आफैँ यात्रु बनेर निगरानी गर्छन् प्रहरी

आफैँ यात्रु बनेर निगरानी गर्छन् प्रहरी


मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा(काठमाडौं)का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि उनीहरुलाई कारवाही गरिएको बताउनुभयो । उहाँका अनुसार तीनदिनमा ४६ जनालाई यसरी कारवाही गरिसकिएको छ ।

यसअघि शनिबार १७ जनालाई र शुक्रबार नौ जनालाई कारवाही गरिएको थियो । ट्राफिक प्रहरीको हटलाइन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो । उनीहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल र गौशालाबाट पक्राउ गरिएको हो ।

उनीहरुले एउटै टिकट दुई जनालाई बेच्ने गरेकोसमेत पाइएकोे छ । कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिने र यात्रु बस्ने लाममा बसी टिकट मागेर श्रव्यदृष्य रेकर्ड गरी कानूनको दायरामा ल्याउने गरेको छ ।

pict: rss