनि लगेको थियो । सामाग्री स्थानीय प्रहरी र रेडक्रसको जिम्मा लगाउँदै कुंवरले आवश्यक अन्य सहयोग गर्न एनआरएनए तयार भएको जानकारी गराए । उनिमात्रै होइन् अवैतनिक बाणिज्य दूतका प्रतिनिधी मोहनकुमार थापाले पनि क्वारेन्टाइनमा बस्दा अति आवश्यक हुने सामाग्रीका लागि चिन्ता नगर्न आग्रह गरे । ‘हामीले आवश्यक कुटनितिक पहल गरेका छौं ।’ उनले भने, ‘क्वारेन्टाइनमा बस्दैमा कोराना नहुने भएकोले आत्तिनुपर्दैन्, स्वास्थ्य परीक्षणबाट थाहा पाइन्छ ।’

अहिले क्वारेन्टाइनमा तीन नेपालीसहित सात पाकितानी, तीन बंगलादेशी र अन्य ३९ जना भारतीय नागरिक छन् । स्थानीय रेडक्रसका अनुसार सबैभन्दा धेरै सामान र चासो नेपाली समुदायबाट प्राप्त भएको छ । ‘अहिलेसम्म्म नेपाली समुदायबाट मात्रै सामान आएको छ । नेपालीको मात्रै सामान आउँदा क्वारेन्टाइनमा बस्ने अन्य नागरिकलाई असजिलो भएको छ ।’ एक रेडक्रसकर्मीले भने, ‘अब हामीले आएका सामानलाई जम्मा गरेर सबैलाई समान रुपले वितरण गर्ने तयारी गरेका छौं ।’

क्वारेन्टाइनमा रहेका सबैलाई सफा र शान्त वातावरणमा राखिएको छ । उनिहरुको लागि फारोको एक रेष्टुरन्टबाट ‘इन्डियन’ खाना ‘टेक वे’ को रुपमा आउने गरेको बुझिएको छ । क्वारेन्टाइनमा रहेका तीनैजना कपिलवस्तु जिल्लाका हुन् । उनिहरु विगत सात दिनदेखि क्वारेन्टाइनमा बस्दै आएको र थप ७ दिन बस्नुपर्नेछ ।

यस्तै, संघका बरिष्ठ उपाध्यक्ष रोशनकाजी थापाले कुनै सहयोग आवश्यक परे एनआरएनए पोर्चुगल तयार रहेको बताए । ‘आर्थिकदेखि अन्य कुनैपनि सहयोग गर्न तयार छौं ।’ उनले भने । उनले पोर्चुगलमा रहेर विभिन्न पेशा व्यवसायमा आववद्ध नेपाली समुदायले घरमै बसेर रोग लाग्नबाट बच्न अनुरोध गरेका छन् । यस्तै, सहयोग समन्वय समितिका उपसंयोजक दिनेश भण्डारीले पनि पोर्चुगल सरकारको निर्देशन मान्नुपर्ने जिकिर गरे ।

फारोको क्वारेन्टाइनमा रहेका नेपालीसँग नजिक रहेका एनआरएनए क्षेत्रिय समिति अलगाभका अध्यक्ष अनिल शर्माले पनि खेती कम्पनीमा कार्यरत सबै नेपाली चनाखो बन्नुपर्ने भन्दै स्वास्थ्यमा ख्याल गर्न आग्रह गरे । उता व्यवसायी निराजनजंग राणाले पनि क्वारेन्टाइनमा रहेका नेपालीलाई खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराएका छन् ।

‘सेल्फ क्वारेन्टाइन’मा गर्भवती महिला पनि
फारोको कृषि क्षेत्रमा काम गर्ने एक गर्भवती महिला पनि आफ्नो घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बसेको बताइएको छ । उनलाई स्थानीय प्रशासनले ‘सेल्फ क्वारेन्टाइन’मा बस्न अनुरोध गरेको हो । उनी ३ महिनाको गर्भवती भएको बुझिएको छ । उनको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आफ्नो घरमै आराम गर्न र बाहिर ननिस्किन आग्रह गरेको हो । ‘हामीले ‘सेल्फ क्वारेन्टाइन’मा बसेकी ति गर्भवती महिलाका लागि आवश्यक सामाग्री ल्याएपनि भेट्न पाइएन् ।’ एनआरएनए क्षेत्रिय समिति अलगाभका अध्यक्ष शर्माले भने, ‘स्थानीय प्रशासनले बाहिर निस्कन र भेटघाट नगर्न आग्रह गरेकोले महिलासँग भेट गर्न नपाएको हो । हामी उहाँको सम्पर्कमा छौं । आवश्यक परे सहयोग गर्न तयार छौं ।’

एक नेपाली अस्पतालको शैयामा
कोरोनाका कारण संक्रमणमा परेका एक नेपाली फारोस्थित अस्पतालमा उपचारार्थ रहेको पुष्टि भएको छ । उनि अहिले चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा रहेको अवैतनिक बाणिज्य दूतावासले जनाएको छ । दूतावासका अनुसार अहिले ती नेपालीलाई ‘आइसियू’ कक्षमा राखेर उपचार भइरहेको छ । दूतावासले उनको उपचारका लागि कुनै पनि कसर बाँकी नराख्न स्थानीय प्रशासन, अस्पताल प्रशासन लगायतलाई कुटनितिक पहल गरेको दूतावासका प्रतिनिधी मोहनकुमार थापाले घटना र बिचारलाई जानकारी दिए । यो समाचार तयार पार्दासम्म पोर्चुगलमा २३ जनाले ज्यान गुमाए भने २ हजार ६० जनामा कोरोनाको संक्रमण देखिएको छ ।