आन्तरिक उडानका विमान कम्पनीले भाडा घटाए

आन्तरिक उडानका विमान कम्पनीले भाडा घटाए


हवाई यात्रुको सहजता र राहतका लागि आन्तरिक उडानका वायुसेवाप्रदायक कम्पनीले अधिकतम भाडादार घटाएको घोषणा गरेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नयाँ भाडादर सार्वजनिक गरेका हुन् ।

कोभिड–१९ को सम्भावित जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले लामो दूरीका सार्वजनिक यातायात बन्द भएपछि गन्तव्यमा जाने यात्रुको चापलाई ध्यान दिएर भाडादर केही समयका लागि घटाइएको कम्पनीले उल्लेख गरेका छन् । पर्यटनमन्त्री योगेश भट्टराईको आग्रहबमोजिम वायुसेवा कम्पनीले आइतबार (९ चैत) नयाँ भाडादर कायम गरेका बताइएको छ ।

यात्रुको अवस्थालाई ध्यान दिएर हवाई कम्पनीले लामा गन्तव्यको भाडा झण्डै दोब्बर घटाएका छन् । बुद्ध एयरले अहिले काठमाडौंबाट छोटो समयमा धेरै यात्रु उपत्यका बाहिरका गन्तव्यमा जानुपर्ने भएकाले सार्वजनिक यातायात पनि नचलुञ्जेल अधिकतम भाडा घटाइएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले कायम गरेको भाडादरअनुसार काठमाडौँदेखि विराटनगरको पाँच हजार ५०० कायम गरिएको छ । यो गन्तव्यका साविक अधिकतम भाडादर सात हजार ८७८ थियो । भद्रपुरको साविक नौ हजार ८०० रहेकामा अहिले ६ हजार २०० निर्धारण गरिएको छ ।

त्यस्तै, नेपालगञ्जका लागि ६ हजार ३०० कायम भएको छ, पहिला १० हजार ६२० थियो । धनगढीको १४ हजार १२४ रहेकामा अहिले सात हजार ९०० बनाइएको छ । पोखराको पाँच हजार २७२ रहेकामा नयाँ भाडादर तीन हजार ७०० कायम गरिएको छ । भैरहवाको पहिला ६ हजार ७८१ रहेकामा अहिले चार हजार ९०० कायम गरिएको छ । साविक ६ हजार ५४० भाडादर रहेको राजविराजको चार हजार २०० निर्धारण गरिएको बुद्ध एयरले जनाएको छ ।

यो भाडादर लामोदूरीको बस सञ्चालनरुपले सञ्चालन नहुँदासम्म लागू गरिने कम्पनीले उल्लेख गरेको छ । कोरोनाको सङ्क्रमणबाट बच्ने उपाय अपनाउँदै बुद्धले काठमाडौँलगायत सबै स्टेशनबाट यात्रुको तापक्रम मापन, १०० भन्दाबढी तापक्रमका यात्रुलाई सुरक्षित साथ अफलोड तथा भाडा फिर्ता गरिँदै आएको जनाएको छ ।

यस्तै, प्रतिस्पर्धी श्री एयरलाइन्सले पनि यात्रुको सहजताका लागि सहुलियत दरमा हवाइजहाज यात्राको व्यवस्था मिलाइएको जनाएको छ । लामो गन्तव्यको महङ्गो भाडामा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिएका छन् ।

उनले तीन गन्तव्य भरतपुर, जनकपुर र सिमराबाहेकका सबै गन्तव्यमा यस्तो छुटको व्यवस्था गरिएको बताए । श्रीले भद्रपुर सात हजार ४००, विराटनगर ६ हजार १००, जनकपुर तीन हजार ३००, सिमरा तीन हजार, पोखरा तीन हजार ७००, भैरहवा चार हजार ९००, नेपालगञ्ज ६ हजार २०० र धनगढीमा सात हजार ९०० कायम गरेको छ ।

यस्तै निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले पनि हालको हवाई भाडादर हेरफेर गर्ने तयारी गरिएको कम्पनीले उल्लेख गरेको छ । हवाई भाडादर घटाउनेबारे गृहकार्य गरिएको र छिट्टै नयाँ भाडादर सार्वजनिक गरिने कम्पनीले जनाएको छ । आन्तरिक उडानका सौर्य, सीता, सिम्रक, समिटलगायत कम्पनीले पनि यात्रुको सहुलियतका लागि आफ्नो भाडादरमा केही हेरफेर गर्ने तयारी गरेका राससले जानकारी दिएको छ ।

अन्तरराष्ट्रिय उडान आइतबार ९ चैत) देखि बन्द भएको र सोमबारदेखि लामो दूरीका सार्वजनिक यातायात पनि बन्द हुने भएपछि हवाई यात्रुको चाप बढेको छ । आन्तरिक उडानमा यात्रु बढे पनि व्यवसाय भने सन्तोषजनक नरहेको कम्पनीले जनाएका छन् । विदेशी हवाई यात्रु (डलरयात्री) नभएकाले आन्तरिक उडानमा झण्डै ४० प्रतिशत गिरावट आएको व्यवसायीको भनाइ छ ।