पार्टीको दबाब -श्रीविक्रम भण्डारी

पार्टीको दबाब -श्रीविक्रम भण्डारी


बलिको बोका बन्दै छन् युवराज
वर्षौंदेखि राजनीतिले गाँजेको खेलकुदमा राजनीति हुनु स्वाभाविकै हो । तर, खेलकुदलाई राजनीतिबाट टाढा राख्ने प्रतिबद्धता जाहेर गरेका सदस्यसचिव युवराज लामा अहिले आफैं बलिको बोका बन्दा चिन्ताको विषय बनेको छ । राजनीतिका कुरा गर्ने भए खेलकुद परिषद्को मुख्य गेटमै राखेर आउनु या पार्टी कार्यालयमा जानु भन्ने लामा अहिले आफ्नै पार्टीको फन्दामा नराम्रोसँग परेका छन । खेलकुदजस्तो रचनात्मक ठाउँमा राजनीति गर्नुहुन्न भन्ने लामाको उद्देश्य आफैंमा उत्कृष्ट भए पनि पार्टीको अगाडि खुट्टा टेक्नुपर्ने बाध्यताले उनको बोलाइ र गराइमा पनि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ । जसले गर्दा लामालाई पनि ‘उही ड्याङको मूला’ भन्न थालिएको छ । एमाओवादी पार्टीको कब्जा गर्ने रणनीति अहिले खेलकुदमा पनि लागू हुँदा लामाका हरेक कदममा ठेस लाग्न पुगेको छ । लामाले अप्रिय र अवैधानिक निर्णयमा समेत आफ्नो सहभागिता जनाउनुपरेको छ । विधानसम्मतभन्दा पनि पार्टीको दबाबलाई आत्मासात् गर्नुपरेको छ । तसर्थ दूरदर्शी भएर काम गर्ने लामाको योजनामा उनकै पार्टीले अवरोध उत्पन्न गर्दा लामा पनि विवादमा तानिएका छन् ।
खेलकुदमा स्वच्छ छवि बनाउँदै आएका लामालाई पछिल्लोपटक पार्टीले गलत रूपमा प्रयोग गर्दा उनको साख नराम्रोसँग गिर्न पुगेको छ । केही समय पहिले राखेपको एक सय सात सङ्घको रूपमा दर्ता भएको तेक्वान्दो युनियनको दर्ताले लामालाई निकै विवादमा तानेको छ । सो सङ्घ दर्ता गर्दा लामाले राखेपको विधान र नियमअनुसार दर्ता गर्न नमिल्ने बताए पनि पार्टीकै दबाबले लामाले नेपाल तेक्वान्दो सङ्घमाथि सौता हाल्न बाध्य हुनुपरेको सूत्रको दाबी छ । लामाले तेक्वान्दो सङ्घ विवादरहित र सफल सङ्घ रहेको पार्टीलाई जानकारी गराए पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’को ठाडो आदेशमा दर्ता गर्नुपरेको थाहा भएको छ । सो सङ्घ दर्ता नगरे दर्ता गर्ने व्यक्ति राखेपमा ल्याउने भनेपछि लामाले ‘मर्ता क्या नही करता’को स्थितिमा सो सङ्घ दर्ता गरेको स्रोतले बताएको छ । यसरी एउटै उद्देश्य, एउटै हेडक्वाटर भएको अर्को सङ्घ माओवादीले खोल्नुको उद्देश्य के हो ? त्यो अहिलेसम्म बुझ्न सकिएको छैन । यस सम्बन्धमा तेक्वान्दोका पदाधिकारीसँग सम्पर्क गर्दा उनीहरूले अनविज्ञता प्रकट गरेका थिए । राखेपले किन यसो गर्‍यो आफूलाई जानकारी नभएको बताउँदै त्यसको जवाफ खुद राखेपले नै दिनुपर्ने बताए । एउटा सङ्घ छँदाछँदै अर्को त्यस्तै सङ्घ कसरी दर्ता गर्न मिल्छ त्यो राखेपले राम्रोसँग बुझेको हुनुपर्छ । त्यसैले यस सम्बन्धमा केही नबोल्दा नै उचित हुने ती पदाधिकारीले बताएका थिए । त्यस्तै लामाले नेपालमा एउटै मात्र नेपाल तेक्वान्दो सङ्घ रहेको जानकारी गराउँदै आधिकारिक सङ्घ पनि त्यही भएको बताए । लामाले तेक्वान्दो युनियन दर्ता भएको सत्य हो भन्दै त्यसको दर्ताले तेक्वान्दो सङ्घलाई कुनै फरक नपर्ने बताएका थिए ।
