एनआरएनए साउथ कोरियाद्वारा सहजीकरणको अपिल

एनआरएनए साउथ कोरियाद्वारा सहजीकरणको अपिल


■ सविना कार्की, दक्षिण कोरिया

दक्षिण कोरियामा रोजगारी र अन्य सिलसिलामा रहेका र भिषा अवधि समाप्त भई नेपाल फिर्ता हुनुपर्ने ठुलो संख्यामा रहेका नेपाली नागरिकको वर्तमान अवस्थामा स्वदेशफिर्ति सम्भव नभएको भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले यस अवस्थामा नेपाली राजदुतवास सौलले कारण खुलाई अधिकारिक पत्राचार गरे कोरियन अध्यागमन विभागले भिषा अवधि थप गरिदिने धारणा सार्वजनिक गरेको छ ।

यसका लागि आवश्यक सहजीकरण गरिदिन एनआरएन राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाद्वारा कोरियास्थित दुतावासलाई अनुरोध गरिएको छ । सरकारले कोरोना भाइरसबाट बच्नको लागि पछिल्लो समय गरेको निर्णयका बाबजुद कोरियामा रहेका नेपालीमा आइपर्ने समस्या औंल्याउँदै एनआरएनएले दुतावासलाई पत्राचार गरेको हो ।

बिहीबार (मार्च १९)का दिन पत्रचार गर्दै एनआरएनए कोरियाले हाल नेपाल विदामा गएका नेपाली नागरिकहरूको विदा अवधि थप गर्न र भिषा अवधि सकिन लागेका नेपाली नागरिकले नेपालस्थित कोरियन राजदुतावासबाट आफ्नो भिषा अवधि थप गर्न सक्ने व्यवस्थाका लागि कूटनीतिक प्रयास गरिदिन पनि दुतावासलाई अपिल गरेको छ ।

संकटको वर्तमान परिस्थितिमा नेपाली राजदुतवास सौलबाट कोरोना भाइरस विशेष छुट्टै सहयोग कक्ष हेल्थ डेक्स पनि सञ्चालन गर्न माग राखेको छ । साथै सो सहयोग कक्ष सञ्चालनका लागि नेपाली राजदुतावासको जनशक्ति अभाव रहेमा वा आवश्यकता परेमा एनआरएनए कोरियाले आफ्ना स्वयम्सेवक र पदाधिकारी परिचालन गरी आवश्यक सहयोग गर्न पनि तयार रहेको पत्रमा उल्लेख गरिएको छ ।