एकताको वातावरण बनाउन माधव तयार भएपछि विलम्ब गर्दै केपी !

एकताको वातावरण बनाउन माधव तयार भएपछि विलम्ब गर्दै केपी !


दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्कनुभएपछि सत्ता राजनीतिको उच्च तहमा नयाँ तरङ्ग पैदा भएको छ । मिर्गौला प्रत्यारोपण सफल नहुने विश्वासमा रहेका केही सत्तापक्षीय नेताहरू यतिबेला दुःखी र निराश बनेको पाइएको छ भने केपी ओलीका समर्थकहरू निकै उत्साहित भएका छन् । परिस्थिति क्रमशः केपीको अनुकूल बन्दै गएको भए पनि केपी पक्षको अति उत्साहले नै नयाँ समस्या पैदा गर्ने सम्भावना भने बढाएको छ ।

सरकारमाथिको समस्या वरिष्ठ नेता माधवकुमार नेपाललाई विश्वासमा लिन नसकेपछि शुरु भएको थियो । माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मात्र विश्वासमा लिन सकेको भए सरकार आफ्नै अस्तित्व रक्षाका निम्ति चिन्तित हुनुपर्ने अवस्था होइन । प्रधानमन्त्री केपी ओली शर्मा ओलीले माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरूलाई भन्दा अतुलनीय ढङ्गले प्रचण्डलाई महत्व दिनुभयो । प्रचण्डको साथ भएपछि सुरक्षित होइन्छ भन्ने विश्वासमा रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षको हैसियत दिएपछि सम्भवतः सरकार पूर्ण रूपले सुरक्षित हुने ठान्नुभएको थियो । तर, प्रचण्डले ‘कार्यकारी अध्यक्ष’ बनेपछि केपी र सरकारविरुद्धका गतिविधिलाई सङ्गठित तथा तीव्र तुल्याउनुभयो ।

दुई अध्यक्षको सहमतिबाट मात्र हरेक निर्णय हुने भन्ने पूर्वसम्झौताविपरीत प्रचण्डले प्रधानमन्त्री केपीविरुद्ध बहुमत जुटाएर आफूले चाहेको व्यक्तिलाई सभामुख बनाएपछि केपी नराम्रोसँग झस्किनुभएको हो । सभामुख चयन प्रकरणबाट सचेत हुनुभएका ओली आफ्नो उपचारभन्दा अघि ठोस कदम चाल्ने मानसिकतामा हुनुहुन्नथ्यो । मिर्गौला प्रत्यारोपणपछि आन्तरिक राजनीतिमा ओलीको सक्रियता ह्वात्तै बढेको छ । उहाँले एमालेपक्षीय नेता तथा कार्यकर्तालाई एकजुट बनाउने र अन्य नेता तथा कार्यकर्तालाई समेत उक्त एकतामा सामेल गर्ने योजनाबद्ध प्रयासमा धेरै हदसम्म सफलता पनि पाइसक्नुभएको छ ।

यसैबीच माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र विष्णु पौडेललगायतका नेताहरू ताहाचलस्थित खनालको निवासस्थानमा बसेर पनि आन्तरिक राजनीतिक विषयमा छलफल गर्नुभएको थियो । उहाँहरूले पार्टीभित्रको एमाले कित्ता एक भएर अघि बढ्न आवश्यक भएको निष्कर्ष निकाल्दै केपी ओलीले विश्वसनीय व्यवहार गरेको अवस्थामा प्रचण्डलाई धेरै महत्व दिइरहन आवश्यक नभएको निचोड निकाल्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । तर, केपी ओलीमाथि विश्वस्त हुने वातावरण नबनेकोमा भने नेताहरूले उक्त बैठकमा चिन्ता प्रकट गरेका थिए ।

केपी ओलीले विश्वसनीय व्यवहार गरेको अवस्थामा प्रचण्डलाई धेरै महत्व दिइरहन आवश्यक नभएको निचोड निकाल्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । तर, केपी ओलीमाथि विश्वस्त हुने वातावरण नबनेकोमा भने नेताहरूले उक्त बैठकमा चिन्ता प्रकट गरेका थिए ।