कराते सङ्घमा काङ्ग्रेसका दावा गरुङलाई ल्याएर खेलकुदमा वाहवाही बटुलेका लामा अहिले क्रिकेटको पुनर्गठनपछि पुनः विवादमा तानिएका छन् । क्रिकेटको ‘क’ समेत नजानेका विशुद्ध राजनीतिक कार्यकर्तालाई क्रिकेटमा ल्याएपछि खेलकुदमा राजनीतिले फस्टाउने मौका अझ पाएको छ भन्दा अतिशयोक्ति नहोला । माओवादी केन्द्रीय सदस्य टंक आङबुहाङलाई क्रिकेटको नेतृत्व सुम्पिएपछि यहाँ खेलकुदप्रति लामाको सोच र पार्टीको सोचमा आकाश-पातालको भिन्नता देखिएको छ । अझ आङबुहाङले आफ्नो खेलकुद अर्थात् क्रिकेट सङ्घमा आउने कुनै सोच पनि नभएको र आफूलाई क्रिकेटको बारेमा पनि खासै जानकारी नभएको बताएपछि आखिर आङबुहाङ केका लागि त ? भन्ने प्रश्न तेर्सिएको छ । आङबुहाङले आफूले क्रिकेट सङ्घमा आउन कुनैै चासो नराखेको बताएपछि त क्रिकेटको पछाडि ठूलो खेल सञ्चालन भइरहेको सोझै अनुमान लगाउन सकिन्छ । आफ्नो खेलकुदमा आगमन पार्टी सोच र राजनीतिक हस्तक्षेप नभएको बताउने आङबुहाङले आखिर कसका लागि खेलकुदमा हामहाले त, त्यो बुझिनसक्नु भएको छ । यतिबेला उनको बोलाइ र व्यावहारिकतालाई मध्यनजर गर्ने हो भने आङबुहाङ क्रिकेटका दुईदिने पाहुना मात्र हुन् भनेर सबैले अड्कल काटेका छन् ।
सोही कुरालाई पुष्टि गर्दै क्यानका पूर्वमहासचिव टंकप्रसाद पनेरूले राष्ट्रिय खेलकुद परिषद्ले चुनाव गर्न नसक्ने वातावरण बनाएर क्यानको पुनर्गठन गरेको आरोप लगाएका छन् । पनेरूले यो सबै सदस्यसचिव लामाको चाल भएको बताउँदै आज उनी आफ्नो चालमा सफल भएको बताएका छन् । माओवादीले उहिल्यैदेखि क्यानमा आँखा गाडेको र अहिले आफ्ना कार्यकर्तालाई क्यानको जिम्मेवारी सुम्पिएको खुलासा गरेका छन् । स्मरण रहोस्, राखेपले अन्य खेलकुदका सङ्घसरि क्यानलाई पनि निर्वाचन गर्न ६० दिनको समय दिएको थियो । यो अवधिमा निर्वाचन गर्न असम्भव भएपछि राखेपसँग थप १५ दिनको समय मागिएको थियो । तर, यो समयमा पनि निर्वाचन नभएपछि राखेपले गत साता क्यानको पुनर्गठन गरेको थियो । पुनर्गठनपश्चात् क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले यो सबै गुट र उपगुटका कारणले भएको बताए । आफू पनि काम नगर्ने अरूलाई पनि काम गर्न नदिने र खालि विरोध मात्रै गर्ने कारणले क्रिकेट आज यो स्थितिमा पुगेको बताए । पाण्डेले क्रिकेटलाई यहाँसम्म पुर्‍याउन आफूले थुप्रै रगतपसिना बगाएको स्मरण गराउँदै क्रिकेटको विकासका लागि सदा लागिरहने बताए । आफू सङ्घमा भए क्रिकेटको विकास हुने र अरू भए नहुने आफ्नो मान्यता नरहेको बताउँदै क्रिकेटको समग्र विकासका लागि सही व्यक्तिको चुनाव हुनुपर्ने स्पष्ट पारेका छन् ।
