मनकामना केवलकार शनिबारदेखि बन्द, चैत मसान्तदेखि सञ्चालनमा आउने

मनकामना केवलकार शनिबारदेखि बन्द, चैत मसान्तदेखि सञ्चालनमा आउने


मनकामना केवलकार सेवा शनिबार (८ चैत) देखि बन्द हुने भएको छ । मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा ल्याइएको उक्त केवलकारको सेवा कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिले एक सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।

कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुऱ्याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो ।

कायस्थका अनुसार अब केबलकारको सेवा यही चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ ।

चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने यात्रुको सङ्ख्या पनि घटेको थियो ।

यसैबीच चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी सचेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन् । गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क बिहीबार (६ चैत) देखि सञ्चालनमा ल्याएको हो । मनकामना केबलकारमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिएका छन् ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ दर्शनार्थी केवलकार चढेर जाने गर्दछन् । त्यसैलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको संयोजक सापकोटाले बताए ।