प्रचण्डद्वारा केपी ओली र सरकारलाई सङ्कटमा पार्न जतिसुकै प्रयास गरिए पनि माधवकुमार नेपालको साथबिना प्रचण्ड आफ्नो योजनामा सफल हुन सम्भव नभएको यथार्थ अवगत हुँदाहुँदै पनि केपी ओलीले माधवलाई विश्वास दिलाउन किन नसक्नुभएको हो, आश्चर्यको विषय बनेको छ । केपी र माधवबीच बितेका एक महिनाभित्र दर्जनभन्दा बढीपटक संवाद भएका छन् । यस्ता संवादबाट माधव आफूप्रति सकारात्मक बन्दै गएको ठहर पनि केपीले गर्नुभएको छ । तर, हालसम्म कार्य परिणाम नदेखिएकोले केपी र माधवबीचको कुराकानी अहिलेसम्म कुरैमा मात्र सीमित हुन पुगेको छ । प्रचण्डबाट गम्भीर धोखाधडी भएकोले अब फेरि उहाँसँग मिलेर अघि बढ्ने मानसिकतामा केपी नरहनुभएको बताइन्छ । यदि प्रचण्डसँग समझदारी र सहकार्य गर्न सकिने अवस्था साँच्चै नरहेको निष्कर्षमा केपी पुग्नुभएको हो भने माधव नेपालसँगको सहकार्य कार्यान्वयनमा आउनु पर्ने थियो भन्ने बुझाइ नेपालसमर्थकको छ । पार्टीमा माधव नेपालको भूमिका बढाउन र माधवको सहमतिमा मन्त्रिमण्डल पुनर्गठन गर्न ढिलाइ भएमा परिस्थिति फेरि पनि उल्टिने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

केही समयअघिसम्म केपी ओलीसँग समझदारी बनाउन सकिने कल्पनासम्म नगर्ने माधव नेपाल यतिबेला केपीसँग समझदारी बनाएर अघि बढ्ने पक्षमा हुनुहुन्छ । यो समयलाई सदुपयोग गर्न केपी चुक्नुभयो या उहाँले विलम्ब गर्नुभयो भने स्थिति बदलिएर अर्कै ठाउँमा पुग्ने देखिन्छ । वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने–नलैजाने विषय तथा युवराज खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारीमा निरन्तरता नदिने या दिनेजस्ता विषयमा माधव नेपालसँग छलफल शुरु गर्ने हो भने त्यसले परस्पर विश्वास बढाउने र तनाव घटाउने विश्वास गर्न सकिन्छ ।

त्यस्तै अब आइन्दा माधवविरुद्ध कतैबाट षड्यन्त्र हुनेछैन भन्ने विश्वास पनि माधव नेपाललाई दिलाउन आवश्यक ठानिएको छ । कदाचित माधव नेपालसँग समझदारी बढाउन भएका प्रयासहरू कार्यान्वयनमा आउन सकेन भने अर्को एकाध महिनामै परिस्थिति उल्टिन सक्ने देखिएको छ । हाल उत्पन्न स्थिति यथावत् रह्यो र केपी–माधवबीचको एकताले रङ देखाउन थाल्यो भने प्रचण्डका सारा सपना र योजना चकनाचुर हुने निश्चित छ । तर, प्रचण्ड माधव नेपाललाई केपीतिर जान नदिन र परिस्थिति आफ्नो अनुकुल बनाउन निरन्तर क्रियाशील हुनुहुन्छ । स्थितिलाई मोड्न प्रचण्डले केपी ओलीलाई राजतन्त्र पुनर्स्थापित हुने ‘खतरा’ देखाउन थाल्नुभएको छ । मंगलबार (चैत ४ गते) केपी ओलीसँगको भेटमा प्रचण्डले राजतन्त्र पुनर्बहालीको खतरा देखाएर ओलीलाई आफ्नो विरुद्ध सक्रिय नहुन मनोवैज्ञानिक ‘थेरापी’ दिनुभएको थियो ।