आफ्नो चारमहिनेे कार्यकालमा लामाले भताभुङ्ग र लथालिङ्ग रूपमा रहेका सङ्घहरूलाई समाल्ने कोसिस गरे पनि उनी त्यसमा आंशिक रूपमा मात्र सफल भएका छन् । निर्वाचन भए पनि प्रायः सबै सङ्घहरूमा यद्यपि विवाद कायमै छ । एकले अर्कोको अस्तित्वलाई स्वीकार गर्न सकेका छैनन् । आरोप-प्रत्यारोपको लडाइँ चलिरहेको अवस्था छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष नेपाल ओलम्पिक कमिटीको विवाद ज्युँका त्यँुको रूपमा रहेको छ । समाधानको कुनै सङ्केत देखिएको छैन । दुवै पक्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यतालाई आधार बनाएर अडिग भएर बसेका छन् । ओलम्पिक कमिटीको विवाद घाँटीको हाड बनेर बसेको अवस्थामा लामाले त्यसतर्फ ध्यान दिनु बुद्धिमानी हुनेछ । तर, विडम्बना लामा अहिले पनि, सङ्घ गठन-पुनर्गठनको प्रक्रियामा भने रुमलिइरहेका छन् । तसर्थ यतिबेला शक्तिको आडमा ठूलो माछा मार्न खोज्नु र माओवादीका कार्यकर्तालाई खेलकुदमा होम्नुभन्दा आफ्नो अर्जुनदृष्टि के हो ? त्यसतर्फ ध्यान दिनु लामाकै स्वास्थ्यका लागि राम्रो हुनेछ । अन्यथा पार्टीको दबाबमा कार्य गर्दागर्दै लामाको आफ्नो व्यक्तित्व पनि धरापमा नपर्ला भन्न सकिँदैन । त्यो खुद लामाकै लागि पनि दर्ुभाग्य नबन्ला भन्न सकिँदैन । तसर्थ राजनीतिक हस्तक्षेपभन्दा राजनीतिक निर्देशनलाई पालना गरेर नियमसङ्गत रूपमा आफ्नो विवेक प्रयोग गरेर अगाडि बढ्नु समग्र खेलकुदका लागि राम्रो हुनेछ ।

कीर्तिमानी पौडी सुन्दरी श्रेया
आमा अनिता धितालले श्रेयालाई पौडीपोखरीमा चोपल्दा उनको उमेर आठ-नौ महिनाको मात्रै थियो । पानीको बानी पार्न पौडीपोखरीलाई गन्तव्य बनाए पनि श्रेया भविष्यमा खेलाडी बन्ने आमा अनिताले कल्पनासमेत गरेकी थिइनन् । तर, निरन्तर पानीसँगको जम्काभेटपछि श्रेयाको माया पानीसँग गाँसिन पुगेको थियो । श्रेयाको पानीप्रतिको मोह र आकर्षण बढेपछि परिवारकै प्रोत्साहन र सहयोगमा श्रेयाले पौडी सिक्ने अवसर पाएकी थिइन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं श्रेयाका हरेक इच्छा पूरा गर्ने क्रममा बुबा सुभरत धिताल र आमा अनिता धितालले श्रेयालाई होस्टेमा हैंसे गरेका थिए । दुवै अभिभावकले श्रेयाको उद्देश्य र सफलताको मार्गमा डोर्‍याउन कुनै कसर बाँकी राखेनन् । फलस्वरूप सात-आठ वर्षको उमेरमा पौडी खेल्न थालेकी श्रेया अहिले नेपालको चर्चित खेलाडी बन्न सफल भएकी छिन् ।
निरन्तर चार वर्ष पौडीको प्रशिक्षणपछि ११ वर्षको उमेरमा श्रेयाले स्कुलस्तरीय पौडीपोखरीमा सहभागिता जनाएकी थिइन् । पहिलो सहभागितामै निकै अनुभव बटुलेकी श्रेयाले त्यसपछि पदक जित्न निकै कडा मिहिनेत गर्नुपरेको थियो । मिहिनेतले एक दिन अवश्य रंग ल्याउँछ भन्ने उखानलाई सत्यतामा परिणत गर्दै अर्को वर्ष आयोजना भएको स्कुलस्तरीय प्रतियोगितामा श्रेया उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी थिइन् । पौडी प्रतियोगितामा प्रतिस्पर्धा गर्न थालेको एक वर्षभित्रै स्वर्ण पदक जितेर श्रेयाले आफूलाई उदीयमान खेलाडीको रूपमा अगाडि र्सार्न सफल भएकी थिइन् । श्रेयाले १२ वर्षको उमेरमा बटरप्fm्लाइतर्फ स्वर्ण पदक जितेपछि उनी प्रशिक्षकको नजरमा समेत पर्न सफल भएकी थिइन् ।
