‘व्यापार–व्यवसाय’ पनि चैत २१ गतेसम्म बन्द गरिने

कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज (९ चैत) बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो ।



सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकाले सङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए । व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्री-वितरण बन्द गर्न भनिएको कार्कीको भनाई छ ।

अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत अध्यक्ष कार्कीले बताए । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रलाई ब्याजदर र घरधनीलाई घरभाडामा विशेष सहुलियत दिन मागसमेत गरेको छ । विसं २०४७ मा स्थापित सङ्घमा हाल झण्डै एक हजार व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया