दुर्भाग्य ?!

दुर्भाग्य ?!


■ बलराम सिलवाल

अचेल पितामाताको आज्ञाकारी दर्सन्तान दुर्लभ भएको सन्दर्भमा त्यो शक्तिशाली मनुवा को होला जसले अर्बौं मान्ठाहरूलाई घोप्टो पारेको छ । पुरापरा संस्कार, संस्कृति ध्वस्त, परिवार विखण्डित । वैज्ञानिक दाबा गर्छ– मोबाइल फोन प्रयोगकर्ता २० वर्षमा बहुलाउँछ, इलेक्ट्रोम्याग्नेटिक तरङ्गले । धूम्रपानले क्यान्सर गराउँछ भन्ने जान्दाजान्दै धूम्रपान गर्न कसले छोडेको छ र ?

क्रान्तिको नाममा भ्रान्ति छर्छ, मान्छे मार्छ, रत्तिभर पश्चात्ताप छैन । जीवन दिन नसक्नेले अर्काको जीवन लिन सक्दैन । इतिहास शक्तिशालीको बन्छ । भ्रष्टाचारी जनप्रतिनिधि, विश्वास कसैको रहेन । सिको बोलवाला । चाकडीबाज सफल, स्वाभिमानी विफल यो कस्तो पारा ? जँड्याहाले जँड्याहा बनाउँछ । तासको महल पशुपतिनाथले धानेका । सीमा अतिक्रमण, प्रतिकार शून्य र सार्वजनिक शिक्षा पत्रु बनाउँछ सरकार ।

बहुमतको अहंकार । भकभके प्रतिपक्षी सर्वत्र अन्धकार । सत्यमा ग्रहण कतिञ्जेल पो हो ? कुरा चपाउने बाठो, स्पष्ट वक्ता लाटो । पठित गँवारलाई ठूलो मान्छे ठान्छ, आफू चैँ गुहेकिरोझैँ लोब्रो हुन्छ । पीत पत्रकारिताको बिगबिगी । आफू सिन्को भाँच्दैन साहित्यकारलाई साइको भन्छ । परम्परागत चिन्तन शैली, नेपालीको अवनति ।

ठूलाबडाले जे भन्यो त्यो शास्त्रसम्मत नहुन सक्छ । कर्पोरेट साहित्यको रजाइँ । इमानदार मान्छे, सोझो रूख । दण्डहीनता । देवकोटा, पारिजात, शंकर लामिछानेको यथोचित मूल्याङ्कन भएन । कुरूप भए पनि आफ्नी आमा आफ्नै हो । सुन्दरी भए पनि पराईको आमा पराई नै हो । बुद्धिहाराको नाम बुद्वि, कर्महाराको नाम कर्म, सर्वहाराको नाम धन, कस्ता बिपियुँहरू । भेडा भेडासित, बाख्रा बाख्रासित । सधवाको समूहमा विधवा एक्लिन्छे, मूर्खहरूको जमातमा विद्वान् एक्लिन्छ, पिँगलाको हुलमा पतिव्रता एक्लिन्छे ।

जीवन सिलसिलेवार छैन । नियतिले जता हुत्याउँछ, त्यतै हुत्तिन्छ । आजको ठेकेदार/जिम्दार भोलिको पल्दार/सुकम्वासी हुन्छ । कसैलाई सधैँ सन्तुष्ट पार्न सक्ने होओइन । फोस्रो प्रेमको जगजगी । समाजको अधोगति । नश्लवादले मुलुकलाई खङारे । अपसंस्कृति भित्रियो । आशा/आस्थाको त्यान्द्रो छिन्यो । अंशियारभन्दा वंशियार प्यारो । मान्छे पशु बन्यो । साइमन बुआको मान्यता पल्ट्यो । खोया बिर्कोले मान्छे बिगाऱ्यो । बिर्कट्टाले समाज बिथोल्यो । छोटालाई नो प्रणाम, दर्शनले लोप्पा खायो ।

अर्काकी स्वास्नीलाई राम्री देख्ने होइन आफ्नी स्वास्नीलाई राम्री देख्नुपर्छ । आसामी दर्बिलो, साहूको लगानी । आसामी दुब्लो, साहू राहु । ढर्रावालको फुर्ति देखिनसक्नुको छ । आदर्शको सामल बुक्याउँछ, भाका फेर्न छोड्दैन । काइते छोरो मान्छे र ओथारे छोरी मान्छेको काम छैन । राम्रो कुरो सिक्नुपरो, नराम्रो कुरो मिल्काउनुपरो । पञ्चशील त्याग्नुभएन, छिमेकीसित समदूरी सम्बन्ध राख्नुपरो । आफ्नो दोष आफैँ बोक्ने, अर्कोलाई नबोकाउने । अन्तर्मुखी कम बोल्छ । सुकरातको नो दाइसेन्फको दर्शन जब्बर । मित्रु कमाउन गाह्रो, शत्रु कमाउन सहज । उनान्सय फिसदी मनुवाहरू सद्दे छैनन् । खस्रो मान्छे, नो लप्पनछप्पन ।

विरोधको निमित्त विरोध मूलकर्तव्य । पङ्गु शिक्षा । गुरुनिन्दक पागल जन्तु । खचिदो छ नेपाली बर्कत, विदेशमा विप्रेषणको लोभमा । पाँच सय फिसदी अग्रसोच, हजार फिसदी पश्चसोच, नेपाली अवनतिको कारक तत्व । दुर्जनसितको भन्दा सत्जनसितको दोस्ताना फलाधिक । बजारढुकुवा निकृष्ट जन्तु । कुलङ्गार धुन्धुकारीको परदेशी नागरिकता । परधर्म, परसंस्कृति भयावह । स्वाङपारा पागल वास्तविकभन्दा फरक हुन्छ । कामठग कर्मचारी, सिद्धान्तबेचुवा, भ्रष्टाचारी, जँड्याहा, अनुशासनहीन विद्यार्थी र लुच्चा शिक्षक मनस्तापी ।

ढर्रावालको घर निकाला । ग्यास्टिकको बिरामीलाई सितिकसो खाना । अशिक्षितले शिक्षितलाई पढाउँछ । तोर्मेले मुलुक घिच्यो । तोरीलाहुरे नेता बन्यो । लखनेहरू तोर्मेको गुणगान गाउँछन् । तथाकथित शिक्षित लक्ष्यहीन । आफ्नो मूल्य–मान्यतामा अडिग हुने । बज्रठिङ्गा नकाम । दलको राष्ट्रियताको व्यापार । असफल सिसिफस । स्वतन्त्रता छाडातन्त्र ।

पृथ्वीका भारहरू च्यापसलाँ फतुरे गफ लडाएर जुनी बिताउँछ । बग्रेल्ती नराधमहरू । कालो व्यापार । धर्म बिर्सने मलामी/जन्ती । पीडितको रकम भागशान्ति जयनेपाल । असल संस्कार सिक्नुपरो, नकारात्मक सोच हटाउनुपरो । आफ्नो काम गर्ने, अर्काको कुरो नकाट्ने । वृक्षरोपण गर्ने, अर्कोलाई नसताउने । चाकडी नगर्नुपरो, विसंङ्गति हटाउनुपरो । अर्कोलाई सम्मान गर्नुपरो, भेदभाव नहुनुपरो । वृद्धाश्रम घटाउनुपरो । आजलाई यतिकैमा मैजारो । अस्तु ।