मात्र १२ वर्षको उमेरमा स्वर्ण पदक जितेपछि श्रेयाको हौसला निकै बुलन्द भएको थियोे । उनी यो सफलतापछि निकै रोमाञ्चित र खुसी भएकी थिइन् । सफलतापछिको स्यावासीले श्रेयालाई निकै प्रेरणा मिलेको थियो । अझ वाहवाही बटुल्ने चाहना जागेको थियो । जसले गर्दा उनको मनमा योभन्दा राम्रो गर्ने जोश-जाँगर पलाएको थियो । फलस्वरूप आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न श्रेया ज्यानलाई दाउमा लगाएर प्रशिक्षणमा होमिएकी थिइन् । श्रेयालाई आफ्नो लक्ष्यमा पुर्‍याउन परिवार र मुख्य प्रशिक्षक इश्वर कार्कीले अहम् भूमिका निभएका थिए ।
पहिलो सफतापछि निकै भावुक बनेकी श्रेयाले त्यसपछि पढाइ र पौडीलाई एकैसाथ लैजाने अहम् निर्णय गरेकी थिइन् । पहिले बिजी हुनका लागि पौडी खेल्ने श्रेयाले त्यसपछि पौडीमा आफ्नो भविष्य देख्न थालेकी थिइन् । त्यसपछि परिवार र स्कुलको निगरानीमा दैनिक दुई-तीन घन्टा पौडीमा बिताउन थालिन् । नियमित प्रशिक्षणपछि टाइमिङमा सुधार आएपछि श्रेयाको विश्वास निकै बढेर आएको थियो । त्यसपछि श्रेयाले एउटा सुन्दर सपना बुन्न पुगिन्- एक दिन नेपाललाई पौडी खेलमार्फत विश्वमा चिनाउने र थुप्रै कीर्तिमान कायम गर्ने । अहिले श्रेया आफूले देखेको सपनालाई पूरा गर्न अहोरात्र पौडीको प्रशिक्षणमा जुटेकी छिन् । जुन उनको जीवनको सकारात्मक पाटो नबन्ला भन्न सकिँदैन ।
तँ आँट म पुर्‍याउँछु भनेझैं श्रेयाले गरेको अथक मिहिनेत र परिश्रमको नतिजा अहिले देखिन थालिसकेको छ । विद्यालय र राष्ट्रियस्तरका प्रतियोगिताहरूमा सर्वोत्कृष्ट प्रदर्शन गरेकी श्रेयाले केही अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्ने अवसर पाएकी छिन् । श्रेयाले सन् २००९ मा रोममा आयोजना भएको विश्व पौडी च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाउने अवसर पाएकी थिइन् । विश्वस्तरीय प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गरेकी श्रेयाले उक्त प्रतियोगिता कुनै चमत्कार देखाउन नसके पनि राम्रो अनुभव बटुल्न भने सफल भएकी थिइन् । श्रेयाले यो प्रतियोगितामा आफ्नो व्यक्तिगत टाइमिङमा भने सुधार गरेकी थिइन् । यसरी आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद् अनुभव गरेकी श्रेया त्यसपछि पौडीको वास्तविकतासँग ज्यादै नजिक पुगेकी थिइन् ।
पानीलाई असाध्यै माया गर्ने श्रेयाले पानीबिना आफूले कुनै कल्पना गर्न नसक्ने बताएकी छिन् । पानीमै आफ्नो स्वर्णीम भविष्यको कल्पना गर्दै आफ्नो लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेकी श्रेयाले एक दिन अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने स्पष्ट धारणा राखेकी छिन् । अझ केही महिनापूर्व अर्थात् सन् २०११ म्ाा चीनको सङ्र्घाईमा आयोजना भएको १४औँ विश्व पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान कायम गरेपछि त उनको हौसलाले ठूलो छलाङ मारेको छ । श्रेयाले उक्त प्रतियोगिताको १०० सय मिटर फ्रिस्टाइलमा निर्धारित दूरी १ मिनेट १०ः८२ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । श्रेयाको यो कीर्तिमानसँगै रुना प्रधानले १२ वर्षअघि कायम गरेको राष्ट्रिय कीर्तिमान भङ्ग भएको थियो । श्रेयाले राष्ट्रिय कीर्तिमान भङ्ग गरेबापत १० हजार पुरस्कारसमेत प्राप्त गरेकी छिन् । यो विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान राख्न सफल भएपछि श्रेयाले आफू आश्चर्यचकित भएको बताएकी छिन् । श्रेयाले आफूलाई ‘ग्रेट फिलिङ’ भएको सुनाउँदै अन्तराष्ट्रमा आफ्नो मुलुकको मान, सम्मान र प्रतिष्ठा बढाउन पाउँदा निकै खुसी लागेको र आफू भाग्यमानी भएको बताएकी थिइन् ।
सफलता पाउन सफलताको बाटोलाई आत्मसात् गर्नुपर्छ । पहिल्याउँदै जाने क्रममा ढिलोचाँडो अवश्य गन्तव्य भेट्टाउन सकिन्छ । अहिले श्रेयाले पनि आफूलाई यही साँचोमा ढालेकी छिन् । उनले आफ्नो लक्ष्यप्रति अर्जुनदृष्टि लगाएकी छिन् । फलस्वरूप सफलताले श्रेयालाई चुम्न थालिसकेको छ । हालै सम्पन्न भएको एघारौँ ग्यालेक्सी कप उमेर समूह तथा खुला राष्ट्रिय पौडी प्रतियोगितामा श्रेयाले एक कीर्तिमानी पदकसँगै कुल ११ स्वर्ण र दुई रजत पदक जितेपछि अहिले पौडीमा सनसनी फैलिएको छ । ग्यालेक्सी कपमा श्रेयाले खुलातर्फ ६ स्वर्ण र उमेर समूहमा पाँच स्वर्ण जितेकी हुन् । सोही प्रतियोगितामा श्रेयाले ५० मिटर फ्रिस्टाइलमा पुनः राष्ट्रिय कीर्तिमान कायम गर्दै आफू पौडीसुन्दरी भएको प्रमाणित गरेकी छिन् ।
१६ वर्षअघि बुबा सुभरत र आमा अनिता धितालका कोखबाट जन्मिएकी श्रेयाले अहिले ५० मिटर फ्रिस्टाइलमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्य बनाएकी छिन् । अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने कुरामा निकै विश्वासिली देखिएकी श्रेयाले नेपालमा बाह्रै महिना टे्रनिङ गर्ने पौडीपोखरी नहुनुलाई भने खेलाडीहरूको दर्ुभाग्यको रूपमा लिएकी छिन् । ६ महिना कडा मिहिनेत गरेर बढाएको स्पिड त्यसपछि खेल्न नपाउँदा पुनः शून्यताबाट शुभारम्भ गर्नुपर्ने भएकोले नेपाली खेलाडी अपेक्षित रूपमा सफलता पाउन नसकेको गुनासो पोखिन् । श्रेयाको यो कथनमा हाँमा हाँ मिलाउँदै उनका अभिभावकले बाह्रै महिना पौडीको प्रशिक्षण गर्न नपाउँदा श्रेयाको खेलमा निकै प्रभाव परेको बताउनुभएको छ । उहाँहरूले बाह्रै महिना चल्ने पौडीपोखरीको व्यवस्था भएको खण्डमा नेपाली पौडी खेलाडीले पनि अन्य खेलका खेलाडीले झैं सफलता पाउने ग्यारेन्टी गर्नुभएको थियो । त्यसका लागि सम्बन्धित निकाय नेपाल पौडी सङ्घ र राष्ट्रिय खेलकुद परिषद् गम्भीर बन्नुपर्ने बेला भइसकेको खुलासा गर्नुभएको थियो ।
