टेनिस सुन्दरी सारापोभाले किन गरिन् टेनिसलाई अलबिदा ?

टेनिस सुन्दरी सारापोभाले किन गरिन् टेनिसलाई अलबिदा ?


रसियाकी पूर्व नम्बर एक महिला टेनिस खेलाडी मारिया सारापोभाले सक्रिय टेनिस खेलबाट सन्न्यास लिएकी छिन् । पाँचपटककी ग्य्रान्डस्लाम च्याम्पियन टेनिस सुन्दरी सारापोभाले चोटका कारण सक्रिय टेनिसबाट सन्न्यास लिन बाध्य भएको बताएकी छिन् ।

३२ वर्षीया सारोपोभा विगत केही वर्षदेखि काँध र खुट्टाको चोटबाट ग्रसित थिइन् । आफ्नो अन्तिम खेल हालै सम्पन्न अस्ट्रेलियन ओपन २०२० खेलेकी सारोपोभा चोटकै कारण पहिलो राउन्डमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन् ।

सन्न्यासपछि सारोपोभाले भनिन्, ‘टेनिस मेरो जीवन हो, जसलाई म कहिल्यै छोड्न सक्दिनँ । म त्यो टेनिस कोर्टलाई कसरी बिर्सन सक्छु जसको मैले बच्चादेखि अहिलेसम्म प्रशिक्षण गरिरहेकी छु । टेनिस खेल जसले मलाई धेरै खुसी र थोरै मात्र आँसु दिएको छ । आज म जुन स्थानमा छु त्यो टेनिस खेल हो । साँचो रूपमा भन्नुपर्दा टेनिस खेलबाट विश्वभरिबाट परिवारको सदस्यजस्तै माया पाएकी छु । २८ वर्षको खेलजीवनमा लाखौँ फ्यानको समर्थन र साथ पाएकी छु, यो मेरो खेलजीवनको सबैभन्दा सुखद पक्ष हो । यति हुँदाहुँदै पनि म अहिले बाध्य भएर टेनिसलाई अलबिदा गर्दै छु, मलाई माफ गर्नुहोला । मेरो यो निर्णय अप्रिय छ, तर मलाई स्वास्थ्यले साथ दिइरहेको छैन, यो सत्य हो ।’

लामो समयदेखि काँधको चोटसँग सारापोभा सङ्घर्ष गरिरहेकी छिन् । यही चोटका कारण उनको खेलमा निकै प्रभाव परेको छ । पछिल्लो समयमा उनले गरेको प्रदर्शनले पनि यो कुरालाई प्रस्ट पार्छ । चोटका कारण उत्कृष्ट प्रदर्शन गर्न नसक्नु र बढ्दो उमेरले पनि उनलाई सक्रिय व्यावसायिक टेनिस छोड्न बाध्य गरेको यतिबेला चर्चा चलेको छ ।

सारापोभाले २००४ मा १७ वर्षको उमेरमा टेनिसको ताज मानिने विम्बल्डनको उपाधि जितेकी थिइन् । यो सारापोभाको पहिलो ग्रान्डस्लाभ उपाधि थियो । टेनिस वरीयताक्रमकी विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्सलाई सनसनीपूर्ण रूपमा पराजित गरेर विम्बल्डनको उपाधि जितेपछि उनी रातारात चर्चाको शिखरमा पुगेकी थिइन् । त्यो समयमा विश्व टेनिस जगत्मा सेरेनाको जगजगी थियो । सेरेनालाई पराजित गर्नु प्रायः असम्भव नै थियो । यस्तो अवस्थामा नवआगन्तुक खेलाडी सारापोभाले सेरेनालाई पराजित गर्दै उनको एकछत्र राज समाप्त गरेकी थिइन् ।

सारोपोभाले दोस्रो ग्य्रान्डस्लाम दुई वर्षपछि सन् २००६ मा अमेरिकी ओपनको रूपमा जितेकी थिइन् । त्यसपछि सन २००८ मा अष्ट्रेलियन ओपन जितेर ग्य्रान्डस्लामको सङ्ख्या तीन पुऱ्याउन सफल भइन् । तर, उनलाई चौथो ग्य्रान्डस्लाम फ्रेञ्च ओपन जित्न चार वर्ष पर्खनुपऱ्यो । फ्रेञ्च ओपन जित्न आठ वर्षदेखि प्रयासरत रहे पनि सारापोभाले सन् २०१२ मा मात्र फ्रेञ्च ओपन जित्न सफल भएकी थिइन् ।

यसभन्दा अघिका संस्करणमा फ्रेञ्च ओपनको फाइनलमा पुग्न सफल भए पनि जित्न सकेकी थिइनन् । त्यसपछि सन् २०१४ मा पुनः फ्रेञ्च ओपनको उपाधि जितेर सारोपोभाले आफ्नो ग्य्रान्डस्लामको उपाधि पाँच पुऱ्याउन सफल भइन् । त्यस्तै, २०१६ मा सारापोभा डोपिङमा असफल हुँदा १५ महिना प्रतिबन्धमा परेकी थिइन् । यसपछि सक्रिय व्यावसायिक टेनिसबाट बाहिर भएकी सारापोभा २०१७ मा पुनः टेनिसमा फर्किएकी थिइन् ।

यसरी आफ्नो व्यावसायिक टेनिस खेलजीवनमा चर्चित चारवटै ग्य्रान्डस्लामको उपाधि जित्न सफल भएकी सारापोभाले ओलम्पिक खेलमा आफ्नो देश रसियाबाट सहभागिता जनाउँदै रजत पदक जित्न सफल भएकी थिइन् । व्यावसायिक टेनिसको १७ वर्षमा निकै उतारचढावको सामना गरेकी साराभोपाले टेनिसमा जति सुनौला दिनको आत्मसात् गरेकी छिन् त्यति नै विवादमा पनि तानिएकी थिइन् ।