ख्यालख्यालमै खेलकुदमा आधा दर्जन वर्ष बिताइसकेकी श्रेयाले खेलकुदको अतीतलाई पनि आफ्नो विशेष पानामा सजाएर राखेकी छिन् । जो खेलकुदमा उनको अविष्मरणीय क्षणको रूपमा रहेको छ । एकपटक राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्रममा खेल शुभारम्भ हुनु केही समय पहिले श्रेयाको नाकबाट रगत बगेर उनी बेहोस भएकी थिइन् । स्थितिले निकै जटिल रूप लिए पनि श्रेयाले त्यो स्थितिमा पनि प्रतिस्पर्धा गरेर खेलभावनाको ठूलो परिचय दिएकी थिइन् । यस्तो गम्भीर अवस्थामा पनि श्रेयाले उक्त प्रतियोगिताको ५० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दा सबै आश्चर्यचकित परेका थिए । त्यो घटना अहिले पनि श्रेयाको मानसपटलमा ताजै रहेको छ, जुन कहिल्यै मेटिने छैन ।
खेलकुदसँगै पेन्टिङ र सङ्गीतमा रुचि राख्ने श्रेयाले पौडी खेलको भविष्य उज्ज्वल भएको प्रस्ट पारेकी छिन् । वर्तमान अवस्थामा पौडी खेलप्रतिको आकर्षण निकै बढेको बताउने श्रेयाले यदि व्यवस्थापन पक्षले उचित व्यवस्था गरेको खण्डमा नेपाल पनि भविष्यमा पौडी खेलाडीको देशले चिनिने खुलासा गरेकी छिन् । खेलकुदमा राजनीति हुनुहुँदैन र खेलकुदको सुन्दरतामाथि कसैले खेलवाड गर्न मिल्दैन भन्ने मान्यता राख्ने श्रेयाले खेलाडीहरूले बगाएको पसिना र सुकाएको रगतको सबैले कदर गर्नुपर्ने बताएकी छिन् । २१औँ शताब्दीमा खेलकुद मुलुकको पहिचानका लागि कोसेढुङ्गा सावित भइसकेको कसैबाट छिपेको छैन । तसर्थ खेलकुदजस्तो रचनात्मक ठाउँमा प्रतिभाबीच प्रतिभाको प्रतिस्पर्धा गराउन सके सबैको कल्याण हुने प्रायः निश्चित छ ।

छैटौँको प्रतीक चिह्न सार्वजनिक
सुदूरपश्चिमाञ्चलमा फागुन १४ देखि २१ गतेसम्म आयोजना हुने छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिह्न हालै राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको छ । प्रतीक चिह्नका लागि १८ प्रतिस्पर्धीले प्रतीक चिह्न बनाएका थिए । तीमध्ये पहिलो चरणमा तीन प्रतिस्पर्धीको चिह्नलाई छनोट गरिएको थियो । अन्तिम चरणमा काठमाडौंका कलाकार जीवन राजोपाध्यायको कलालाई प्रतीक चिह्नको रूपमा छनोट गरिएको थियो । उक्त प्रतीक चिह्न छनोट समितिको निर्णयबमोजिम छनोट गरिएको संयोजक कमल खनालले बताएका छन् । तीन सदस्यीय छनोट समितिमा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ अधिकृत कमल खनालको संयोजकत्वमा प्रेस सल्लाहकार दिवस गुरागाईं र काठमाडौं विश्वविद्यालयका कला विभाग प्रमुख सुजन चित्रकार सदस्य रहेका थिए । प्रतीक चिह्नमा रहेको चन्द्र, सूर्य, रातो र नीलो रंगले राष्ट्रियता, परेवाले शान्तिको प्रतीक, पाँच ओलम्पिक रिङले पाँच विकास क्षेत्र, रिङलाई नै आधार मानी मानिसको चेनले सुदूरपश्चिमाञ्चलको लोकप्रिय नाच देउडा नाच र खेलाडीको जमघटलाई प्रतिनिधित्व गर्ने संयोजक खनालले बताए । प्रतीक चिह्नको प्रतिस्पर्धामा प्रथम हुने कलाकारलाई पुरस्कारस्वरूप ४० हजार नगद प्रदान गर्नेसमेत राखेपले जनाएको छ ।

नेपाल क्रिकेट सङ्घ पुनर्गठन
खेलकुद विकास नियम २०४९ अनुसार राष्ट्रिय खेलकुद परिषद् -राखेप) लेे नेपाल क्रिकेट सङ्घ पुनर्गठन गरेको छ । नेपाल क्रिकेट सङ्घ स्थापनादेखि नै तदर्थवादमा चल्दै आएकोले खेलकुद विकास नियम २०४९ को परिच्छेद ३ को दफा ७ को उपदफा १० को -घ) बमोजिम राखेपले २०६८ असार ९ गतेका दिन सार्वजनिक सूचनामार्फत दिएको निर्देशनलाई पालना नगरेको र सङ्घको साधारणसभा तथा निर्वाचन सम्पन्न हुन नसकेकोले पुनर्गठन गरेको बताएको छ । त्यस्तै सङ्घअन्तर्गतका केही खेलाडीको तर्फबाट सम्मानित सर्वोच्च अदालतमा समेत सङ्घले वैधानिकताबारेमा प्रश्न उठाउँदै निवेदन दिएको, यति हुँदासम्म पनि सङ्घले आफूलाई वैधानिक बनाउने बाटो अवलम्बन गर्न नसकेको कुरा जानकारी गराएको छ । राखेपले सङ्घलाई साधारणसभा गराएर वैधानिक बाटो अपनाउन अन्तिम समयसम्म मौका दिँदा पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने गुट-उपगुटका कारण सम्भव र सम्भावना नदेखिएका कारण पुनर्गठन गर्न बाध्य भएको प्रेस विज्ञप्तिमा जनाएको छ ।
नेपाली क्रिकेटको विकास आशलाग्दो र लोभलाग्दो छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत क्रिकेटको चर्चा-परिचर्चा मात्र होइन, गौरवका समाचारसमेत उत्तिकै सार्वजनिक हुने गर्छ । विडम्बना नै भन्नुपर्छ, यस्तो सङ्घले मुलुकभित्र भने कानुनी वैधता प्राप्त गर्न सकेन । अतः राखेपले क्रिकेट सङ्घको तदर्थ समिति पुनर्गठन गर्न बाध्य भएको जनाएको छ । साथै राखेपले ६० दिनभित्र समयसापेक्ष विधान परिमार्जन गरी साधारणसभा गरेर निर्वाचन सम्पन्न गर्ने सर्तमा नयाँ तदर्थ समिति गठन गरिएको बताएको छ । उक्त नेपाल क्रिकेट सङ्घको तदर्थ समितिमा टंक आङबुहाङ -लिम्बू) अध्यक्ष, रामचन्द्र शर्मा उपाध्यक्ष, तारणीविक्रम शाह उपाध्यक्ष, चतुरबहादुर चन्द उपाध्यक्ष, श्रीनिवासशमशेर ज.ब.रा. उपाध्यक्ष, केशव घिमिरे उपाध्यक्ष, सुनिलमान अमात्य उपाध्यक्षमा रहेका छन् । तस्तै महासचिव अशोकमान प्याकुरेल, सचिव ठाकुरप्रसाद पहारी र कोषाध्यक्ष राजुबाबु श्रेष्ठ रहेका छन् । यसैगरी सदस्यहरूमा नरेशकुमार श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, राजेश केसी, छत्रप्रसाद अधिकारी, विनोदकुमार चौधरी, अमितवीर पाण्डे, पिपनराम चौधरी, सैलेशकुमार चैधरी, अनुप थापा, वसन्तराज सत्याल, प्रकाशचन्द्र घिमिरे, रमेशसिंह धामी र धीरेन्द्र साउद रहेका छन् । साथै राखेपले क्रिकेट खेलाडी, प्रशिक्षक, व्यवस्थापक, सङ्घको नेतृत्वमा रहेका पूर्वपदाधिकारी तथा सदस्यलाई सङ्घको विधान निर्माण, साधारणसभा र निर्वाचन सम्पन्न गर्न सहयोगका लागि अनुरोध गरेको छ ।